गुरुकुलमा प्राविधिक शिक्षाका लागि महायज्ञ

समाधान संवाददाता २०७६ फागुन १८ गते १२:२४

समाधान संवाददाता
पोखरा

प्राविधिक शिक्षासहितको गुरुकुल सञ्चालन एवं भवन निर्माणका लागि स्याङ्जाको लामागेमा महायज्ञ हुने भएको छ । स्याङ्जाको पुतलीबजार लामागेस्थित पाणिनी आश्रमको आयोजना तथा आश्रमका संरक्षकद्वय श्री १००८ स्वामी ईश्वरानन्द र श्री १००८ स्वामी हंसानन्दको शुभसंकल्प अनुसार आँधीखोला किनारमा फागुन २२ देखि चैत १ गतेसम्म महायज्ञ हुन लागेको हो ।

पुतलीबजारको लामागेमा डा. स्वामी रामानन्द गिरीले २०७० देखि आश्रम सञ्चालनमा ल्याएका हुन् । गुरुकुल शिक्षाको स्थायित्वका लागि अक्षयकोष स्थापना, संस्कृत भाषा र प्राचीन संस्कृतिको संरक्षणका लागि श्रीमद्भागवत महायज्ञ एवं धार्मिक महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

Advertisement

सतौंचण्डी, अन्धाअन्धी धाम र गण्डकी क्षेत्रको धार्मिक एवं सांस्कृति महत्वको प्रचार, प्राचीन शैलीको भव्य शिव मन्दिर निर्माण र जन्मभूमि दर्शन एवं विकास अभियानका लागि धार्मिक महोत्सव गरिएको हो ।

महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा एवं पाठ पारायण, लक्ष्यदीप प्रज्ज्वलन, भूमिदान, तुलादान, मुष्टिदान र धान्याचल, लघुरुद्री, गायत्री मन्त्र अनुष्ठान, महालक्ष्मी उपासना र पितृ उद्धार अनुष्ठान समावेश गरिएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक छन् ।

Advertisement

ऐतिहासिक श्रवणनदी (आँधीखोला) मा स्नान, राष्ट्र शान्ति एवं आर्थिक उन्नतिका लागि महालक्ष्मीको उपासना र रुद्राभिषेकको अवसर महोत्सवमा मिल्ने संकल्पकर्ता स्वामी ईश्वरानन्दले बताए । यसैगरी बाजागाजा, झाँकी र पूर्णकलशसहित शोभायात्रा, विभिन्न जातजातिका धार्मिक, सांस्कृतिक महत्व बोकेका नृत्य, झाँकी प्रदर्शनी गुरुकुलीय शिक्षा र प्रतिभाको अवलोकन गर्न पाइने आयोजकको दाबी छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि पाहुनालाई भोजनसहित होमस्टेमा राखिने महायज्ञ आयोजक मुल समिति अध्यक्ष शेषराज ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया