अब किसानलाई ब्याजमा अनुदान

समाधान संवाददाता २०७६ फागुन १९ गते १४:०४

मोहसिन अली मियाँ
गोरखा

किसानले वित्तीय क्षेत्रबाट लिने ऋणको ब्याजमा अनुदान दिने तयारी सरकारले गरेको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापा मगरले बताएका छन् । कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै मन्त्री थापाले कृषि क्षेत्रमा लगानी बढाउन र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशले ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिने तयारी गरेको बताएका हुन् । ‘कृषि क्षेत्रमा लगानी बढाउनुस्, व्यावसायिक रुपले उत्पादन थाल्नुस् । अब सरकारले ब्याजमा अनुदान दिन्छ’, उनले भने ।

अनुदान लिनका लागि सरकारले गत शुक्रबार सूचना आह्वान गरेको र १ महिनाभित्र कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा निवेदन दिइसक्नुपर्नेसमेत उनले जानकारी दिए । कृषि क्षेत्रमा क्रियाशील फर्म, कम्पनी, समूह, सहकारीले यसका लागि निवेदन दिन सक्ने छन् । यो

Advertisement

थापाले किसानलाई अनुदान एकद्वार प्रणालीमार्फत दिनुपर्ने तर्क गरेका छन् । अघिल्लो वर्ष संघ, प्रदेश र स्थानीय तहबाट वितरण भएको अनुदान दोहोरिएको बताउँदै अब ‘डुब्लिकेसन’ गर्न नहुनेमा जोड दिए । ‘अब अनुदान, सहयोगमा डुब्लिकेसन हुने वातावरण बनाउनु हुँदैन’, उनले भने, ‘अघिल्लो वर्ष कोही किसानले पाएनन, कोहीले डबल पनि पाए । अब संघ, प्रदेश र स्थानीय तहबाट वितरण हुने सहयोग फरक फरक फर्मलाई हुनुपर्‍यो ।’

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अनुदानलाई संस्थागत गर्नुपर्ने विचार राखे । राजनीतिक दलमा आस्था राखेकै भरमा अनुदान पाउने र नपाउने बिषय निर्धारण हुन नहुने उनको भनाइ छ । पन्तले तीनै तहका सरकारको सहकार्य र समन्वय अपरिहार्य रहेकोमा जोड दिए ।

Advertisement

कृषि ज्ञान केन्द्र गोरखाले नयाँ भवन पाएको छ । करिब ४ करोड लगानीमा निर्माण भएको भवनको गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री थापाले उद्घाटन गरेका हुन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको भवनमा २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि यो भवन पुनर्निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको सहयोगमा रविना डाँफे ड्रागन जेभीले ३ करोड ७७ लाख ६ हजार १ सय १६ रुपैयाँमा भवन निर्माण गरेको हो । ३ तले यो भवनमा १८ कोठा छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति गोरखा उपप्रमुख जानुका अधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन प्रमुख सुनिता श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा उपाध्यक्ष दीपक श्रेष्ठ, एसजी हिमालयन हर्बल तथा अर्गानिक फार्म बारपाकका सञ्चालक सीताबहादुर गुरुङ लगायतले बोलेका थिए । शनिबारबाटै केन्द्रले सिताके च्याउ खेतीसम्बन्धी ४ दिने तालिम आयोजना गरेको छ ।

कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री लेखबहादुर थापा ।

तपाईको प्रतिक्रिया