कास्की कारागार महिला शाखामा पुस्तकालय स्थापित

समाधान संवाददाता २०७६ फागुन २७ गते १३:१९

समाधान संवाददाता
पोखरा

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा पोखराका ४ वटा इनरह्वील क्लब मिलेर पार्दीस्थित कास्की कारागार महिला शाखामा पुस्तकालय स्थापना गरेका छन् ।

कार्यक्रमका अध्यक्ष सावित्री मोक्तानले शिक्षामात्रै कसैले खोस्न र नास्न नसक्ने बताइन् । उनले कारागारमै रहेर पनि महिला दिदीबहिनीले केही समय पुस्तक पढ्ने बानी विकास गरेर बाहिर समाजमा केही गर्ने अठोट गर्न हौसला प्रदान गर्ने उद्देश्यले यस पुस्तकालयको स्थापना गरिएको सुनाइन् ।

Advertisement

कारागार प्रमुख गणेश गौतमले समाजमा कारागारमा रहेका व्यक्तिलाई दृष्टि फरक रहेको र आफ्नो केही प्रयासले यहाँका महिला दिदीबहिनीले केही सिकून् भन्ने अभिप्रायले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । पुस्तकालयबाट पक्कै पनि केही न केही ज्ञान आर्जन गर्न सकिने भन्दै सहभागीका तर्फबाट कारागारभित्रकै १ महिलाले यहाँ सबै मानिस गल्ती गरेर मात्र नआउने, कोही एकछिनको आवेग, रिस, कोही साथी संगत त कोही परिबन्दको कारणले पनि आउने धारणा राख्दा सम्पूर्णको आँखा रसाएका थिए ।

इनरह्वील क्लब न्यूरोडका अध्यक्ष विमला पियाले ४ वटै क्लबको पहलमा समाधान मिडिया प्रालिले समाधान पत्रिका सौजन्य स्वरूप १ वर्षका लागि कारागार महिला शाखामा उपलब्ध गराउने जानकारी दिइन् ।

Advertisement

कार्यक्रम इनरह्वील क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष सावित्री थापा मोक्तानको अध्यक्षतामा भएको थियो । इनरह्वील क्लब अन्नपूर्णका अध्यक्ष युनिस्मा तुलाचनले सञ्चालन गरेकी थिइन् । इनरह्वील क्लब पोखराका अध्यक्ष रेखा मर्सानीले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया