जोमसोममा पाँचौ पटक हिमपात

समाधान संवाददाता २०७६ चैत २ गते १२:४८

एसके थकाली
जोमसोम

हिमपातपछि जमीन ओभाउन नपाउँदै चैतलाई स्वागत गर्दै शुक्रबार यो वर्ष मुस्ताङमा पाँचौ पटक हिउँ परेको छ । गर्मीयाम सुरु हुँदा हिमपातपछि मुस्ताङमा ह्वात्तै चिसोे बढेको छ ।

यो मुस्ताङमा पर्यटक गुल्जार हुने मौसम हो । मुस्ताङको तल्लो क्षेत्रमा फागुनको अन्तिम साता परेको हिमपातले डाँडाकाँडा र खर्क सेताम्मे छन् । मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते, घाँसा लगायतका गाउँबस्ती, खर्क र डाँडाकाँडामा बाक्लो हिउँ परेको हो । जोमसोम बजारक्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातसँगै मुस्ताङ आएका पर्यटक, स्थानीय र कर्मचारीले हिउँ खेल्ने सौभाग्य पाए । मुस्ताङमा फागुन अन्तिम साता हिमपात भएको पहिलो रेकर्ड हो ।

Advertisement

अघिल्लो पटक हिउँ पर्दा जामसोम विमानस्थलको कालोपत्रे धावनमार्ग हिउँले ढाकिएको जोमसोम विमानस्थल प्रमुख दीपक विकले सुनाए । हिमपातले मुस्ताङमा सञ्चार तथा विद्युत सेवा अनियमित बनेको छ ।

कात्तिक, पुस र माघ महिनाको दोस्रो सातासम्म उपल्लो मुस्ताङमा भारी हिमपात भयो । उपल्लो मुस्ताङमा हिमपात हुँदा जिल्लाको तल्लो क्षेत्रका २ पालिकामा भने आंशिक हिमपात भएको थियो । त्यसपछिको हिमपातले उपल्लो मुस्ताङलाई छोएन तर, जिल्लाको वारागुङ मुक्तिक्षेत्र कागबेनीदेखि घरपझोङ र थासाङ गाउँपालिकामा भारी हिमपात भएको जोमसोमका स्थानीय अजित थकालीले बताए ।

Advertisement

हिउँः संक्रमण रोक्ने औषधी
मुस्ताङ पर्यटनका साथै कृषिमा समेत अब्बल मानिन्छ । यहाँ स्याउ, खुर्पानी, उवा, फापर, जौ, बोडी, मकै, आलु लगायत बालीलाई हिउँले उत्पादनमा सहयोग पुर्‍याउँछ । जिल्ला स्याउ जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत माधव लम्सालले हिउँले कृषि उत्पादनमा फाइदा पुर्‍याउने बताए । हिउँले बालीलाई चाहिने कार्बनको मात्रा पूर्ति गर्ने र बालीमा लाग्ने विभिन्न रोगको संक्रमण हटाउने उनको भनाइ थियो । जिल्लामा स्याउ बगैंचा व्यवस्थापन कार्य, स्याउका अनावश्यक हाँगा काँटछाँट, औषधी लगाउने र नयाँ बिरुवा लगाउने कार्य भइरहेको बेला हिउँले फाइदा पुर्‍याएको हो ।

तपाईको प्रतिक्रिया