आँबुखैरेनीमा कोभिड –१९ सहायता कक्ष

समाधान संवाददाता २०७६ चैत ३ गते १२:४७

समाधान संवाददाता, दमौली

Advertisement

गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण रोकथाम र नियन्त्रणमा उच्च सतर्कताका लागि गाउँपालिकाले वडा नं ४ स्थित पुलजीपमा आइतबारदेखि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

सहायता कक्षबाट कोरोना भारसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । सहायता कक्षमा २ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

कोरोना भाइरसले विश्वभर धेरै व्यक्तिको ज्यान गइसकेकोले यसबाट बच्न सतर्कता अपनाउनु नै उत्तम विकल्प भएको अध्यक्ष थापाले बताए । ‘पृथ्वीराजमार्ग हुँदै दैनिक सयौंको संख्यामा सर्वसाधारण गण्डकी प्रदेश प्रवेश गर्ने गर्दछन्,’ उनले भने, ‘सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सहायता कक्षबाट सचेतना प्रदान गरिनेछ ।’ उक्त सहायता कक्षको आइतबार गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुषाल लगायतले अवलोकन गरेका थिए ।

कोरोना भाइरसबाट बच्न जिल्लाका विभिन्न स्थानीय तहहरुले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोना भाइरस श्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् ।

Advertisement

नियमित रुपमा साबुनपानीले हात धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख ढाक्न, ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया