लेखनाथमा बजार अनुगमनः प्रशान्त मेडिको फर्मा सिलबन्दी

समाधान संवाददाता २०७६ चैत ७ गते १२:४९

रामशरण नेपाली
लेखनाथ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला बजारमा कृत्रिम अभाव र हुनसक्ने कालोबजारीलाई मध्यनजर गर्दै लेखनाथमा बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लेखनाथको अग्रसरतामा वडा नं. ३० को कार्यालय, लेखनाथ उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय, उपभोक्ता मञ्च, पत्रकार एवं प्रहरीसहितको टोलीले पोखरा महानगरपालिकाको वडा नं. ३० शिशुवा बजारमा अनुगमन गरेको हो ।

बजारमा रहेका ग्यास बिक्रेताहरु, खाद्य सामग्री सप्लायर्सहरु र स्वास्थ्य संस्थामा अनुगमन गर्ने क्रममा कालोबजारी एवं कृत्रिम अभाव गराइएको पाइएको थिएन भने स्वास्थ्य संस्थामा मास्कको अभाव रहेको भेटीएको थियो । अनुगमनको क्रममा म्याद गुज्रीएका औषधीहरु राखेको एवं योग्यता नपुगेका कर्मचारी राखेको भेटिएपछि वडाको नौविसेस्थित प्रशान्त मेडिको फर्मामा सिलबन्दी गरिएको छ । फर्माका सञ्चालकलाई ३ दिनभित्र आफ्नो कागजपत्रसहित प्रशासनमा हाजिर हुनसमेत निर्देशन दिइएको छ ।

Advertisement

अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, वडा नं. ३० का वडासदस्यहरु सोमलाल कँडेल, शारदा बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका रामजी पौडेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय पोखराका अर्जुन भण्डारी र सूर्य गिरी, उपभोक्ता मञ्चका सदस्य सन्दिप पौडेल, सिआरभी शिशुवाका प्रहरी लगायतको सहभागीता थियो । अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बरालले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया