गण्डकीका नाका भोलिदेखि १ हप्ता बन्द, सार्वजनिक सवारी नचल्ने

समाधान संवाददाता २०७६ चैत १० गते १९:४१

अनुप पौडेल ।

गण्डकी प्रदेश भित्रने सबै नाका मंगलबारदेखि बन्द गरिने भएको छ । कोरोना भाइरस रोकथाम उच्च स्तरीय निर्देशक समितिको सोमबार बसेको प्रथम बैठकले प्रदेश भित्रिने ४ वटै नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेकोप्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘अरु प्रदेशबाट आउने अत्यावश्कीय मालबाहक बाहेक सवारी र सर्वसाधारणलाई मंगलबारबाट १ हप्ताका लागि हाम्रो प्रदेशमा आउन नदिने गरी बैठकले निर्णय गरेको छ,’ उनले भने ।

नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी, स्याङ्जाको रामदी र बागलुङको बुर्तिबाङ गण्डकी प्रदेश भित्रिने नाका हुन् । नवलपुरको त्रिवेणी नाका भारतसँग जोडिएको छ । नाका बन्द भएपनि अत्यावश्यक सेवा नियमित हुने डा. शर्माले बताए । ४ वटै नाकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित चिकित्सकको टोली खटिने भएको छ ।

Advertisement

प्रदेशका सबै अस्पतालमा ओपिडी तत्कालका लागि बन्द गर्ने र इमर्जेन्सी सेवा चलाउने निर्णय भएको उनले बताए । निर्देशनालयले सञ्चालन गरेको हेलो डाक्टर सेवालाई प्रभावकारी बनाइने भएको छ । हाल बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म डाक्टरले स्वास्थ्यसम्बन्धी सुझाव दिँदै आएका छन् ।

क्वारेन्टाइनका लागि कृषि तालिम केन्द्र मालेपाटनलाई पहिलो चरणमा उपयोग गर्ने निर्णय सोमबारको बैठकले निर्णय गरेको छ । निर्देशक समितिले ५० शड्ढयाभन्दा माथिका अस्पतालमा न्यूनतम ५ बेड आइसोलेसन वार्ड तत्काल स्थापना गर्न भनेको छ ।

Advertisement

उक्त अस्पतालमा अनिवार्य ज्वरो क्लिनिक स्थापना गर्नुपर्ने गरी निर्णय भएको समितिले जनाएको छ । पोखरा ३० मोहरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ आइसोलेसन अस्पतालका रुपमा प्रयोग गरिने भएको छ । त्यहाँ तत्काल ६० शड्ढयासम्म विस्तार गरी सञ्चालन प्रबन्ध मिलाउने भएको छ । अस्पतालबाट उपचार गरिएका बिरामीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समितिले गरेको छ ।

‘५० शड्ढयाभन्दा माथिकासबै अस्पताललाई ज्वरो क्लिनिक स्थापना गर्न भनेका छौं । कसैको ज्वरो १ सय फरेनहाइटभन्दा माथि देखिए उहाँको स्वास्थ्य परीक्षण गरिन्छ,’ निर्देशक शर्माले भने, ‘पोजेटिभ देखिए लेखनाथको ‘डेडिकेटेड’ आइसोलेसन अस्पताल लैजान्छौं । नेगेटिभ देखिए त्यही अनुसारको व्यवस्था हुन्छ ।’

वैकल्पिक व्यवस्थाका लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौरलाई तोक्ने र आर्मी अस्पताललाई आइसोलेटेड अस्पतालका रुपमा प्रयोग गर्न संघीय सरकारलाई अनुरोध गर्ने समितिले जनाएको छ । अहिलेसम्म मणिपाल शिक्षण अस्पतालले १५ बेड, गण्डकी मेडिकल कलेजले १५ बेड, चरक मेमोरियल अस्पतालले ३० बेड, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १० बेड र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रले ३० बेडको आइसोलेसन बनाएका छन् ।

अस्पतालले आइसोलेसन बेड छुट्याउने बताइरहँदा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव भएको गुनासो गरेका छन् । ‘हामीले अस्पतालभन्दा ३ सय मिटर पर आइसोलेसन कक्ष बनाएका छौं । सबै व्यवस्थित छ तर पिपिई नहुँदा समस्या परेको छ,’ मणिपाल अस्पतालका निर्देशक डा. सूर्या चौधरीले भने ।

स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री ५ सय, इन्फ्रारेड थर्मोमिटर ५ सय, मास्क २० हजार थान, सेनिटाइजर र डिसिन्फेक्टेन्ट सय लिटर उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गर्ने शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यस्ता सामग्रीको प्रबन्धमा सहयोगी संस्थाले पनि हात मिलाउन सक्ने बताइएको छ ।

कोरोना भाइरसबाट भविष्यमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ राख्ने योजना मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जनाएका छन् । यसको निर्णय मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ । सोमबारको बैठकले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा नियमन समिति बनाएर दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देश्न दिने निर्णय गरेको छ ।

कास्कीमा भोलिदेखि सार्वजनिक सवारी नचल्ने

कास्कीमा मंगलबारदेखि सावर्जनिक सवारी नचल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की र पोखरा यातायात प्रालिले सोमबार विज्ञप्ति जारी गरेर अर्को सूचना जारी नहुँदासम्म सार्वजनिक यातायातका साधन बन्द हुने जनाएको छ ।

सार्वजनिक सवारीबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर यातायात बन्द गर्ने निर्णय भएको पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया