नेपाल र बेलायत लकडाउनको तुलना

समाधान संवाददाता २०७६ चैत २० गते १३:४१

रामराज शर्मा, बेलायत

सडकहरु सुनसान छन, फाटफुट मात्र मान्छेहरु मर्निङ / इभिनिङ  वाक वा दौडको लागी देखिन्छन्, साइक्लिङ्ग भने अलि बढेको छ, सधैं ब्यस्त रहने सडकहरुमा अक्कल झुक्कल मात्र कारहरु देखिन्छन । पार्कहरु बन्द गरिएको छ ,पबहरु र सबै पसलहरु ( खाध्यान्न र औषधीका पसलहरु बाहेक)   बन्द छन् । बिहानैदेखि फार्मेसी र ग्रोसरी पसलहरुमा मनिसको लामो लाइन सुरु हुन्छ। लाइनमा बस्दा पनि कम्तिमा २ मिटरको दुरी कायम गर्छन् उनिहरु किनकी एक अर्का सँग सबैलाई डर छ । ग्रोसरी पसल भित्र २-२ मिटरको दुरीमा धर्काहरु तानिएको छ र मानिसहरु त्यही धर्काहरुको दुरीमा रहेर समान छान्ने गर्दछन । सम्भव भए सम्म सेल्फ चेक आउट र कन्ट्याक्ट लेस पेमेन्ट प्रयोग गर्न भनिएको छ। 

बेलायत सरकारले २० मार्चमा अर्ध ( पार्सियल ) लकडाउन गरेको थियो जसमा स्कुलहरु बन्द भए, रेस्टुरेन्टहरुमा  इटइन (भित्र बसेर खाने ) सेवा बन्द गरेर टेकवे मात्र अनुमती दिइयो, साँझपख निकै भिड हुने पबहरुमा भिडभाड नगर्न भनियो, पार्कहरु बन्द नगरिकिन खेल्न नजानु भन्ने  आव्हान भयो तर सोही शुक्रबार र शनिबार पब अनी पार्कहरुमा मानिसको भिड केही कमी भए पनि उलेख्य रुपमा घटेन । त्यस्तो अर्ध लकडाउनले काम गरेन र भाईरस फैलिन सक्ने सम्भावना उत्तिकै जिवित रह्यो। फलस्वरुप २३ मार्चको रातिबाट लागु हुनेगरी पूर्ण लकडाउनको  आदेश आयो बेलायती प्रम बोरिसबाट ।

Advertisement

लकडाउनको अवस्थामा खाध्यान्न  र  औषधी  किन्न जान पाईन्छ । नेपालमा जस्तो टोलै पिच्छे किराना पसल नहुने भएकोले केही माइल टाढा जानै पर्ने अवस्था धेरैजसो क्षेत्रमा छ जसको लागी की सर्वजानिक यातायात प्रयोग गर्नु पर्दछ  कि आफ्नै कारमा जानु पर्यो यस्तो अवस्था रहेको हुनाले प्रहरीले जो कोहीलाई रोकेर सोध्ने गर्दैन यदी सोधीहालेमा कारण बताएपछि सजिलै अनुमति प्राप्त हुन्छ ।  मर्निङ वा इभिनिङ वाक, साइक्लिङ्ग र ब्यायामको लागि  बाहिर जान पाईन्छ तर मानिसहरु कार प्रयोग गर्दै घरभन्दा टाढा साइक्लिङ्ग वा पदयात्रामा जान थालेकोले यस्ता गतिविधिमा रोक लगाइएको छ। सम्भव भए सम्म अफिसको काम घरबाट नै गर्नु पर्दछ यदि घरबाट काम गर्नसक्ने अवस्था छैन भने अफिस जान कुनै रोक छैन । यस्तो हुँदा सडकपेटी र पद मार्गहरुका छिटपुट मान्छेहरु देखिरहन्छन भने सडकमा फाटफुट साइकल र  कारहरु।   

बेलायतमा के विश्वास छ भने मास्क कि त संक्रमित व्यक्तिले लगाउने हो या काम गर्दा स्वास्थकर्मीले प्रयोग गर्ने हो भन्ने। तर हाम्रो नेपालमा मास्क नै कोरोना भाइरस रोक्ने अस्त्र हो कि झैं गरी प्रयोग गरिएको छ ।

Advertisement

सपिङ सकेसम्म अनलाइन नै गर्न सुझाइएको छ, अनलाइन सपहरु खुल्ला छन् समान डेलिभरी गरिरहेका छन। खाध्यान्नमा निस्चित सामानहरुको अभाव यथावत छ । चामल, स्पागेटी, पास्ता र लामो समय राख्न सकिने  तयारी खानाहरु पाउन मुस्किलनै छ । प्रायजसो ठूला स्टोरहरुले बिहानको समय जेष्ठ र अशक्त नागरिकका लागि छुट्याएका छन् । उक्त समयमा अरुले समान किन्न पाउँदैन । अनलाइनमा पनि एकै ब्यक्तिले असीमित समान अर्डर गर्न पाउदैन निस्चित कोटा तोकिएको छ । दैनिक प्रायोजनका समानहरुको मूल्य बृद्धि  भने भएको छैन् । सामान्य अवस्थामा प्राय जसो दैनिक प्रायोजनका समानहरुमा छुटको ब्यवस्था हुने गर्दथ्यो अहिले त्यस्तो छुट भने छैन ।  

नेपाल र बेलायतमा लकडाउन लगभग एकै समयमा भयो, नेपालमा सोमबार बिहानबाट भने बेलायतमा सोही सोमबारको अन्त्यबाट । तर पूर्ण लकडाउनको समय सम्म आइपुग्दा बेलायतमा केहीको मृत्यु भइसकेको थियो भने नेपालमा एउटामात्र सकृय  केस देखिएको थियो । लगभग १९ प्रतिशत जनता जेष्ठ नागरिक रहेको बेलायत कोरोना भाईरसको ठूलो चपेटामा पर्ने सक्ने आँकलन गरिएको छ । केही अध्ययनहरुले दुई लाख ५० हजारसम्म मानिसको मृत्यु हुनसक्ने र उक्त संख्या २० हजार भित्र सिमित गर्न सकियो भने ठुलो उपलब्धि हुने जनाएका छन् ।

यो लेख लेख्दा सम्म बेलायतमा २३०० भन्दा धेरै कोभिड-१९ को सिकार भईसकेका छन जसमा २ जना नेपाली मुलका बेलायती नागरिक पनि परेका छन् । सयौ नेपाली मुलका ब्यक्तिहरु संक्रमित भएको अनुमान गरिएको छ । नेपाल यो अर्थमा भाग्यमानी हो या कोरोना टेस्ट संख्या कम भएकोले पत्ता नलागेको हो त्यो भने केही समयमा थाहा होला नै । तर जती त्रास बेलायतमा छ नेपालमा पक्कै नहुने पर्ने हो यो अवस्थामा।

नेपाल र बेलायतको लकडाउनमा केही भिन्नता भने देखिन्छ । नेपालका केही स्थानहरुमा प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको भिडिओहरु सामाजिक संजालमा व्यापक देख्न सकिन्छ । छिटपुट रुपमा जनताहरु पनि लकडाउनका सामान्य मान्यताहरुलाई तोडीरहेको देखिन्छ। लकडाउन तोडने कृयाकलाप बेलायतमा पनि नहुने होइन भैरहेका छन् ।  तर प्रहरीले बल प्रयोग गर्दैन २ जनाभन्दा धेरै जम्मा भएका छन भने तितर वितर हुन आग्रह गर्छ यदी तितर वितर हुन नमानेमा उनिहरुलाई फाइन स्वरुप पैसा तिराउछ, फरक परिवारका जस्ता देखिने मान्छे एकै ठाँउमा जम्मा भएको देख्यो भने बिनम्रता पूर्वक छुट्टिन आग्रह गर्दछ। बेलायतमा प्रहरीले न त लाठी चार्ज गर्दछ न त एक जना वा परिवारका सदस्य सँगै हिँड्न प्रतिबन्ध लगाउँछ । बेलायतमा प्रत्यक नागरिकको भरपर्दो डाटाबेस रहेको हुनाले कानुन कार्यन्वयनमा सहजता आएको हो हाम्रोमा डाटाबेस नहुँदा केही समस्या देखियो।

अर्को फरक पक्ष के छ भने सामान्यतया बेलायतमा मनिसहरु मास्क लगायर हिडने गरेका छैनन बरु कसैले मास्क लगाएर आयो भने उ सँग तर्सिएको देखिन्छ । धेरैलाई के विश्वास छ भने मास्क कि त संक्रमित ब्यक्तिले लगाउने हो या काम गर्दा स्वास्थकर्मीले प्रयोग गर्ने हो भन्ने। तर हाम्रो नेपालमा मास्क नै कोरोना भाईरस रोक्ने अस्त्र हो की झै गरी प्रयोग गरिएको छ । श्वास्थ क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रायसबै क्षेत्रमा छुटको ब्यवस्था  गरिएको छ खाध्यान्न खरिद होस या सवारी साधनहरुमा होस उनिहरुलाई लोभलाग्दो छुट दिने गरिएको छ समाजमा सम्मान उत्तिकै छ ।

बेलायत अनी युरोपका धेरै देशहरुले बिदेशमा रहेका आफ्ना नागरिकहरुलाई सकेसम्म देश फर्किन आव्हान गरिरहेका छन । देश फर्किएपछि अनिवार्य रुपमा १४ दिन सेल्फ आइसोलेसनमा बस्नै पर्ने नियम छ र सबैले पालना गरेको पनि देखिन्छ, नेपालमा भने क्वेरन्टाइनमा राख्यो भनेर प्रहरीलाई झुक्याउदै भाग्ने गरेको समाचार आउछ । हाम्रो देशमा देश फर्किन सिमानामा आएका नागरिकहरुलाई पनि रोकिन्छ नागरिकप्रति सरकारले निभाउनुपर्ने दायित्वबाट सरकार भागिरहन्छ। देश छिर्न ज्यानको बाजी मारेर महाकाली नदी पार गरेको दृश्य साँच्चैनै दर्दनायक छ, खै गरिव जनताको लागी कँहा  छ सरकार ? दैनिक ज्यालादारीमा पसिना बगाएर बिहान बेलुका हात मुख जोडनेहरुको लागी कता छ सरकार ?  कोरोना संकटका कारण यदी जागिर फुस्कियो वा दैनिक काम गर्न नसक्ने अवस्था आयो भने बेलायत सरकारले प्रती महिना धेरैमा  २५०० पाउन्ड सम्म दिने घोषणा गरेको छ । स्याना ब्यबसायीलाई अनुदान स्वरुप २५००० पाउन्ड दिने घोषणा गरेको छ । बेरोजगारहरुले पहिलादेखि पाइरहेको भत्ता त यथावात छँदै छ ।

बेलायतमा प्रधानमन्त्री र श्वास्थ मन्त्री पनि कोरोना भाईरस संक्रमित भएर आइसोलेसनमा छन उनिहरुले पहिला नै घोषणा गरेका छन यदी रोगले सिकिस्त बनायो भने  उनिहरुको पद अन्य  वरिष्ट मन्त्रीले सम्हाल्ने छन् भनेर । तर हाम्रो देशमा हस्पिटलको बेड र घरको ओछ्यानबाट सरकार संचालित भईरहेको लामो समय भयो। कोरोना भाईरस सम्बन्धी सरकारले प्रत्यक दिन एकद्वार प्राणालीबाट सुचना प्रबाह गरिरहेको छ बेलायतमा नेपालमा भने त्यस्तो प्रवधान नहुँदा धेरै कन्फ्युजन सिर्जना भएको देखिन्छ  नेपाल सरकारले यो बारेमा सोच्नै पर्दछ ।

इटाली र स्पेनमा भएको डरलाग्दो स्थितिबाट समयमा नै शिक्षा नलिनाले बेलायतमा कोरोना भाईरस फैलिने मौका पायो र अहिले ठूलो खती बेहोर्ने पर्ने अवस्थामा पुगेकोछ । सुरुमा सरकारका सुझावहरु अवज्ञा गरेका ब्रिटिशहरु अहिले भने अली हताश स्थितीमा छन र लकडाउनलाई पूर्ण रुपमा स्विकारेका छन । सरकारले अझै कडा प्रावधान ल्याउने तयारी गरेको बुझिएको छ ।

कोरोना भाईरसका कारण संसारमा धेरै मान्छेहरुले घरमै बन्दी जीवन वाध्यतावश स्विकार्नु परीरहेको छ । यो अदृष्य शक्तिले कति मानव जीवनको सिकार गर्ने हो अनुमान गर्न  सकिने अवस्था छैन । यो दुश्मनसँग लड्नका लागि आजसम्म कुनै हतियार तयार भएको पनि  छैन ।  मानव र अदृष्य शक्ती बिचको यो युद्ध कती लम्बिने हो कुनै निस्चितता छैन । तपाईंहरु पनि लकडाउन पूर्ण पालना गरेर यो मानव दुश्मन सँगको लडाईंमा सिपाइको भूमिका निभाउनुहोस् “स्टे होम” हतियारलाई सक्दो प्रयोग गर्नुहोस।

तपाईको प्रतिक्रिया