गण्डकी प्रदेशमा विदेशबाट कति आए थाहा छैन

समाधान संवाददाता २०७६ चैत २५ गते १९:११
पोखराको मालेपाटनस्थित क्वारेन्टाइन

अनुप पाैडेल, पाेखरा

बागलुङकी १९ वर्षीया युवतीमा गत चैत १५ गते कोरोना संक्रमण पुष्टि भयो। उनी नेपालको पाँचौ र गण्डकी प्रदेशको पहिलो संक्रमित थिइन्। युवतीमा संक्रमण पुष्टि भएको ५ दिन पछि बागलुङकै ६५ वर्षीया वृद्धामा कोरोना देखियो। उनीहरु दुवैजना चैत ४ गते बेल्जियमबाट दोहा हुँदै नेपाल आएका थिए।

दुवै संक्रमितको सम्पर्कमा आएकाको खोजी गरेर नमुना परीक्षण गरिसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ‘सम्पर्कमा आएकाको स्याम्पल संकलन गरिसकेका छौं,’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले भने, ‘काठमाडौंबाट प्लेनमा पोखरा आएका ३६ जनाको रिपोर्ट नेगेटिभ आइसक्यो ।’ संक्रमित १९ वर्षीया युवतीको गत शुक्रबार गरिएको दोस्रो परीक्षण पोजेटिभ आएको छ भने वृद्धाको दोस्रो परीक्षण बिहिबार हुनेछ।

Advertisement

अहिले प्रदेश स्वास्थ्य निर्देशनालयले विदेशबाट आएकाको खोजी गरिरहेको छ । विदेशबाट आएकाहरुको पहिचान गरेर उनीहरुको परीक्षण गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा बताउँछन् । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर तथ्यांक संकलनको काम भइरहेको उनले बताए ।

‘विदेशबाट आएको १४ दिन भएको र लक्षण देखिएकाको स्याम्पल लिने काम गर्दैछौं,’ उनले भने, ‘उदाहरणका लागि लमजुङमा भारतबाट आएका ९ सय बढी हुुनुहुन्छ । त्यसमा १४ दिनपछिका ८९ जना हुनुहुन्छ । छिट्टै उहाँहरुको स्याम्पल लिन्छौं ।’

Advertisement

गण्डकी प्रदेशमा चैतमहिनामा विदेशबाट आएकाको संख्या १० हजार रहेको अनुमान निर्देशनालयको छ । ‘चैतमा आएकाको संख्या ८ देखि १० हजारसम्म रहेको अनुमान छ । यकिन तथ्यांक आउन २ दिन लाग्छ,’ स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले भने ।

सम्भावित जोखिमलाई ध्यानमा राखेर विदेशबाट आएका/नआएका गरेर निर्देशनालयले बागलुङलाई परीक्षणका लागि प्राथमिकतामा राखेको छ । ‘मनाङ र मुस्ताङबाहेक सबै जिल्लाले डाटा पठाउनु भएको छ । प्राप्त डाटाबाट परीक्षण गर्नुपर्ने र नपर्नेको पहिचानको काम गरिरहेका छौं,’ तथ्यांक संकलकको भूमिका निर्वाह गरिरहेका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले भने ।

१ सय ९४ जना क्वारेन्टाइनमा

प्रदेशभर २ सय ८० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । ७ हजार ८ सय ११ बेड रहेका ती क्वारेन्टाइनमा विदेशबाट आएका १ सय ९४ जना बसिरहेका छन् । कास्कीमा १६, स्याङ्जामा १३, तनहुँमा १, लमजुङमा २३, गोरखामा ६, पर्वतमा ११, म्याग्दीमा २४, बागलुङमा २६, नवलपुरमा ६६, मुस्ताङमा ७ र मनाङमा १ जना क्वारेन्टाइनमा बसेका छन्।

यस्तै २५ सय ६६ जना होम क्वारेन्टाइनमा बसेको निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बागलुङमा ८ सय १६ जना होम क्वारेन्टाइनमा छन् । यसबाहेक तनहुँमा ५ सय ५०, स्याङ्जामा ५ सय १३, कास्कीमा २ सय १३, गोरखामा १ सय ९४, पर्वतमा १ सय ८५, म्याग्दीमा ९४ र मुस्ताङमा २ जना होम क्वारेन्टाइनमा बसेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा २ सय ८९ बेड क्षमताको आइसोलसन बनाइएकोमा ६ जना बसेका छन् । आइसोलेसनमा बस्ने सबै पर्वतका हुन् ।

१ सय १० जनाको नमुना परीक्षण

गण्डकी प्रदेशबाट सोमबारसम्म १ सय १० जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको र १०४ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले जानकारी दिए । अन्य ४ जनाको नमुनाको रिपोर्ट आउन बाँकी छ । सोमबारसम्म प्रदेशका चार जिल्लाबाट एउटा पनि नमुना संकलन भएको छैन । त्यसमा तनहुँ, भारतसँग सीमा जोडिएको नवलपुर र चीनसँग सीमा जोडिएका मुस्ताङ र मनाङ छन् ।

सबैभन्दा धेरै नमुना कास्कीबाट ४७ जनाको संकलन भएको शर्माले बताए । सबैभन्दा कम गोरखाबाट २ जनाको नमुना संकलन भएकोमा २ वटै नेगेटिभ आएको छ । पर्वतबाट २३, बागलुङबाट १८, लमजुङबाट ९, स्याङ्जाबाट ८ र म्याग्दीबाट ३ जनाको नमुना संकलन भएको स्वास्थ्य शिक्षा प्रशिक्षक शर्माले जानकारी दिए ।

कोरोना भए/नभएको पत्ता लगाउने पीसीआर मेशिन जडान भएको ६ दिनमा ५० जनाको नमुना परीक्षण गरिएको छ । ५४ जनाको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया