३ जना सङ्क्रमित पाइएपछि वीरगञ्जको छपकैया ‘सील’

समाधान संवाददाता २०७६ चैत ३० गते २०:११

वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित ‘सील’ गरिदिएको छ।

ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।

तर भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू वीरगञ्जको छपकैयाको मस्जिदमा विगत केही समयदेखि बस्दै आएको स्थानीयवासीको भनाइ छ।

Advertisement

उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीका वासिन्दा हुन्।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि नेपालमा रहँदै आएको मस्जिदका मौलाना अलि असगरले बताए।

Advertisement

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सङ्क्रमितहरूले गत डिसेम्बर महिनादेखि नै नेपालमा रहँदै आएको बताएको जनाएका छन्। तर स्थानीयका अनुसार उनीहरू वीरगञ्जको मस्जिदमा विगत १५ दिनदेखि देखा परेका हुन्।

वीरगञ्ज छपकैयाको मस्जिदमा भने केही सातादेखि रहँदै आएपनि घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरू आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलानाले बताए।

छपकैया ‘सील’

उनीहरूसँगै २१ जना अन्य पनि परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले शुक्रवार आफैँ अस्पताल आइपुगेका भारतीय धर्म गुरुहरूले चेकजाँचका लागि आग्रह गरेको तथा हेटौँडामा उनीहरुको स्वाब पठाइएपछि शङ्कास्पद देखिएको र तत्काल आइसोलेशनमा चिकित्सकको निगरानीमा राखिएको बताए।

उनीहरूको स्वास्थ्य अवस्था शङ्कास्पद देखिएपछि शनिवार राति उक्त वडाका दुईवटा मस्जिदमा छापा मारी प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारन्टीनमा राखेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताएका छन्।

नियन्त्रणमा लिइएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलीगी भेलामा सहभागी भएका १९ जना भारतीय, वीरगञ्जका ३ जना र भारतबाट पाहुना आइबसेका ४ जना रहेको उनले बताए।

उनीहरूलाई वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जको श्रीपुरस्थित एक स्कुलमा स्थापना गरिएको क्वारन्टीनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

स्वास्थ्य मन्त्रालयले वीरगञ्जको नारायणी अस्पतालमा रहेका तीनै जनामा कोरोना सङ्क्रमण भएको आइतवार पुष्टि गरे लगत्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयालाई ‘सील’ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।

उनले उक्त वडा र आसपासका स्थानलाई समेत नै सील गरि सङ्क्रमितहरू गएका वा रहेका स्थानको समेत पहिचान कार्य सुरु गरिएको बताए।

उनले सील गरिएको स्थानबाट मानिसहरू अत्यावश्क बाहेक घर बाहिर निस्किन नपाइने गरी बन्देज लगाइएको बताए।

बीबीसी न्यूज नेपाली, वीरगञ्ज

तपाईको प्रतिक्रिया