कोरोनाले कञ्चन सेती ! अब मान्छेको मन संग्लिएला ?

समाधान संवाददाता २०७७ वैशाख २ गते १२:४३

अमृत सुवेदी
पोखरा ।


जब मैलिँदै गयो मान्छेको चेतना
जब फोहोरी बन्दै गयो मान्छेको मन
समाज नै बन्दै गयो विशाक्त
हडपिँदै गयो प्रकृतिको सुन्दरता
लुटिँदै गयो सम्पदाको यौवन
ओ सेती !
तिमी संग्लिन त माहामारी कुनुप¥यो
मलाई शंका छ,
मान्छेहरुको फोहोरी मन अझै संग्लिने छैन


कुनै कलाकारले बडो मिहिनेतले कोरेजस्ता छन्, नदी किनार । जहाँ प्रकृतिले नै कोरिदिएको छ, अनेक आकृति । खोंचबाट बगिरहेको छ, शुक्लागण्डकी । डिलमा टुसुक्क बस्छन् र रोमाञ्चित बन्छन् सुन्दर पौडेल । अनि लेख्छन् यी कविताका हरफहरु । पौडेल त्यसै रोमाञ्चित बनेका होइनन्, धेरैपछि उनले सेदी नदीलाई कञ्चन देख्न पाए ।


पौडेलको स्मृतिमा ती दिनको याद आउँछ, जुन दिन उनी स्याङ्जाको मग्याम तनहुँको ढोरफिर्दी हुँदै दुलेगौंडा आइपुग्थे । त्यतिबेला सेती नदीको पानी अञ्जुलीमा भरेर घुटघुट पिएर उनी दुलेगौंडा बजार उक्लन्थे ।
‘१५÷२० वर्ष भयो होला सेती नदी संग्लो देख्न नपाएको । बालुवा लिएर सधैं धमिलो बग्थ्यो,’ पौडेलले भने, ‘तर धेरैपछि कञ्चन सेती नदी देख्न पाइयो । बडो आनन्द लाग्यो ।’

सुन्दरलेजस्तै सेती नदीलाई सुन्दर देख्न पाउँदा तनहुँ दुलेगौंडाका प्रकृतिप्रेमी खुसी छन् । सेती नदी धेरैपछि कञ्चन हुनुको कारण अहिले विश्वलाई नै हल्लाइरहेको कोरोना भाइरस कोभिड–१९ नै हो । कोरोनाबाट विश्व नै त्रसित छ । नेपाल लडकडाउन भए सम्पूर्ण बजार र नदीजन्य काम ठप्प छ । जसका कारण यतिबेला नदी भने कञ्चन भएर बगिरहेको छ ।


सुन्दरलेजस्तै सेती नदीलाई सुन्दर देख्न पाउँदा तनहुँ दुलेगौंडाका प्रकृतिप्रेमी खुसी छन् । सेती नदी धेरैपछि कञ्चन हुनुको कारण अहिले विश्वलाई नै हल्लाइरहेको कोरोना भाइरस कोभिड–१९ नै हो ।

अन्नपूर्ण हिमालदेखि पोखरामा खोंचहरुबाट लुकामारी गर्दै तनहुँ भएर बग्ने सेती नदी ढुंगा, गिटी, बालुवाको उत्खननले धमिलोमात्रै बग्थेन, दुर्गन्धित नै बनेको थियो । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंगादेखि कोत्रेसम्मको क्षेत्र सेती नदीको सबैभन्दा बढी उत्खनन् र दोहन हुने ठाउँ हो । त्यहाँका रहेका थुप्रै क्रसर उद्योगले सेती नदीलाई नै दोहन गरिरहेका थिए ।

अहिले कोरोना भाइरसका कारण ढुंगा, गिटी, बालुवाको उत्खखन् र क्रसर उद्योगहरु बन्द छन् । जसका कारण धेरैपछि सेती नदी कञ्चन भएर बग्न पाएको छ । ‘कोरोना भाइरसका कारण महिना दिन पुग्न लाग्यो होला उत्खखन रोकिएको । क्रसर उद्योगहरु पनि बन्द छन्,’ सेती नदी संरक्षण अभियान्ता हरिराम रिमालले भने, ‘१५/२० वर्षपछि सेती नदी यति कञ्चन भएर बगेको देख्न पायौं ।’

नदी उत्खनन् र गिटी, बालुवा पखालेको पानी सिधै नदीमा मिसाउँदा धेरै वर्षदेखि सेती नदी कुरुप बनिरहेको रिमालले बताए । ‘बास्तबमा सेती नदीमात्रै धमिलो बगेको थिएन, यस आसपासमा रहेका वासिन्दाको दैनिक जीवन यापन पनि धमिलो भएको थियो,’ रिमालले भने, ‘यहाँँको ढुंगा, गिटी, बालुवा र क्रसर उद्योगले आसपासका मान्छेहरुको बाँच्ने उमेर नै घटाइरहेको छ ।’

ढुंगा, गिटी, बालुवा र क्रसर उद्योगले सेती नदीसँगै आसपासका घाँसपात, अन्नबाली धुलोले ढाक्ने गरेकोमा अहिले कोरोनाकै कारण स्वच्छ बनेको स्थानीयको अनुभव छ ।

शुक्लागण्डकीमा मेसिन प्रयोग गरेर अवैध रुपमा रातमासमेत नदी दोहन हुने गरेको थियो । अहिले उद्योगहरु बन्द भएसँगै कोरोनाको कहरमा स्थानीयले राहत महसुस गरेको रिमालले सुनाए । यो क्षेत्रमा एक दर्जनजति नदीजन्य पदार्थ उत्खखन गर्ने उद्योग छन् ।

अबैध क्रसर उद्योग बन्द गराउने अवसर

सेतीलाई अहिलेकै अवस्थामा राख्न अब शुक्लागण्डकी नगरपालिकाले सदाका लागि क्रसर उद्योग त्यो ठाउँबाट स्तानातरण गर्नुपर्ने अभियान्ता लक्ष्मी सिग्देल बताउँछिन् । ‘अहिले नदीको सुन्दरता देख्दा कोहिलाई थाहा हुन्छ कि हामी कति नबुझ्ने रहेछांै । पहिलो कुरा अनाधिकृत रुपमा सञ्चालन भइरहेको क्रसर उद्योग अब सदाका लाग बन्द गर्ने अवसर पनि हो, यो,’ सिग्देलले भनिन्,‘ढुंगा, गिटी, बालुवाको काम पनि स्थानातरण गर्न सकिन्छ । यसतर्फ स्थानीय तह र गण्डकी प्रदेशले ध्यान देओस् ।’

शुक्लागण्डकीको यो क्षेत्रमा सडक र नदी दुबैका हिसाबले मापदण्डबिपरीतका क्रसर उद्योगहरु सञ्चालित छन् । शक्ति र सत्ताको आडमा लामो समयदेखि सञ्चालकहरुले अवैध उद्योग चलाइरहेको हरिरामको भनाइ छ । कोरोना भाइरसका कारण बन्द भएका अवैध उद्योगलाई सदाका लागि बन्द गराउने यो अवसरसमेत भएको उनी बताउँछन् ।

‘कोरोनाबाट सबै त्रसित छौं । उद्योग, धन्दा, काम सबै ठप्प छन् । तर, यही ठप्प भएको अवसरमा सेती नदी स्वच्छ र सफा राख्न र अवैध क्रसर उद्योग बन्द गराउन यो अवसर पनि हो,’ रिमालले भने, ‘हामी शुक्लागण्डकी नगरपालिका र गण्डकी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

यही मौकामा पोखरा, शुक्लागण्डकी, भीमाद, ब्यास नगरपालिकाले एकीकृत योजना बनाएर सेतीलाई सधैं यस्तै कञ्चन राख्नुपर्ने स्थानीयको माग छ ।
सेती अहिले कञ्चन बग्नुको अर्को कारण होटल, उद्योगबाट सेतीमा ढल नजानु पनि हो । पोखरामा सबैभन्दा बढी घरहरुबाट समेत सिधै सेतीमा चर्पीबाट ढल मिसाउने क्रम अझै रोकिएको छैन । तर, कोरोनाका कारण सेती किनारका होटल बन्द छन् । उद्योग तथा अन्य ब्यवसाय गर्नेहरुबाट पनि यतिबेला सेतीमा ढल मिसिन पाएको छैन । जसका कारण सेती पहिलेकोभन्दा सफा भएर बग्न पाएको छ ।

पोखरा हुँदै चितवन पुगेर नारायणी मिसिने सेती नदीलाई अहिलेकै अवस्थामा कञ्चन भएर बग्न दिने यो अवसर भएको सेती संरक्षण अभियान्ताहरु बताउँछन् । सेती नदी संरक्षण तथा सफाइका निम्ति थुप्रै अभियान तथा कार्यक्रम सञ्चालन भए । कसैले सेतीलाई कञ्चन बनाउन सकेनन् । तर अहिले कोरोनाले मान्छेलाई कोठामै खुम्च्याइदिँदा नदी भने सफा भएर बग्न पाएको छ ।

‘कोरोनाको कारण मान्छेमा नराम्रो असर प¥यो तर प्रकति भने सफा बनेको छ । सेती नदी कलकल बगेको छ,’ अभियान्ता लक्ष्मी भन्छिन्, ‘के अब मान्छेकोहरुको मन संग्लिएर सेती सधैं यस्तै सफा बग्ला त ? ।’ शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ भन्छन्, ‘अभियान चलाएकै छौं । अब झन् कडा रुपमा प्रस्तुत हुन्छौं ।’

तपाईको प्रतिक्रिया