घर जाने दिन कुर्दै कोरोना जाँच्ने विज्ञ

समाधान संवाददाता २०७७ वैशाख ४ गते १९:१२

अनुप पौडेल, पोखरा

कोरोना परीक्षण गर्ने सामग्री चीनबाट नेपाल आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आनुवांशिक विज्ञ (जेनेटिक एक्सपर्ट) हरुको भेला ग¥यो ।

सबै प्रदेशबाट कोरोना परीक्षण सुरु गर्ने योजनाअनुसार त्यही भेलाबाट कसलाई कुन प्रदेशमा खटाउने भन्ने छलफल चल्दै थियो ।

Advertisement

भेलामा सहभागी विज्ञ श्रीराम बास्तोलाले पोखरा आउने इच्छा देखाए । वीर अस्पतालको प्रयोगशालामा कार्यरत बास्तोलाको घरै पोखरा हो ।

फूलबारीका यी रैथाने बास्तोलालाई इच्छाअनुसार सरकारले पोखरा खटायो । हेलिकोप्टर चढेर पीसीआर मेसिन र अन्य सुरक्षा सामग्री लिएर १८ चैतमा उनीसहितको टोली पोखरा उत्रियो ।

Advertisement

आजकल उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणका लागि खटिइरहेका छन् । जोखिमको चौघेराभित्र काम गरिरहेका बास्तोलाको मनले ४ किलोमिटर टाढाको घर जान मानेको छैन ।

उनीसहित प्रयोगशालामा काम गर्नेहरु होटलमा बसेका छन् । प्रदेश सरकारले होटलमा राख्नुका साथै प्रयोगशाला आवतजावतका लागि एउटा गाडी तयार राखेको छ । बास्तोला घर जाने दिन कुरेर बसेका छन् ।

‘घर जान मन नभएको होइन,’ बास्तोला भन्छन्, ‘तुरुन्तै प्रयोगशाला पुगेर परीक्षण गर्नपर्ने नमुना आउँछन् । घरमा बसे अपरझट काममा जाने मेसो मिल्दैन । कहिलेकाहीँ अबेरसम्मै बस्नुपर्ने हुनसक्छ ।’

बास्तोलाले सन् २०१४ मा श्रीलंकाको कोलोम्बो विश्वविद्यालयबाट एमएससी सकेका हुन् । उनी प्रयोगशालाका अरु प्राविधिकलाई रिपोर्ट हेर्न सिकाउँछन् । घरबाट कुनै प्रकारको रोकतोक छैन ।

भाइरससँग पैठेजोरी खेल्नु उनको दैनिकी नै हो । कहिले एचआइभी अनि कहिले हेपाटाइटिसको परीक्षण गरे वीर अस्पतालमा । त्यसैले पनि उनलाई कोरोना भाइरसको डर छैन । तर सतर्कता अपनाउन भने कुनै कसर बाँकी राखेका छैनन् ।

उनका अनुसार अन्य भाइरसको तुलनामा कोरोना भाइरसबाट संक्रमणको जोखिम बढी छ । ‘पहिलेबाटै यस्तै काम गरिरहेकाले त्यस्तो साह्रै डर छैन तर ती भाइरसभन्दा कोरोना भाइरस अल्लि संक्रामक छ । यसको सुरक्षा तहको व्यवस्था बढी हुन्छ,’ बास्तोलाले सुनाए ।

सुरुआतका दिनमा राति अबेरसम्म खटेर ९० वटासम्म स्वाब परीक्षण गरेको उनीसहितको टोलीलाई अहिले राहत भएको छ । सरकारले आरडीटी परीक्षण सुरु गरेपछि अहिले कामको भार कम भएको उनी बताउँछन् ।

‘आरडीटी फाइदाको कुरा हो । यसले गर्दा परीक्षणको लोड कम भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आयो भने फेरि परीक्षणको दायरा बढाउन पर्छ,’ उनले भने ।

उनकाअनुसार कोरोना परीक्षण गर्दा सुरुमा भाइरसलाई रसायनसँग मिसाएर टुक्रा पार्ने काम गरिन्छ । त्यसपछि मात्र मेसिनमा हाल्ने काम हुन्छ । मेसिनमा हालेको १ घन्टापछि मात्र त्यसको रिपोर्ट आउँछ ।

मेसिनमा हाल्दा भाइरसको जीन देखिए पोजेटिभ र नदेखिए नेगेटिभ भन्ने बुझिन्छ । उनी भन्छन्, ‘परीक्षण गर्दा समय बढी लाग्ने भनेको भाइरसलाई टुक्रा पार्दा हो । मेसिनमा त जति जनाको स्वाब भएपनि डेढ घन्टा लाग्छ । काम गरिरह्यौं भने दिनमा १४० वटासम्मको रिपोर्ट दिन सक्छौं ।’

तपाईको प्रतिक्रिया