अपांगता भएकाहरु महामारीमा थप मर्का

समाधान संवाददाता २०७७ वैशाख ५ गते १४:०२

पाेखरा

कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको वर्तमान अवस्थामा उच्च जोखिममा रहेका अपांगता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा अपांगतामैत्री नीतिअनुरुप समावेशीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरेको हो ।

गण्डकी प्रदेशका ८५ वटै स्थानीय सरकारलाई अपाङ्गता भएका व्यक्तिको अवस्थाको जानकारी लिएर सोहीअनुरुपको न्यायोचित कदमका लागि आग्रह गरिएको संघका गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले बताए ।

Advertisement

“अपाङ्गगता भएका व्यक्तिहरु सधँै जोखिमको अवस्थामा रहेका हुन्छन्, अहिलेको अवस्था झन् जटिल छ । उनीहरुमा थप समस्या आउन नदिन ८५ वटै स्थानीय तहले अपांगतामैत्री नीतिमार्फत ध्यान दिन जरुरी छ,” उनले भने । अपांगता भएकाहरुलाई घरभाडा, रासनपानी र आवश्यक सरसफाइका सामग्रीमा समस्या देखिएको उनकाे भनाइ छ ।

Advertisement

“अतिअशक्तहरुलाई विशेष सहयोगीको आवश्यक पर्ने हुन्छ तर अहिले भौतिक दूरीका कुराले सहयोगीसमेत पाउन गाह्रो छ, अपांगता भएकालाई अहिलेको अवस्थामा सरकार भएको अनुभूति गराउन जरुरी छ”, विज्ञप्तिमा भनिएको छ । त्यसैगरी वित्तीय संस्थाले न्यूनदृष्टियुक्तलाई ‘डिजिटल एप’ चलाउने व्यवस्था नगरेकाले अहिले बैंकमा बचत गरिएको रकम समेत निकाल्न नपाइएको उहाँको भनाइ छ ।

शर्माले सञ्चारमाध्यमलाई पनि अपाङ्गता भएकाहरुको आवाज सम्बन्धित निकायसम्म पु¥याउन पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया