डिजी स्कूल नेपालको निःशुल्क अनलाइन प्रशिक्षण

समाधान संवाददाता २०७७ वैशाख १७ गते १६:१९

जमुना वर्षा शर्मा

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भए पनि पढाइ भने शुरु हुन सकेको छैन । चैत अन्तिममा वार्षिक परीक्षा दिएका विद्यार्थीले परीक्षाको नतिजा अझै थाहा पाउन सकेका छैनन् । एसइई परीक्षा रोकिएको छ । अहिलेको असहज अवस्थाले लाखौँ विद्यार्थीको पढाइलाई नराम्रोसँग असर पारेको छ ।

प्रविधिको यो युगमा पढाइका लागि विकल्पको खोजी पनि हुन थालेको छ । शैक्षिक संस्थाले अनलाइन पढाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने अध्ययन र अभ्यासमा समेत जुट्न थालेका छन् । यसैबीच डिजी स्कूल नेपालले अनलाइन कक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा निजी तथा सरकारी विद्यालयका शिक्षकलाई निःशुल्क प्रशिक्षण दिन थालेको छ ।

बेलायतको एनसिसी एजुकेशनको आइटी पाठ्यक्रमअनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा शुरु गरेको डिजी स्कूलले लकडाउन प्रविधिसँग जोडिएर प्रभावकारी रुपमा कसरी पढाउन सकिन्छ भन्ने बारेमा निःशुल्क प्रशिक्षण शुरु गरेको स्कूलका गण्डकी प्रदेश संयोजक ओम उपाध्यायले जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “दुईहप्ता भयो, हामीले यो प्रशिक्षण दिन थालेको, अहिलेसम्म १५० बढी विद्यालयले सम्पर्क गर्नुभएको छ भने १०० स्कूललाई प्रशिक्षण दिइसकेका छौँ, देशका विभिन्न जिल्लाबाट अनुरोध आइरहेको छ, हामी जनशक्तिलाई अधिकतम परिचालन गरेर प्रशिक्षण जुटिरहेका छौँ ।” उहाँले जुम टेक्नोलोजी, गुगल क्लास रुम र माइक्रोसफ्ट टिम्सबाट भर्चुअल कक्षा सञ्चालन विधिका बारेमा प्रशिक्षण दिएको हो ।

प्रशिक्षणमा कक्षा गतिविधि गृहकार्य र असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिङ, अनलाइन प्रस्तुति, स्लाइड साझेदारी, तस्वीर र भिडियो साझेदारीसम्बन्धी सिकाइने बताउनुभयो । लामो समय पढाइबाट टाढा हुँदा विद्यार्थीमा पढ्ने बानी कम हुँदै जाने र मनोवैज्ञानिक असरसमेत पर्नसक्ने भन्दै अहिले प्रविधिको उपयोग गरेर अनलाइन पढाइलाई सञ्चालन गर्दा उपयुक्त हुने उहाँको भनाइ छ ।

Advertisement

डिजी स्कूल नेपालका प्रवद्र्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले अहिले सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने भएकाले पनि अनलाइन प्रशिक्षण अहिलेको एक मात्र विकल्प भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको उच्चतम प्रयोग गरेर प्रभावकारी शिक्षण सिकाइ अनलाइनबाट गर्न सकिन्छ, हामीले अहिले विभिन्न स्कूलका शिक्षकलाई यसबारेमा प्रशिक्षण दिइरहेका छाँै ।” श्रेष्ठले प्रशिक्षणमा सहभागी हुन चाहने विद्यालय तथा शिक्षकले डिजी स्कूलको ९८०१२२४२६९ मा वा क्ष्लाय२मष्नष्कअजययनियिदब।िअयm सम्पर्क गर्न सक्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया