लकडाउन लम्ब्याउन उच्चस्तरीय समन्वय समितिको सिफारिस

समाधान संवाददाता २०७७ वैशाख २३ गते २०:०३

काठमाडाैं

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउनुपर्ने ठहर गरेकाे छ । लकडाउन अवधि कति थप्ने बारेमा भने बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।

प्रधानमन्त्री सहितको छलफलमा अहिलेको अवस्थामा लकडाउन लम्ब्याउनुको विकल्प नरहेको निष्कर्ष निकालिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

अर्थमन्त्रालय, क्राइसिस म्यानेजमेन्ट सेन्टर, स्वास्थ्यमन्त्रालयले विभिन्न आकलनसहितका सुझाव दिएको छ, लकडाउनका बारेमा भने केही निर्णय नभएकाे उनले बताएका छन् ।

कुनै पनि कदम चाल्दा एकदमै होसियार हुन जरुरी छ । नभए अरू देशले गरेको गल्ती हामीकहाँ पनि निम्तन सक्छ । अरू देशका अभ्यासलाई पनि ख्याल गर्नुपर्छ । समग्र मूल्यांकनलाई हेर्दा अहिले लकडाउन खुकुलो गर्ने, हामी ढुक्क भयौं भन्ने स्थिति छैन, ज्ञवालीले भने ।

Advertisement

जोखिमको अवस्था सबै जिल्लामा एकनासको नरहेकाले के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । फरकफरक ठाउँका हकमा फरकफरक विचार बनाउन सकिएता पनि त्यसको आधार परीक्षण नै भएकाले दायरा अझै बढाउनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ ।

सीमा अनिश्चितकालसम्म सीलबन्दी नै राख्नुपर्ने सुझावको रूपमा आएको । भारतको संक्रमण र मुलुकमै पनि संक्रमित फेला पार्ने क्रम नरोकिएकोले सिमानामा कडाइ अत्यावश्यक भएको अधिकांशको तर्क छ ।

तपाईको प्रतिक्रिया