कास्कीकाे मादीमा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास, आरोपित पक्राउ, पीडित परिवार गाउँबाटै विस्थापित

समाधान संवाददाता २०७७ जेठ ४ गते ५:५२

रामशरण नेपाली
लेखनाथ, ४ जेठ

११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा १ पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका ८ मा स्थानीय १ दलित बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा डेभिड भनिने ६० वर्षीय खुसबहादुर गुरुङ पक्राउ परेका हुन् । गुरुङलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।


गत वैशाख २ गते आमाबुवा मेला गएको बेला ९ महिने भाइलाई हेरेर घरमा बसेकी बालिकालाई गुरुङले बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ ।
‘बाबा आमा मकै गोड्न जानुभएको थियो, म घरमा पानी सार्दै थिए, बाजेले मलाई उचालेर भित्र लानुभयो र मेरो मुख थुन्नुभयो, त्यसपछि आफ्नो कपडा खोल्नुभयो र मसँग सुतौं भन्नुभयो, मुख थुनेकाले मैले बोल्न सकिन र टाउको हल्लाए, त्यतिबेला नै छिमेकी ठूलो ममी आउनुभयो र बाहिरबाट बाबा ममीलाई बोलाउनुभयो त्यसपछि बाजेले आफूलाई मकै छोडाउन आएको भन्, अरु केही नभन्, भनिस् भने तलाई घाँटी समातेर मारिदिन्छु भन्नुभयो, अनि मैले ठूलो ममीलाई पनि मकै छोडाएको भनें,’ बालिकाले भनिन् ।

Advertisement


छिमेकी महिला बोल्दै घरभित्र छिर्न लागेपछि कालो निलो अनुहार बनाउँदै बाहिर निस्किएका गुरुङले त्यसको केही दिनपछि पनि पटक पटक बालिकालाई तेरो बा आमा घरमा छ कि छैन ? म आउँ ? भनेर सोध्ने गर्न थालेपछि बालिका कहिले साथीको घरमा जाने, गाउँतिर जाने गरेकी थिइन् ।

बालिकासँगै घरभित्र खुसबहादुरलाई देखेकी महिलाले शंका लागेर उक्त दिनको घटना बालिकाकी आमालाई सुनाएपछि आमा बाबुले बालिकालाई पढाउने शिक्षिकालाई बोलाएर सोध्न लगाएका थिए । त्यसपछि बालिकाले सबैं साँचो कुरा बताइन् र गुरुङले मारिदिन्छु भनेकाले डरले गर्दा भन्न नसकेको समेत बताइन् ।

Advertisement

छोरीको कुरा सुनिसकेपछि बालिकाका बाबु आफ्नी छोरीमाथि अन्याय परेको भन्दै हार गुहारका लागि गाउँतिर निस्के । खुसबहादुरकै दाजुको घरमा राति बैठक बस्यो, बैठकमा स्थानीय भद्रभलाद्मी, क्लबका अध्यक्ष, टोलका अध्यक्ष लगायतले गाउँको कुरा गाउँमै मिलाउन दबाब दिए । खुसबहादुरले पनि घटना भएको स्वीकार्दै १० हजार रुपैंया तिर्न तयार भए । उक्त रकम गाउँ कोषमा राख्ने प्रस्ताव बैंठकमा नेपाली कांग्रेसका स्थानीय नेता ओमप्रकाश गुरुङले सुनाए । बैठकमा पीडितका तर्फबाट एक्लै बसेका बालिकाका बाबुले आफ्ना मान्छे कोही नभएको र उनीहरुको कुरा नमानेदेखि जे पनि गर्न सक्लान् भन्ने डरले सबै कुरा हुन्छ हुन्छ भनेर राति १ बजे घर फर्केको बताए ।

न्याय पाइन्छ कि भनेर हार गुहार गर्न गएका बालिकाका बाबुलाई १० हजार रुपैयाँमा गाउँमै मिल्न भनिएपछि उनले असह्य पीडा महसुस गरे । वैशाख २६ गते ९ महिने छोरो र छोरीलाई लिएर पोखरा झरे अनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरे । ‘मेरो छोरीको जिन्दगी १० हजारको त हैन नि, कुखुरा बाख्रा त हैन, पैसामा बिकेजस्तो हुनेभयो, मेरो छोरीले न्याय पाउने भइनन्, त्योभन्दा प्रहरीकोमा न्याय पाइन्छ कि भनेर उजुर गरें,’ बालिकाकी आमाले भनिन् । उजुरी परेको ३ दिनपछि प्रहरीले खुसबहादुरलाई पक्राउ गरेको हो ।

बालिकामाथि बलात्कार प्रयास गर्ने खुसबहादुर पक्राउ परे पनि आफूहरु गाउँ फर्कने अवस्था नभएको उनका बाबुआमा बताउँछन । ‘गाउँमा आफ्ना मान्छे थोरै छन, आफ्नो घर पनि छैन, गुरुङ समुदायको बाक्लो वस्ती छ, उनीहरुकै पुरानो घरमा बसिरहेका थियौं, केही गर्छन कि भन्ने डर लाग्छ,’ उनीहरुले भने । ज्याला मजदुरी गरेर दैनिकी चलाने उनीहरुले लकडाउनले गर्दा काम पनि गर्न पाएका छैनन् । आफन्तकोमा शरण लिएर बसेका छन् । सधैं यहिँ बस्ने अवस्था पनि छैन । उनीहरुमा चिन्तामाथि झनै चिन्ता थपिएको छ ।

छोरीमाथि भएको घटनाले पीडा भइरहेका बेला घरिघरि कहिले प्रहरी हुँ भन्दै कहिले पत्रकार हुँ भन्दै नयाँ नयाँ नम्बरहरबाट फोन आउने गरेको उनीहरु बताउँछन । कहाँ छौं भेट्नुपर्‍यो, गाउँको कुरा गाउँमै मिलाऔं भन्छन, झन डर पो लाग्छ, हामी बसेको ठाउँ समाचारमा नभनीदिनुहोला उनीहरुले आफूहरुमा रहेको त्रास व्यक्त गरे ।

घटनाका विषयमा मादी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष यामबहादुर गुरुङले पीडित पक्षले प्रहरीकोमा उजुरी दिएपछि मात्रै आफूलाई जानकारी भएको र पीडित जोसुकै भए पनि कारवाही हुनुपर्ने बताए । यस्तै घटनालाई गाउँ मिलाउन दबाब दिएका ओमप्रकाश गुरुङले २ पक्षबीच सहमति हुन्छ भने गाउँको चलन अनुसार मिलाऔं भनेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया