फौजी किराको समस्याले पर्वतका किसान चिन्तित

पर्वत, ११ जेठ
जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पुर्याएको हो ।
मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पुर्याउन थालेको स्थानीय कृषकले बताएका छन् । पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताए ।
किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको उनले जानकारी दिए । कृषक आचार्यका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यान गाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको जानकारी दिए । ‘मकैमा अहिले संक्रमण बढिरहेको छ । कृषि प्राविधिकसँग बुझ्दा फौजी किराको प्रभाव भएको बुझियो,’ उनले भने ।
जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा रहेको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए ।
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले जानकारी दिए । बिहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा फौजी किराले असर पुर्याएको छ ।
स्थानीय कृषक दीपक भुसालले यसको रोकथाम गर्न गाउँपालिका र कृषिसम्बन्धी निकायलाई अनुरोध गरिएको सुनाए । ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिने काम भइरहेको बताए ।
कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो । गत वर्ष अरु ठाउँमा रोग नदेखिए पनि यस वर्ष ठूलो क्षेत्रमा रोग देखिएकाले कृषकसँगै कृषि प्राविधिकसमेत चिन्तामा परेका छन् । रासस









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया