फौजी किराको समस्याले पर्वतका किसान चिन्तित

समाधान संवाददाता २०७७ जेठ १२ गते १०:४४

पर्वत, ११ जेठ

जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको हो ।

मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पुर्‍याउन थालेको स्थानीय कृषकले बताएका छन् । पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताए ।

Advertisement

किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको उनले जानकारी दिए । कृषक आचार्यका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यान गाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको जानकारी दिए । ‘मकैमा अहिले संक्रमण बढिरहेको छ । कृषि प्राविधिकसँग बुझ्दा फौजी किराको प्रभाव भएको बुझियो,’ उनले भने ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा रहेको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए ।

Advertisement

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले जानकारी दिए । बिहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा फौजी किराले असर पुर्‍याएको छ ।

स्थानीय कृषक दीपक भुसालले यसको रोकथाम गर्न गाउँपालिका र कृषिसम्बन्धी निकायलाई अनुरोध गरिएको सुनाए । ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिने काम भइरहेको बताए ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो । गत वर्ष अरु ठाउँमा रोग नदेखिए पनि यस वर्ष ठूलो क्षेत्रमा रोग देखिएकाले कृषकसँगै कृषि प्राविधिकसमेत चिन्तामा परेका छन् । रासस

तपाईको प्रतिक्रिया