पोखराकाे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम

समाधान संवाददाता २०७७ जेठ १३ गते ६:२४

कृष्णमणि बराल
पाेखरा

लकडाउनको बेलामा पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण निरन्तर भइरहेको छ ।

पर्यटकीय सहर पोखरालाई विश्वका अन्य सहर संग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलमा २ सय ५० चिनियाँ र एक सय नेपाली गरेर ३ सय ५० जनाले लकडाउनको अवधीमा पनि निरन्तर काममा खटिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए ।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतीका बारेमा जानकारी दिँदै आयोजना प्रमुख मुनंकर्मीले ५८ प्रतिशत काम सकिएको बताए । अहिले टर्मिनल बिल्डिङ, टावरको फिनिसिङको काम अन्तर्गत सिसा राख्ने, टायल राख्ने लगायतका काम भइरहेको उनले जानकारी दिए ।

यसैगरी खानेपानीको काम, ढल निकासको काम लगायतका काम पनि भइरहेको उनले बताए । २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाई रहेको रन वेको सिमेन्टेड ढलान यस अघि नै सकिएको छ । नेपाली लेबर कम भएकोले अहिले चट्टानको र फिल्डिङको काम भने रोकिएको उनले बताए ।

Advertisement

कोरोनाका भाइरसका कारण भारत र चीनबाट आउनुपर्ने आवश्यक निर्माण सामग्री सहजरुपमा आउन नसक्नु र नेपाली मजदुर पनि आवश्यकता अनुसार उपलब्ध नहुनुले लकडाउनको समयमा काम भइरहे पनि जुन रफ्तारमा हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको बताइएको छ ।

यसैले यसअघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय सिमाभन्दा ६ महिना अघि सक्ने लक्ष्यका साथ काम भए पनि त्यो टार्गेट पूरा नहुने आयोजना प्रमुखले मुनंकर्मीले बताए।

अहिले चीनको केरुङ नाकामा डेकोरेसनलगायतका आवश्यक सामग्री रहेको र भारतको कोलकत्ता बन्दरगाहामा विद्युत लगायतका निर्माण सामग्री रहेको उनले बताए ।

अहिले ३ महिनाअघि ल्याइएकै सामानले काम भइरहेकोले अवको एक महिना भित्र भारत र चीनमा अड्केका आवश्यक सामग्री ल्याउन नसके १ महिना पछि काम नै रोकिने अवस्था रहेको उनले बताए । अहिलेलाई सबै किसिमका समग्री नभए पनि १ महिना सम्मका लागि काम गर्न पुग्ने सामग्री रहको उनले सुनाए ।

लकडाउनले हामीलाई कुनै असर गरेको छैन । भित्रका मजदुर बाहिर जाँदैनन । बाहिरको भित्र आउन पाउँदैनन यसरी लकडाउनमा पनि काम गरिरहेको उनले सुनाए । तर भारत र चीनबाट आउनुपर्ने निर्माण सामग्री रोकिन भएन उनले भने ।

यति मात्र भएमा तोकिएको सिमाभन्दा ६ महिना अघि काम नसके पनि तोकिएकै समय सिमा भित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने उनले बताए । चीनबाट आउनु पर्ने निर्माण सामग्री तातोपानी नाकाबाट ल्याउन सकेमा काम नरोकिने पनि उनले सुनाए । अहिले भारतबाट आउने पर्ने सिमेन्ट पनि नआउँदा विमानस्थल जाने मुख्य सडकको डलानका काम गर्दा गर्दौ रोकिएको बताइएको छ ।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सिमाभन्दा ६ महिना अघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो । पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीइलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ । अन्नपूर्ण पाेस्ट डटकमबाट

तपाईको प्रतिक्रिया