कर तिर्न सरकारले दिएको अल्टिमेटम पोखराका होटलले नमान्ने

पोखरा, २१ जेठ
लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजस्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।
लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन नपाइने यथार्थलाई ख्याल नगरी विभागले एक हप्ते अल्टिमेटम दिएर जेठ २५ भित्र कर तिर्न आह्वान गर्नु आश्चर्यजनक भएको संघका अध्यक्ष विकल तुलाचनले बताए ।
“व्यापार पनि छैन, आम्दानी पनि छैन,” अध्यक्ष तुलाचनले भने अहिले होटलकर्मीसँग पैसा नै नभएको समयमा कर तिर्न असमर्थ छौं ।
व्यवसायीहरु कर तिर्न तयार रहेको तर यसका लागि थप समय र राहात दिइनुपर्ने भनाई संघको छ । अर्थ मन्त्रालयले लकडाउनको समयमा करको कुरा ल्याएर व्यवसायी तर्साउने काम गरेको अध्यक्ष तुलाचनले बताए ।
सरकारले राहात उपलब्ध गराउनुपर्ने बेलामा कर नतिरे शुल्क, थप दस्तुर, ब्याज र जरिवाना लाग्ने भनेर व्यवसायी तर्साउनु अव्यहारिक भएको संघको भनाई छ ।
अर्को तर्फ आगामी आर्थिक बर्षको बजेटले समेत होटलकर्मीका समस्या संवोधन गर्न नसकेको संघले बताएको छ । व्यवसायीको अपेक्षा अनुसार नयाँ बजेट आउन नसकेको र सहुलियत दरको ब्याजमा ऋण लिएर कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन सक्ने अवस्थामा पनि व्यवसायी नभएको उनले बताए ।
विद्युत महसुल, घर भाडा, बैंकको किस्ता र ब्याजका समबन्धमा व्यवसायीले यसअघि राखेका माग नयाँ बजेटले संवोधन गर्न नसकेको संघले जनाएको छ । यस्तै हो भने अब होटल व्यवसाय सदाका लागि बन्द गर्नुको विकल्प छैन’ अध्यक्ष तुलाचनले भनेका छन् ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिसँगै ११ चैतदेखि लागू लकडाउन पछि सबैजसो कारोबार ठप्पप्रायः छन् । सरकारले ४४ प्रकारका उद्योग व्यवसाय खोल्न अनुमति दिए पनि यस अन्तर्गत होटल क्षेत्र परेको छैन ।
यस्तो अवस्थामा सरकारले आर्थिक उत्थानका कार्यक्रम ल्याउन नसकेको संघले जनाएको छ । कार्यालय गएर कर तिर्न सक्ने वातावरण नभएको र अनलाइन प्रणाली पनि उति भरपर्दो नभएको अवस्था छ ।
तपाईको प्रतिक्रिया