भैरहवाबाट ट्याक्सीमा पोखरा आएका थिए कोरोना संक्रमित

समाधान संवाददाता २०७७ जेठ २४ गते १७:२९

अनुप पौडेल
पोखरा, २४ जेठ

पोखराका ५९ वर्षीय कोरोना संक्रमित भैरहवाबाट ट्याक्सी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । महानगरको जाल्पारोडस्थित लेकसिटी हस्पिटलको क्वारेन्टाइनमा बसेका पोखरा–२७ का ती पुरुषमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

दिल्लीबाट भैरहवा नाकामा आएका ती संक्रमितले त्यहाँबाट ट्याक्सी रिजर्भ गरेर अरु १ जनालाई लिएर पोखरा आएको महानगरको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनी क्वारेन्टाइनमा अरु ३ जनासँग बसेका छन् ।

Advertisement

ती ३ जनामध्ये २ जना हैदरावादबाट सोही नाका हुँदै जेठ १८ गते नै पोखरा आएका हुन् । बाँकी १ जना भने वृन्दावनबाट भैरहवासम्म छुट्टाछुट्टै र त्यहाँबाट एउटै ट्याक्सीमा पोखरा आएका हुन् । संक्रमितसँगै बसेका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए । आचार्यले भने, ‘जेठ १९ गते स्वाब संकलन गर्दा उहाँहरुको नेगेटिभ आयो । ४ जना सँगै बसेकाले फेरि स्वाब परीक्षण गर्दैछौं ।’

शनिबार संक्रमण पुष्टि भएका ती पुरुष पोखराका दोस्रो संक्रमित हुन् । यसअघि काठमाडौंमा उपचाररच पोखरा ८ का ६० वर्षका पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

Advertisement

डेरामै बेहोस भेटिएपछि हेलिकोप्टरमार्फत पोखराको निजी अस्पतालमा सामान्य उपचार गरेर काठमाडौं लगिएको थियो । काठमाडौं लगिएका ती पुरुषले पोखराका हाइप्रोफाइलसँग सम्पर्कमा आएको सार्वजनिक भएको छ ।

सम्पर्कमा आएकाको खोजी भइरहेको र सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्य महाशाखा अधिकृत आचार्यले जानकारी दिए । पोखराका २ संक्रमितसहित कास्की जिल्लाभर ४ जनामा संक्रमण देखिएको छ ।

अरु २ संक्रमित रुपा गाउँपालिकाका हंसपुर घर भएका ३२ र २३ वर्षे युवा हुन् । उनीहरु ३ दिन पहिले भारतको हैदराबादबाट गाउँ आएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

शनिबार संक्रमण पुष्टि भएका तीनै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित समाचार

कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !

पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल

संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल

तपाईको प्रतिक्रिया