गण्डकीमा प्राविधिक शिक्षा तथा तालिम प्रतिष्ठान खाेल्ने बाटाे खुल्याे

समाधान संवाददाता २०७७ जेठ २६ गते ६:२३

समाधान संवाददाता
पोखरा, २६ जेठ


गण्डकी प्रवाधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन विधेयक आइतबार पारित भएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले पारित गर्न राखेको प्रस्ताव बहुमतले पास गरेको हो । उक्त विधेयकको केही प्रावधानमा फरक मत राखेको कांग्रेस विधेयकको विपक्षमा रह्यो ।

शुक्रबार विधायन समितिबाट संशोधन र प्रतिवेदनसहित प्रस्तुत भएपछि सोही दिन बैठकमा छलफल समेत भएको थियो । छलफलमा उठेका विषयमा उत्तर दिँदै सामाजिक विकास मन्त्री पुन मगरले सबैको साझा उद्देश्य प्रदेशलाई समृद्ध बनाउनु रहे पनि उद्देश्य प्राप्तिमा देखिएका चुनौती सामना गर्न यो विधेयक आवश्यक रहेको बताइन् ।

Advertisement

लकडाउनले बेरोजगारी समस्या बढाएको, बजारको माग अनुसार जनशक्ति उत्पादन हुन नसकेको अवस्थामा अब आफ्नै पाठ्यक्रम बनाएर कोर्ष बनाउने उनले बताइन् । उनले भनिन्, ‘प्रदेशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने विधेयकको उद्देश्य हो, यो कोर्स लिएकाहरु बाहिर गए पनि दोब्बर तेब्बर आम्दानी गर्ने अवसर उनीहरुले पाउनुहुनेछ ।’

विधेयकमा संरक्षकमा मुख्यमन्त्रीलाई किन राखियो भन्ने प्रश्नमा उनले यति महत्वपूर्ण विषय भएकाले मुख्यमन्त्रीको अभिभावकत्व आवश्यक ठानिएको बताइन् । सम्बन्धित प्रतिष्ठानको सभामा रहने भएकाले मन्त्री दोहोरो जिम्मेवारीमा नबस्ने भनेर यसो गरिएको उनको जवाफ थियो ।

Advertisement

मुख्यमन्त्रीलाई संरक्षकमा राखिएकोमा कांग्रेसले विरोध गर्दै विधायन समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेको छ ।’
अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्तिलाई मनोनीति गर्ने विषयलाई नियमावलीमा प्रस्ट गरिने उनले बताइन् । उनले भनिन्, ‘गैरआवासीय नागरिकलाई इंगित गरेको हो । गण्डकी विश्वविद्यालयमा जीत जोशीजस्ता एनआरएनलाई सहभागी गरेका छौं, त्यस्तै जनशक्तिको प्रयोग हामीले गर्न खोजेको हो । उत्पादित जनशक्तिलाई सिधै बजारसँग जोड्न उद्योग वाणिज्य संघको अध्यक्ष र निजले तोकेको व्यक्ति प्रतिषठनको सभामा राख्ने व्यवस्था गरिएको उनले बताएन् ।

यसैगरी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयकमाथि आइतबार छलफल सुरु भएको छ । गत शुक्रबार विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले प्रतिवेदनसहित बैठकमा पेस गरेका थिए ।

माघ ७ मा संसदमा प्रस्तुत उक्त विधेयक १२ गते दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो । माघ १४ र ३० गते, चैत ७ गते, जेठ १८ र २२ गते बैठक बसेर संशोधनसहित प्रदेश सभाको बैठकमा विधेयक प्रस्तुत गरिएको सभापति रेग्मीले बताए । कांग्रेस सांसद प्रकाशचन्द्र दवाडी प्रस्तावक र भगवतप्रकाश मल्ल समर्थक रहेर पेस गरेको संशोधन प्रस्ताव समावेश गरेर विधेयक प्रतिवेदनसहित बैठकमा पेस भएको हो ।


आइतबारको छलफलमा सांसदहरु दीपक कोइराला, सरीता गुरुङ, मधुमाया अधिकारी गुरुङ, बिन्दुकुमार थापा, रोशन गाहामगरले भाग लिएका थिए । अर्को बैठक सोमबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया