रुपाको क्वारेन्टिनमा बसेकाको इम्युनिटी बढाउन आयुर्वेद औषधि

समाधान संवाददाता २०७७ जेठ २६ गते १९:४८

समाधान संवाददाता

कास्कीको रुपा गाउँपालिका ७ स्थित रामकोट मावि क्वारेन्टिनमा बसेका ३० जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझालाई क्वारेन्टिनमै पुगी पोखरास्थित कुशुम कृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्ण राउतले विभिन्न प्रकारका औषधि उपलब्ध गराएका हुन् ।

त्यहीँ क्वारेन्टिनमा बसेका २ जनालाई शनिबार कोरोना पुष्टि भएको थियो । उनीहरु पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत छन् । रुपाको क्वारेन्टिनमा अहिले ३० जना रहेको र उनीहरु विभिन्न मितिमा भारतबाट आएको अध्यक्ष ओझाले जानकारी दिए ।

Advertisement

क्वारेन्टिनमा रहने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधिले योगदान पुर्याउने हुँदा निशुल्क वितरण गरिएको राउतले बताए । अश्व गन्धा चूर्ण, आमलकी चूर्ण, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, तुलसी चिया, त्रिकटु चूर्ण र च्यावनप्रास उपलब्ध गराएको उनले जनाए ।

गाउँपालिकाले आयुर्वेद चिकित्सालाई महत्व दिँदै नीति तथा कार्यक्रममै सामुदायिक जंगलमा त्रिफला (हर्रो, बर्रो र अमला) रोप्ने योजना ल्याएको सुनाए । ‘कोरोना विरुद्धको लडाइमा उपचार वा खोप तयार नभइसकेको अवस्थामा पनि आयुर्वेद औषधि प्रयोग गर्न सकिने सुझाव आएका छन्,’ उनले भने, ‘एलोप्याथिक सरह साइड इफेक्ट पनि नगर्ने हुँदा आयुर्वेद औषधिको सेवन गर्न र घर वरीपरी रहेका औषधिय गुण भएका जडिबुटीहरु प्रयोग गरेर रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास छ ।’

Advertisement

प्राप्त औषधि स्वास्थ्यकर्मीको सहकार्यमा प्रयोगमा ल्याइने अध्यक्ष ओझाले जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई श्रव्यदृश्य सामग्री मार्फत आत्मबल बढाउने प्रयास गरिएको उनले बताए । उनीहरुलाई खाजा र खाना दैनिक ४ पटक उपलब्ध गराइएको अध्यक्ष ओझाले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको प्रयोग गर्न सुझाव दिएको छ ।

विभिन्न जिल्लामा संक्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य कोरोना जित्न सक्ने बनाउन आयुर्वेद औषधि उपयुक्त रहने विश्वासका साथ वितरण गरिरहेको कृष्ण राउतको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य दर्पण, पपुलर आयुर्वेद सेन्टर, नेचर केयर होम प्रालिको संयोकत्व गर्दै संलग्न कृष्ण राउतको सक्रियतामा प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्लाहरु बागलुङ, म्याग्दी, स्याङ्जा, तनहुँ, पर्वतमा औषधि वितरण भइसकेको छ । केहीदिन भित्रै नवलपुरमा आयुर्वेद औषधि वितरण गर्ने कार्यक्रम तय भएको उनले बताए ।

तपाईको प्रतिक्रिया