बाइक किनेको खुसियालीमा पार्टी दिने अमितकाे मृत्यु, हत्याकाे आशंकामा ४ साथी पक्राउ

समाधान संवाददाता २०७७ जेठ ३२ गते १८:१५

समाधान संवाददाता, पोखरा

पोखरा ३३ बाघमारा चौरमा शनिबार राति १ व्यक्ति मृत फेला परेका छन् । पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको शव फेला परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

अमितले मोटरसाइकल (बाइक) किनेको खुसीमा आफ्ना निकटतम साथीलाई पार्टी दिन बाघमारा चौरमा भेला गराएका थिए ।

Advertisement

अनुसन्धानमा खटिएका १ प्रहरी अधिकृतका अनुसार चौरमा पार्टी दिन रक्सी, चाउचाउ लगायतका खानेकुरा लिएर अमितसहित ५ जना भेला भए ।

जेठ ३१ गते शनिबार राति ९ बजे उनीहरु भेला भएर रक्सी खान थाले । रक्सी खाँदै जाने क्रममा मदिराले मात्तिएपछि साथीबीच विवाद बढेर हत्याको रुप लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

जेठ ३२ गते आइतबार बिहानपख ३ बजे अमित हराएको सूचना पार्टीमा संलग्न साथीहरुबाट प्रहरी कन्ट्रोल रुममा पुगेको थियो ।

खोजतलास गर्दा अमितको शव पोखरा ३२ स्थित सेती नदी खोंचमा फेला परेको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले अमितको शव बिहान ७ बजे फेला पारेको हो ।

‘घटनाको वस्तुस्थिति हेर्दा रक्सी खाँदै गएपछि विवाद भएको हुनसक्छ । विवादको रुप बढ्दै गएपछि साथीहरुले नै उनीमाथि प्रहार गरेको हुनुपर्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले भने ।

यद्यपि अनुसन्धानकै क्रममा भएकाले प्रहरीले पक्राउ गरेको अमितका ४ साथीको परिचय खोलेको छैन ।

शव पोस्र्टमाटमका लागि आइतबार बिहानै पठाइएको छ । टाउकोमा चोट देखिएको प्रहरी स्रोतको भनाई छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

याे समाचारकाे सुरुकाे शीर्षकमा केही असावधानी भएकाेमा क्षमा माग्दछाै‌–समाधान

तपाईको प्रतिक्रिया