हिमाली क्षेत्रमा कस्तुरी फार्म स्थापना गर्न १ करोड ५० लाख

समाधान संवाददाता २०७७ असार १ गते १९:५०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको आव २०७७/०७८ को बजेटमा हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण तथा प्रजनन फार्म स्थापना गर्ने कार्यक्रम समावेश गरिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममै समेटिएको उक्त बुँदालाई बजेटमा प्राथमिकता दिइएको हो । फार्म स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न १ करोड ५० लाख विनियोजन गरिएको अर्थमन्त्री गुरुङले सुनाए ।

Advertisement

प्रदेश सरकारले आगामी वर्ष पनि पोखरा महानगर ३१ स्थित पचभैया प्राणी उद्यान र वन्यजन्तु उद्दार केन्द्रका लागि बजेटमा निरन्तरता दिने भएको छ ।

प्रदेशका सबै जिल्लाहरुमा समस्याग्रस्त वन्यजन्तुको उद्दार, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वासस्थान सुधार, तारवार र विद्यालय केन्द्रित संरक्षण शिक्षाका लागि बजेट विनियोजन भएको अर्थमन्त्रीले वक्तव्यका क्रममा सुनाए ।

Advertisement

धौलागिरी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य थाल्न बजेटमा सम्बोधन गरिएको छ ।
सरकारले हरियाली प्रवद्र्धन कार्यक्रमका लागि बजेट व्यवस्था गर्ने भएको छ ।

पञ्चासेमा सुनाखरी पार्क, पोखरामा विश्व शान्ति जैविक विविधता उद्यान, घोरेपानीमा गुराँस पार्क, भिमादमा वनस्पति तथा पन्छि उद्यान, विद्यालय वृक्षरोपण तथा हरित उद्यान बनाइने भएको बजेटमा उल्लेख छ ।

वनस्पति उद्यान, प्राणी उद्यान, हाइटेक वन नर्सरी स्थापना, वृक्षरोपण तथा संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

तपाईको प्रतिक्रिया