कुश्माका युवकलाई मणिपालबाट कोरोना नसरेको पुष्टि

समाधान संवाददाता २०७७ असार २ गते ११:५७

समाधान संवाददाता
पोखरा, २ असार

मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहँदा कोरोना पुष्टि भएका पर्वतका युवामा अस्पतलबाट कोरोना नसरेको पुष्टि भएको छ । कुश्मा–३ का ३५ वर्षे ती युवकको उपचारमा खटिएका सबैको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट कोरोना नसरेको पुष्टि भएको हो ।

मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका लागि पोखरा ल्याइएका उनको उपचारमा संलग्न ७६ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सिइओ एवं प्राचार्य डा. डिसी अग्रवालले जानकारी दिए ।

Advertisement

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाटै कोरोना सरेको अनुमान गरिएको थियो । २१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा ल्याइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो ।

यो पनि – बाइक दुर्घटना भएपछि उपचार गर्न पोखरा आएका थिए कुश्माका संक्रमित

Advertisement

सिइओ अग्रवालले भने, ‘संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइकर्मी लगायत ७६ जनाको स्वाब पठाएका थियौं । सबैको नेगेटिभ आयो तर उहाँहरु क्वारेन्टाइनमा हुनुहुन्छ ।’

संक्रमितको टाउकोमा चोट लागेको र जीवन रक्षक शल्यक्रिया गर्दा अस्पतालको न्यूरोसर्जरी टिमले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएको सिइओ अग्रवालले बताए ।

संक्रमितको हाडजोर्नी सम्बन्धी शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्न २५ जेठमा स्वाब परक्षिणका लागि पठाइएकोमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

कोरोना संक्रमण हुन नदिन पूर्ण सुरक्षा सतर्कता अपनाएको र संक्रमित भेटिएपछि न्यूरो आइसियू वार्डलाई सेनिटाइज गरेर मात्र सेवा सूचारु गरिएको अस्पतालले जनाएको छ । संक्रमितको उपचारमा खटिएको टोलीको विकल्पमा बनाइएको अर्को टोलीले अन्य बिरामीलाईसेवा दिइरहेको छ ।

अस्पताल प्रवेश गर्दा नै हात धुने, स्यानिटाइज गर्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । साथै अस्पतालको मुख्य प्रवेश द्वारमा फिभर क्लिनिक, कोभिड क्लिनिक सञ्चालन गरिएको, बिरामीको वर्गिकरण गरेर सम्बन्धित वाडमा पठाउने गरिएको सिइओ अग्रवालले जानकारी दिए ।

अस्पतालले कुरुवा पासको व्यवस्था गरेर बिरामीसँग एक जना मात्र कुरुवा बस्न पाउने व्यवस्था गरेको छ । ‘बिरामीसँग एक जना मात्र बस्ने गरी पास बनाएका छौं । साथै बिरामी र कुरुवा बस्ने ठाउँलाई दैनिक डिसइन्फेक्सन गरिँदै आएको छ,’ सिइओ अग्रवालले भने ।

तपाईको प्रतिक्रिया