कसैको दबाबमा परिनँ, गन्यमान्यलाई पनि छोडिनँ : एसपी कार्की

समाधान संवाददाता २०७७ असार ७ गते १६:१३

ईश्वर देवकोटा, पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीबाट हालै सरुवा भई प्रहरी प्रधान कार्यालय जान लागेका एसपी दानबहादुर कार्कीले समग्रमा १ वर्षे जिल्लाको कार्यकालमा आफू सन्तुष्ट रहेको बताएका छन् ।

सोमबार काठमाडौं प्रस्थान गर्नुपूर्व भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी जिम्मेवारी सम्हालेको अवधिमा भएका मुख्य कामको फेहरिस्त सुनाए ।

Advertisement

केही नयाँ कामको थालनी र अभ्यासले कास्की प्रहरीको प्रमुख भइरहँदा सन्तोषजनक रुपमा काम गरेको उनको भनाई छ । ‘मैले कस्तो गरे भन्ने कुराको मूल्यांकनकर्ता तपाईंहरु (पत्रकार) पनि हो । एक्लै प्रहरी अधिकृतले काम गर्दैन । केन्द्रदेखि स्थानीय निकायसम्मको निर्देशन र समन्वयमा कार्यसम्पादन गरिरहेको हुन्छ,’ उनले भने, ‘कास्कीमा काम गर्दा कसैको दबाब र प्रभावमा काम गरिनँ ।’ कानुनको पालनाका क्रममा सबै नागरिकलाई बराबरी व्यवहार गरेको उनले सुनाए । उनले भने, ‘सामान्यदेखि गन्यमान्यलाई पनि कानुनी दायरामा ल्याइयो ।’

प्रहरीको महत्वपूर्ण जिम्मेवारी नागरिकको शान्ति सुरक्षामा रहने हुँदा त्यसमै केन्द्रित रहेर काम भएको एसपी कार्कीले बताए । प्रहरीले गलत गरेको हकमा समेत कारबाहीको दायरामा ल्याई संगठनभित्र शुद्धीकरण गरिएको उनको भनाइ थियो । ‘सज्जन प्रहरी कर्मचारीको मनोबल उच्च रहोस् । गलत गर्नेलाई पनि सुधारोन्मुख गर्न सकियोस् भनेर शुद्धीकरणको अभ्यास थाल्यौं,’ उनले भने ।

Advertisement

थुप्रै गर्न सक्छु भन्ने लागेको भएपनि केही काम भने अझै बाँकी रहेको उनले अनुभव सुनाए । उनले थपे, ‘पेसागत सीमाहरु पनि छन् । काम गर्ने क्रममा जहिल्यै त्यस्तो लागिरहन्छ । अझै धेरै गर्न सकिन्थ्यो कि भन्ने ममा पनि लाग्छ । तर समग्रमा मैले जति समय यहाँ काम गरे सन्तुष्ट नै छु ।’
कार्यकाल अवधिमा नागरिकप्रति जिम्मेवार रहँदै गुनासो सुनेको न्यूनतम समयमै प्रहरीको उपस्थिति रहन ‘रेस्पोन्स टाइम’लाई घटाउने प्रयन्त गरेको एसपी कार्कीले बताए । घटनाका पीडितलाई भेटघाट गर्ने कार्यक्रम प्रभावकारी देखिएको उनले सुनाए । ‘पीडकलाई छुटाउन कार्यालयमा लावालस्कर लाग्छ तर, पीडितलाई भेट्न कोही जादैँनन् । त्यसैले हामीले पीडित भेटघाट कार्यक्रम बनाएर तालिका अनुसार लागु ग¥यौं,’ उनले भने ।

कार्यरत प्रहरी कर्मचारीको व्यवस्थापनमा समेत काम भएको उनले बताए । दिनरात सुरक्षामा खटिने कर्मचारीलाई कम्तीमा ओछ्यानमा सम्म सुताउन भवन निर्माणको काम थालिएको बताए ।

उनी काठमाडौं गएलगत्तै कास्की प्रहरी प्रमुखमा एसपी जीवन श्रेष्ठ आउँदै छन् । नयाँ आउने प्रमुख संगठनभित्र प्रोफेसनल प्रहरी अधिकृतको छवि बनाएकाले राम्रो नतिजा दिनेमा आफू विश्वस्त रहेको कार्कीले सुनाए । केही प्रतिनिधि घटनामा अझै सुधार गर्नुपर्ने भएकाले नयाँ प्रमुखलाई आफूले सुझावको रुपमा बताउने एसपी कार्कीले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया