घरपझोङ गाउँपालिका मुस्ताङको नीति तथा कार्यक्रमको पूर्ण पाठ

समाधान संवाददाता २०७७ असार ८ गते १८:२८

२०७७|०३|०८ गतेघरपझोङ गाउँपालिकाको छैटौं गाउँसभामा गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीबाट प्रस्तुत आर्थिक वर्ष २०७७|७८ को वार्षिक नीति तथा कार्यक्रम

  • विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिमायस गाउँपालिकाको छैटौं गाउँ सभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७|७८ को वार्षिक नीति तथाकार्यक्रम प्रस्तुत गर्न गईरहेकोछु । प्रथमतः यस गाउँ सभामा उपस्थित सबै गाउँ सभाका सदस्यज्यूहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
  • नेपाल लगायत विश्वका अन्य मुलुकहरूमा कोरोनाको कारणबाट ज्यान गुमाएका नेपाली तथा गैर नेपाली सबै मानव समुदायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र सबै संक्रमित विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।
  • सङ्‍घीय लोकतान्त्रिक शासन व्यवस्था बमोजिम स्थापित यस घरपझोङ गाउँपालिकाको छैटौं गाउँ सभामा आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकोछु । एवम् गाउँपालिकाको विकास निर्माणको कार्यमा सबै सदस्यज्यूहरूको अमूल्य सल्लाह तथा सुझावहरू अपेक्षित रहेको बेहोरा समेत अनुरोध गर्न चाहन्छु ।
  • यस अवसरमा सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, शसस्त्र संघर्ष एवं सामाजिक परिवर्तनका निम्तिविभिन्न समयकालमा भएका सबैखाले वलिदानीपूर्ण संघर्षमा ज्यान गुमाउनु भएका ज्ञात अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै वेपत्ताएवं पीडित नागरिकहरूमा गहिरोसहानुभूति व्यक्त गर्दछु ।
  • विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन र यदि भईहालेको खण्डमा समेत यस गाउँपालिकाका जनताहरूको उपचार, उद्धार तथा राहत समेतका कार्यहरूको लागि यस गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेष नीति लिनेछ । सो कार्यका लागि सबै प्रकारका साधन र श्रोतको कमी हुन नदिने प्रवन्ध गर्ने सम्बन्धमा सबै गाउँपालिकावासी जनताहरूलाई आश्वस्त तुल्याउन चाहन्छु ।
  • घरपझोङ गाउँपालिकाबासी जनताले गाउँपालिकालाई समृद्ध तथा विकसितबनाउने अभिभारा हामीलाई प्रदान गरेको विषयलाईआत्मसातगर्दै सो जिम्मेवारीप्रति गाउँसरकार पूर्ण प्रतिवद्ध रहेको बेहोरा यस गरिमामय सभामा दोहो-याउन चाहन्छु ।
  • यस गाउँपालिका सबै घरपझोङबासीको चाहना र आकांक्षा बमोजिम विकास निर्माणका कार्यक्रमहरू अघि बढाउन दृढ संकल्पित रहेकोछ र सोही बमोजिम कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै आइरहेको पनि छ । यो महान कार्यमा सबै स्थानीय जनता तथा गाउँसभाका सबै सदस्यहरूको साथ र सहयोगको अपेक्षा गरेकोछु ।
  • संवैधानिक व्यवस्था अनुसार गाउँसभा र स्थानीय सरकारको गठन भै संचालनमा आएको३ वर्षपूराभएकोछ । यो शासकीय प्रणालीको सवलीकरणको माध्यमबाट संविधानको पूर्ण कार्यान्वयनमा हाम्रो गाउँपालिका पूर्ण प्रतिबद्ध रहेकोछ ।
  • नेपालको संविधानले अंगीकार गरेको तीन तहको सङ्‍घीय संरचनालाई कार्यमूलक बनाउने अभिभारा स्थानीय तह र स्थानीय सरकारको सामूसमेत रहेकोछ । देशका सबै राजनीतिक दल, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारजगत लगायत सबैलाई आ-आफ्नो क्षेत्रबाट नेपालको संविधान तथा अन्य सम्बन्धित ऐन कानूनहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अपिल गर्दछु ।

अध्यक्ष महोदय,

Advertisement
  • हिमालपारीको जिल्ला मुस्ताङको मध्यभागमा अवस्थित यस गाउँपालिकाको तीव्र विकासको प्रचुर सम्भावना रहेकोछ । यस गाउँपालिकाको समग्र उन्नती र प्रगतिको लागि आगामी आर्थिक वर्ष ०७७/७८ का लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरुको प्रस्ताव गरेकोछु । 
  • गत आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू यस गाउँ सभामा पेश गर्दा विभिन्न कार्यक्रमहरूको प्रस्ताव गरिएको थियो । तर विश्वव्यापी कोरोना भाइरसको त्रासदीले गर्दा चालू आर्थिक वर्षको पछिल्ला केही महीनाहरू अपेक्षित रूपमा विकास निर्माणमा लगाउन सकिएन । जसको फलस्वरूप प्रस्तावित नीति तथा कार्यक्रमहरू समेत प्रभावित बन्न गए । त्यसै कारणले आगामी आर्थिक वर्षका लागि ती अधूरा नीति तथा कार्यक्रमहरू समेत दोहो-याएर प्रस्ताव गरेकोछु ।

आर्थिक विकास

  • यस गाउँपालिकाको आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र मध्येको एक कृषि क्षेत्र हो । यहाँको स्याउ, आलु तथा अन्य तरकारीहरू स्वदेश तथा विदेशमा समेत प्रख्यात छन् । कृषि क्षेत्रको आधुनिकीकरण गर्दै आगामी वर्ष कृषि क्षेत्रको प्रवलीकरण गर्न कार्यक्रमहरू तय गरिनेछ । खेतियोग्य जमिनमा तारबार लगाउने देखि पशुपालन व्यवसायको लागि कार्यक्रमहरू तय गरिनेछ ।
  • विद्यमान कोरोना कहरको कारणबाट विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित भएकोछ । आयात निर्यात ठप्पजस्तै छ । रोजगारीहरू गुमेका छन् । विदेशी रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स नराम्रोसँग प्रभावित बनेकोछ । अव नेपालीहरूले हाम्रै कृषि क्षेत्रबाट देशको अर्थतन्त्र चलाउनुपर्ने वाध्यकारी अवस्था सिर्जना भएकोछ ।
  • गाउँपालिका भित्र रहेका बाँझा जमिनको सदुपयोग गरी खेति लगाउनका लागि कृषकहरूलाई प्रोत्साहन गरिनेछ । कृषियोग्य जमीनहरुलाई बाँझो नरहने गरी आगामी आर्थिक वर्षबाट विशेष कार्यक्रमहरू लागू गर्ने नीति गाउँपालिकाले लिनेछ । गाउँपालिकाकै अग्रसरतामा भूमि बैंक स्थापना गरी कृषि उत्पादनलाई वृद्धि गरिनेछ ।
  • कृषि क्षेत्रको प्रवर्धनको लागि कृषि पाठशाला तथा अन्य विज्ञ परामर्श सेवाका कार्यक्रमहरू ल्याइनेछ । स्याउ खेतिको प्रवर्धनका लागि ठूलो स्केलमा स्याउ खेति गर्ने व्यक्ति तथा समूहलाई अनुदान दिने नीति लिइनेछ । बहुमूल्य हिमाली जडिबुटीको खोज, संकलन तथा प्रशोधन सम्बन्धी प्रारम्भिक अनुसन्धान गर्ने कार्यक्रम अगाडि बढाइनेछ ।
  • गाउँपालिका क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उपजहरूको सहज भण्डारण गरी तुलनात्मक रूपमा बजार मूल्य बढी हुने समयमा विक्री वितरण गर्नको लागि एक चिस्यान केन्द्र स्थापना गर्ने नीति गाउँपालिकाको रहिआएकोछ । यस सम्बन्धमा केही प्रारम्भिक कार्यहरू समेत भएकाछन् । कोरोनाको विद्यमान विश्वव्यापी संक्रमणले चालू आर्थिक वर्षमा जोमसोममा चिस्यान केन्द्र स्थापना सम्बन्धी कार्य हुन सकेन । आगामी आर्थिक वर्षमा सङ्‍घीय सरकारको समन्वयमा बैदेशिक सहायता तथा प्रदेश सरकार समेतको सहयोगमा चिस्यान केन्द्र स्थापनाको लागि गाउँपालिकाले परिणाममूखी पहल गर्नेछ ।
  • जौ, ऊवा, फापर तथा तिते फापरजस्ता रैथाने बालीहरू यस क्षेत्रका पहिचान हुन् । यस्ता रैथाने बालीहरू आजभोलि संकटापन्न अवस्थामा पुगिसकेका छन् । आगामी आर्थिक वर्षमा त्यस्ता बालीहरूको पुनरागमन गराउन कृषकहरूलाई प्रोत्साहन गरी कार्यक्रमहरू अघि बढाइनेछ ।
  • यस गाउँपालिकामा प्रचुर सम्भावना रहेको ओखर खेति गर्न कृषकहरूलाई प्रोत्साहित गरिनेछ ।
  • यस गाउँपालिकाभित्र बालीनालीमा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै लगिनेछ । प्राङ्गारिक मल तथा परम्परागत घरायसी किटनाशक औषधीको प्रयोग गरी अन्नवालीहरुको उत्पादन गर्न जोड दिइनेछ ।
  • परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गर्न तथा उत्पादनलाई अभिवृद्धि गरी कृषकहरूको जीवनस्तर सुधार्नका लागि विभिन्न कार्यक्रमहरु लागू गरिनेछ । कृषि सामग्री खरीद तथा वीउ वीजन वितरणमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।
  • लुलु गाई यस गाउँपालिकाको पहिचान हो । लुलु गाईलाई उपयुक्त तरिकाले पालनपोषण गर्दा सानो लगानीमा मनग्य दूध उत्पादन गर्न सकिन्छ । यस गाउँपालिका क्षेत्रमा पाइने लुलु गाई संरक्षणका लागि गाउँपालिकाले सबै किसानहरूलाई पैरवी समेत गरिरहेकोछ । आगामी आर्थिक वर्षहरूमा लुलु गाईपालन गर्ने किसानहरूलाई अनुदान दिने नीति लिइनेछ । पशुपालन तर्फका अन्य विभिन्न उपयोगी कार्यक्रमहरू लागू गरिनेछ ।
  • यस गाउँपालिकामा गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोग र नेपाल सरकारको  एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तर्गत उद्योग ग्राम स्थापना गर्ने सम्बन्धी प्रारम्भिक कार्य शुरू भइसकेकोछ ।आगामी आर्थिक वर्षमा सो उद्योग ग्रामको सम्भाव्यता अध्ययन पूरा गरी भौतिक संरचनाहरू निर्माण कार्य प्रारम्भ गर्ने नीति लिइनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका सबै व्यवसाय र वाणिज्य क्षेत्रका व्यवसायहरूलाई गाउँपालिकामा दर्ता गरिनेछ । सबै व्यवसायीहरूको बैज्ञानिक अभिलेख राख्ने कार्य आगामी आर्थिक वर्षको शुरूवातमा नै पूरा गरिनेछ । व्यापार व्यवसायको शुद्धतामा जोड दिँदै बजार अनुगमन कार्यलाई प्रभावकारी तुल्याइनेछ । यसै कार्यलाई सहजता गर्नको लागि गाउँ कार्यपालिकाले व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७ को मस्यौदा समेत तयार पारिसकेकोछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका सबैखाले व्यवसायीहरूलाई प्रोत्साहन गर्ने तथा सामानहरूको वैज्ञानिक मूल्य प्रणाली कायम गर्न सबै पसलहरूमा अनिवार्य मूल्यसूची राख्न लगाईनेछ ।स्थानीय उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसायीहरूको एकीकृत अभिलेख गाउँपालिकाको कार्यालयमा राखिनेछ । सो कार्यका लागि कम्प्यूटर अभिलेखन प्रणाली अवलम्वन गरिनेछ ।
  • नेपाल सरकारबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबास सम्बन्धी समस्याहरूलाई समाधान गर्न एक छुट्टै आयोग गठन गरी कार्यप्रारम्भ समेत भईसकेको छ । यस गाउँपालिका अन्तर्गत रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास सम्बन्धी विद्यमान समस्या समाधानको लागि उक्त आयोगसँग समन्वय गरिनेछ । व्यक्तिहरूका छुट जग्गा दर्ता सम्बन्धी समस्याको समाधान गर्न गाउँपालिकाले कानून बमोजिम पहल गर्नेछ ।

अध्यक्ष महोदय

Advertisement
  • घरपझोङ गाउँपालिकाको विकासको मुख्य आधार मध्येको एक पूर्वाधार पर्यटन व्यवसाय नै हो ।विद्यमान कोभिड १९ को संक्रमणको जोखिमले पर्यटन व्यवसाय धरासाही बनेकोछ । यस विषयमा गाउँपालिका चिन्तित रहेकोछ । कोभिड १९ को जोखिम न्यून भई जनजीवन सामान्य बनेपछि गाउँपालिकाको पर्यटन व्यवसायलाई उकास्नको लागि गाउँपालिकाले योजनाहरू ल्याउनेछ । गाउँपालिकाका सबै होटलहरू तथा होमस्टेहरूको सञ्जालिकृत वेबसाइट आगामी आर्थिक वर्षबाट शुरू गरिनेछ ।
  • यस गाउँपालिका क्षेत्रभित्र रहेका महत्त्वपूर्ण प्राचीन धरोहरहरू तथा धार्मिक र साँस्कृतिक महत्त्वका क्षेत्रहरूको पहिचान गरी प्रदेश सरकारको पुरातात्विक महत्त्वको प्रोफाइलमा सूचिकृत गर्ने कार्य गाउँपालिकाले शुरू गरिसकेकोछ । सो कार्य आगामी आर्थिक वर्षमा पूरा गरिनेछ । जसले गर्दा यस गाउँपालिकाका पुरातात्विक महत्त्वका धरोहरहरूको प्रचार प्रसार हुनेछ ।
  • नेपाल पर्यटन बोर्डको समेत संलग्नतामा होटल व्यवसायको वैज्ञानिकीकरण तथा प्रवर्द्धनको लागि कार्यक्रमहरू तय गरिनेछ । कोरोना संक्रमण नियन्त्रणमा आएपश्चात त्यस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ लागू गरिनेछ ।
  • आगामी आर्थिक वर्षमा जोमसोममा पर्यटन सूचना केन्द्र स्थापनाको लागि कार्यहरू अघि बढाइनेछ । यस कार्यमा नेपाल पर्यटन बोर्ड तथा अन्य संघ संस्थाको सहयोग लिइनेछ ।
  • यस गाउँपालिकामाहोमस्टे सञ्चालनमा जोड दिइनेछ । होमस्टे स्थापना तथा प्रवर्धनका लागि सहयोग मिल्नेगरी सम्बन्धित व्यवसायीहरूलाई तालीम तथा अध्ययनको व्यवस्था मिलाइनेछ । होमस्टेमा स्थानीय परिकार तथा रहनसहन र संस्कृतिको प्रस्तुति गर्न व्यवसायीहरूलाई प्रेरित गरिनेछ । स्थानीय थकाली परिकारहरूको प्रचार प्रसार गरिनेछ । होमस्टेहरूमा स्थानीय साँस्कृतिक कार्यक्रमबाट पाहुनाहरूको स्वागत गर्ने व्यवस्था मिलाउन सञ्चालकहरूलाई प्रशिक्षित गर्ने नीति लिइनेछ ।
  • मिनी मुस्ताङ परियोजना यस गाउँपालिका र देशकै लागि नौलो र महत्त्वपूर्ण परियोजना हो । यो परियोजना गाउँपालिकाले गौरवको आयोजनामा सुचीकृत गरिसकेकोछ ।  यस परियोजनाको निर्माणका लागि प्रारम्भिक भौतिक निर्माणको कार्य शुरू भइसकेकोछ । यो परियोजनाको निर्माणको लागि गाउँपालिकाले उल्लेख्य  कार्यक्रमहरू ल्याउनेछ। आगामी आर्थिक वर्षमा पनि प्रदेश सरकार र सङ्‍घीय सरकारबाट यस परियोजनामा बजेट व्यवस्थापनका लागि एकीकृत पहल गरिनेछ ।
  • ढुम्वा ताल, मार्फा गाउँ,याकखर्क, छैरो गाउँ, चिमाङ गाउँ, ठिनी गाउँ तथा स्याङ गाउँहरूको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार गर्ने विभिन्न कार्यहरूले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउनेछन् । समग्र घरपझोङ गाउँपालिकाको तथ्याङ्क सहितको घरपझोङ फ्याक्ट्स (Gharapjhong Facts)पुस्तक आगामी आर्थिक वर्षमा तयार गरी सार्वजनिक गरिनेछ ।
  • यस गाउँपालिका अन्तर्गत रहेको जोमसोम भ्यूटावरसम्म जाने पैदल बाटोको निर्माण कार्य प्रारम्भ भैसकेको छ । यो परियोजनालाई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पूरा गर्नेगरी योजना निर्माण गरिएकोछ । यस्ता पर्यटकीय स्थलहरूको निर्माणले पर्यटकको जोमसोम बसाईलाई लम्भ्याउन सहयोग पुग्नेछ र अन्ततोगत्वा गाउँपालिकाको आर्थिक विकासमा सहयोग पुग्नेछ ।
  • यस गाउँपालिका कार्यक्षेत्र रहेका सहकारीहरूको दर्ता तथा नवीकरण कार्यहरू यसै गाउँपालिकाद्वारा व्यवस्थित गरिनेछ । सबै सहकारी संस्थाहरूको विवरणलाई अनलाईन प्रविधिमा व्यवस्थित गरिनेछ । सहकारीका सदस्यहरू तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धिका लागि तालीम तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन हुनेछन ।
  • सरकारी क्षेत्र, निजी तथा सहकारी क्षेत्रको समन्वयात्मक सहकार्यबाट केही नमूना विकासात्मक कार्यहरूको प्रारम्भ गर्ने नीति लिइनेछ ।
  • यस गाउँपालिका क्षेत्रमा रहेका वित्तीय निकायहरूको सुरक्षाको प्रवर्धन हुने व्यवस्था मिलाइनेछ । यस कार्यालयबाट गरिने सबै भुक्तानीहरूलाई बैंकमार्फत् गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ । वित्तीय क्षेत्रहरूको सहयोग तथा सहकार्यमा गाउँपालिका तथा ती निकायहरूका लागि लाभका क्षेत्रहरूको पहिचान गर्नेगरी कार्यक्रमहरू कार्यान्वयन गर्न अध्ययन प्रारम्भ गरिनेछ ।
  • योजनावद्ध विकास प्रयासले मात्र लक्षीत उद्देश्यहरू हासील गर्न सकिन्छ । उपलब्ध श्रोत साधनको अधिकतम् उपयोग गर्न सकिन्छ । यस गाउँपालिकाको समग्र क्षेत्रहरूको समानुपातिक तथा समन्यायिक विकास प्रयासलाई अवलम्बन गर्नको लागि आगामी आर्थिक वर्षमा गाउँपालिकाको आवधिक योजना निर्माणहुनेछ। तत्पश्चात सबै विकास निर्माण तथा कार्यक्रमहरू सोही योजनाबाट निर्देशित हुनेछन् । यस कार्यमा गण्डकी प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोग समेत लिइनेछ ।
  • यस गाउँपालिका प्राकृतिक सौन्दर्यताको खानी हो । खेलकूदका कार्यक्रमहरुको आयोजनाबाट समेत पर्यटन प्रवर्द्धन गर्न सकिने प्रशस्त सम्भावना वोकेको गाउँपालिका पनि हो । आगामी आर्थिक वर्षबाट विभिन्न साहसिक तथा अन्य खेलकूद सञ्चालनका पूर्वाधारहरू निर्माण गर्नेतर्फ आवश्यक प्रकृया अघि बढाउने नीति लिइनेछ ।
  • यस गाउँपालिका क्षेत्रमा साहसिक खेलहरू जस्तैः स्किङ (Skiing), रकक्लाइम्विङ (Rock Climbing), माउण्टेनिङ (Maintaining), साइक्लिङ (Cycling), जंगल सफारी (Jungle Safari) र बर्ड वाचिङ (Bird Watching) जस्ता खेलहरुका लागि पूर्वाधार निर्माण गर्नेतर्फ गाउँपालिकाले सम्भाव्यता अध्ययन गरी कार्यक्रम लागू गर्ने नीति लिनेछ ।
  • कालीगण्डकी नदीमा र्याफ्टिङ(Rafting)खेलको चालू आर्थिक वर्षमा नै सफल परीक्षण भइसकेकोमा इच्छुक निजी क्षेत्र समेतको लगानीमा सो खेल सञ्चालन गराउन आवश्यकता बमोजिम कार्यहरू अघि बढाइनेछ ।

अध्यक्ष महोदय

  • अव म आगामी आर्थिक वर्षका लागि सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरूलाई यस गरिमामय गाउँ सभाको बैठकमा प्रस्ताव गर्न चाहन्छु ।

सामाजिक विकास

  • कोरोना महामारीको संक्रमण हुन नदिने, राहत तथा उद्धार र उपचारका लागि आगामी आर्थिक वर्षमा श्रोतको सुनिश्चितता गरिनेछ । आवश्यक परेको खण्डमा सबै खर्च शीर्षकहरूबाट कोरोना कोषमा आवश्यक बजेट रकमान्तर गर्न मिल्ने नीति लिइनेछ । जनताको जीउ ज्यानको सुरक्षाको लागि गाउँपालिकाले पहलकदमी लिनेछ ।
  • पुरातात्विक एवम् गाउँपालिकाको ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लालाई संरक्षण, सम्बर्धन तथा प्रचारप्रसार सहित सौदर्यीकरण गर्नको लागि थप कार्यक्रहरूको लागि गाउँपालिकाबाट पहल गरिनेछ ।
  • ऐतिहासिक लोक संस्कृतिको प्रतिरूप लोक बाजा, लोक भाका तथा नृत्यहरूलाई संरक्षण गर्ने कार्यलाई अगाडी बढाइनेछ ।
  • माध्यमिक तहसम्मको विद्यालयहरूको व्यवस्थापन संविधानतः अहिले गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेकोछ । यस गाउँपालिकामा रहेका सबैखाले विद्यालयहरूको प्रभावकारी व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्नेछ । माध्यमिक तहसम्मका विद्यालयहरूको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय शिक्षा ऐनको विधेयक यही गाउँसभामा पेश गरिनेछ ।
  • सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयहरूलाई समन्वयात्मक रूपमा असल अभ्यासहरूको आदान प्रदान गराउने नीति तथा कार्यक्रमहरू लागू गरिनेछ । विद्यमान कोरोना लकडाउनबाट प्रभावित संस्थागत विद्यालयहरूलाई सुसञ्चालन गर्न गाउँपालिकाको तर्फबाट गर्नसक्ने सबै खाले सहयोग गर्ने नीति लिइनेछ ।
  • पूर्व वाल विकास कक्षाहरूमा अध्यापनरत सहजकर्ताका लागि तालीम तथा प्रोत्साहन भत्ता दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ ।
  • शिक्षक तालीम कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि सञ्चालन गरिनेछ । विद्यालयहरूको भौतिक संरचना सुधारका लागि गण्डकी प्रदेश सरकार तथा संघीय सरकारको सहलगानीमा थप कार्यक्रमहरू लागू हुनेछन् ।
  • विद्यालयस्तरमा भर्ना गरिने करार शिक्षकहरूलाई पूर्ण प्रतिस्पर्धामा आधारित बनाउने नीतिले निरन्तरता पाउनेछ । आगामी आर्थिक वर्षमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रम तयार पारी नयाँ शैक्षिक सत्रबाट लागू गरिनेछ ।
  • सबै सामुदायिक, संस्थागत तथा बौद्ध गुम्बाहरूमा सञ्चालन भएका विद्यालयहरूको अध्ययन अध्यापनमा सहयोग पुग्नेगरी कानूनी तथा प्रकृयागत सुधार गरिनेछ र त्यसका लागि आवश्यक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • विद्यमान कोरोनाको संक्रमणको जोखिमले लामो समयदेखि विद्यालयहरूको पठनपाठन प्रभावित भईरहेकोछ । अहिले देशमा नियन्त्रित लकडाउनको आदेश जारी भएकोछ । यस प्रकारको लकडाउनको समयमा विद्यार्थीहरूलाई बैकल्पिक शिक्षण सिकाईविधीबाट पठनपाठन गराउने सम्बन्धमा गाउँपालिकाले पहलकदमी लिनेछ । यस कार्यमा सबै शिक्षाप्रमी जनसमुदाय तथा शिक्षकवर्ग र सरोकारवाला नागरिकहरूको उल्लेख्य साथ सहयोगको अपेक्षा गरिएकोछ ।
  • स्वास्थ्य मानिसको अमूल्य निधी रहेको विषयमा यस गाउँसरकार दृढसंकल्पित छ र सोही बमोजिम कार्यक्रमहरूको कार्यान्वयन गर्नेतर्फ अग्रसर पनि छ । आगामी आर्थिक वर्षमा पनि विगत वर्षहरूमा जस्तै मानिसलाई शारिरीक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ्य रहन सहयोग पुग्ने कार्यक्रमहरूको कार्यान्वयन गरिनेछ । यसका लागि प्रदेश तथा संघीय सरकारबाट घोषित कार्यक्रमहरू समेत समावेश हुनेछन् ।
  • प्रत्येक वडामा कम्तिमा एक स्वास्थ्य संस्था रहनेगरी योजनागरिनेछ । स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धता सुनिश्चित गरिनेछ । स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरूलाई आवश्यकता बमोजिमका तालीमका कार्यक्रमहरू लागू हुनेछन् । चिमाङ र स्याङमा आधारभूत स्वास्थ्य केन्द्रको निर्माण कार्य आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पूरा गरिनेछ  ।घरपझोङवासी जनताहरूको लागि जनस्वास्थ्य क्षेत्रमा कुनैपनि रिक्तताको महशुस नहुनेगरी कार्यक्रमहरू एकीकृत रूपमा लागू गरिनेछ ।

अध्यक्ष महोदय तथा सभाका सदस्यज्यूहरू

  • वडाहरूमा कार्यरत महिला स्वयम्‍सेविकाहरूलाई प्रदान गरिदै आएको प्रोत्साहन भत्तालाई आगामी वर्षपनि निरन्तरता दिइनेछ । सुत्केरी महिलाहरूलाई नेपाल सरकारबाट प्रदान गरिदै आएको पौष्टिक आहार खर्चका अलावा यस गाउँपालिकाले थप पौष्टिक आहार खर्च प्रदान गर्दै आएकोमा त्यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर हुनेछ । गर्भवती महिलाहरूको नियमित स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्य संस्थामा नै प्रसूति गराउन सबै सम्बन्धित घरपरिवारलाई प्रोत्साहन गरिनेछ ।
  • मुस्ताङ जिल्ला अस्पतालको नयाँ भवन निर्माणसम्बन्धमा गण्डकी प्रदेश सरकारको योजना बमोजिम चालू आर्थिक वर्षबाटै केही प्रारम्भिक कार्यहरू शुरू भईसकेकाछन्

। सुविधासम्पन्न अस्पताल भवनको निर्माण कार्यमा गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्नेछ र समयमानै भवन निर्माणको कार्य सम्पन्न गराउन पहल गर्नेछ ।

  • स्वच्छ पीउने पानीको व्यवस्था तथा स्वच्छ वातावरणमा जिउन पाउने संविधान प्रदत्त मौलिक हकप्रति यस गाउँपालिका सचेत र सजग रहेकोछ । सबै गाउँपालिकाबासीहरूलाई स्वच्छ पीउने पानीको व्यवस्था गर्न स्थानीय सरकारअग्रसर रहिरहेको छ । र यसै नीतिलाई आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिइनेछ ।
  • सरसफाई सब्य समाजको द्योतक हो । यसै विषयलाई ह्दयङ्‍म गर्दै गाउँपालिकाको सरसफाईमा स्थानीय सरकार लागिरहेको छ । पवित्र कालीगण्डकी नदीको पवित्रतालाई अक्षुण्ण राख्दै गाउँपालिकाले फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिनेछ ।
  • आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतनामूलक तालीमकार्यक्रमको आयोजना गरिनेछ र सकेसम्म थोरै फोहोर उत्पादन गर्ने र उत्पादित फोहोर घरमै व्यवस्थापन गर्ने तरिका सिकाइनेछ । घरमा व्यवस्थापन गर्न नसकिएको फोहरलाई त्यसको वर्गीकरण गरी छुट्टाछुट्टै प्याकेटीङ गरी सम्बन्धित ठाउँमा पठाउने र घरपझोङ गाउँपालिकालाई स्वच्छ र सफा बनाउने नीति लिइनेछ । 
  • घरपझोङ गाउँपालिका हिन्दू र बौद्ध धर्मालम्बीहरूको अनुपम मिश्रणको नमूना हो । यस क्षेत्रमा भएका सबै धर्म, संस्कृति, चालचलन, रीतिरिवाज, भेषभूषाको गाउँपालिका संरक्षण, प्रवर्धन गर्दै जानेछ ।
  • आजको समाज मानिसहरूमा विभेद गर्ने, पुरुष र महिलामा फरक व्यवहार गर्ने हुनै सक्दैन र हुनु हुँदैन । तुलनात्मक रूपमा मुस्ताङ जिल्ला महिलामैत्री जिल्ला नै हो । यसलाई कायमै राख्दै महिला सशक्तिकरणका थप कार्यक्रमहरू आयोजना गरिनेछ । आमा तथा महिला समूहहरूलाई थप सशक्तिकरण गरिनेछ । बालबालिका तथा फरक क्षमता भएका समुदायहरुका लागि लक्षित कार्यक्रमहरू लागू गरिनेछ ।
  • स्थानीय विकास निर्माणका कार्यक्रमहरूमा महिलाहरूको मात्र सहभागिता भएका केही उपभोक्ता समिति गठन गरी नमूनाका रूपमा आयोजना कार्यान्वयन गर्ने नीति लिइनेछ।यस्ता कार्यहरूले महिलालाई थप प्रोत्साहित गर्नेछ र आगामी दिनहरूमा थप महिलामैत्री कार्यक्रमहरू प्रस्तावित हुनेछन् । उपभोक्ता समितिहरूमा महिलाहरूलाई अध्यक्ष बन्नको लागि उत्प्रेरित गर्ने नीति लिइनेछ । प्रत्येक वडा समितिहरूले महिलाहरूको नेतृत्वमा योजना तथा कार्यक्रमहरू कार्यान्वन गर्न प्रोत्साहित गर्नेछन् । गाउँपालिकाले यस कार्यमा समन्वय तथा प्रभावकारी अनुगमन गर्नेछ ।
  • महिला सशक्तिकरणका लागि आगामी वर्षमा थप तालीमका कार्यक्रमहरू आयोजना हुनेछन् । आमा समूह तथा महिला समूहका समाज घरहरूको मर्मत संभार गर्ने तथा ती घरहरूलाई सुविधामैत्री बनाउने नीति लिइनेछ ।
  • जातीय विभेद समाजको कलंक हो र विकासको विरोधी हो । त्यसैले जातीय विभेद अन्त्यका लागि गाउँपालिकाले कार्यक्रमहरू आयोजना गर्नेछ । जातीय विभेदको समूल अन्त्यका लागि आवश्यक योजना निर्माण गरी कार्यक्रम लागू गरिनेछ ।
  • बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष कार्यक्रमहरूको आयोजना गरिनेछ ।युवा पिंडीहरूलाई शारिरिक तथा मानसिक विकासका कार्यक्रमहरू दिनका लागि खेलकूद पूर्वाधार निर्माण गर्दै लगिनेछ । जोमसोममा आधुनिक खेल मैदान कार्य शुरू भइसकेको विद्यमान अवस्थामा सो खेल मैदानको छिटो भन्दा छिटो निर्माण कार्य पूरा गर्ने नीति लिइनेछ । आगामी आर्थिक वर्षमा जोमसोममा वहुउद्देशीय सभाहल निर्माण सम्पन्न गरिनेछ ।
  • यस गाउँपालिका अन्तर्गत रहेका न्यूनतम रोजगारी नपाएका बेरोजगार व्यक्तिहरूको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् न्यूनतम रोजगारीको अवसर प्रदान गर्ने नीति आगामी आर्थिक वर्षमा पनि लिइनेछ । यस्ता कार्यक्रमहरू प्रभावकारी र उद्देश्यपरक रूपमा सञ्चालन गर्न वडा समिति तथा स्थानीय जनताहरुको नेतृत्वदायी भूमिका गाउँपालिकाले अपेक्षा गरेकोछ ।

अध्यक्ष महोदय

  • अव म आगामी आर्थिक वर्ष यस गाउँपालिकाले पूर्वाधार विकास तर्फ अंगीकार गर्ने नीति तथा कार्यक्रमहरूलाई संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

पूर्वाधार विकास

  • गाउँपालिकाको मुख्य प्रशासनिक भवन रहेको स्थान जोमसोम बजारदेखि सबै वडा कार्यालयहरू जोड्ने कच्ची सडकहरूको स्तरोन्ती गर्दै मर्मत संभार गरिनेछ । यस्ता सडकहरूलाई बाह्रै महीना सञ्चालन गर्न सकिने बनाइनेछ ।
  • सबै ग्रामीण सडकहरूलाई दीगो रूपमा व्यवस्थापन गर्ने नीति लिइनेछ । गाउँपालिका भएर जाने बेनी जोमसोम कोरला सडक समयमानै पूरा गराउनको लागि सम्बन्धित निर्माण व्यवसायी तथा सरकारका निकायहरूलाई घच्घच्याइनेछ ।
  • मार्फा देखियाकखर्क जोड्ने कृषि सडकको निर्माणकार्य चालू आर्थिक वर्षको अन्त्य तथा आगामी आर्थिक वर्षको शुरूसम्ममा पूरा गरिनेछ । यसबाट सम्बन्धित किसानहरू तथा पर्यटक एवम् साहसीक पदयात्रीहरू लाभान्वित हुनेछन् ।
  • आगामी आर्थिक वर्ष निर्माणाधिन जोमसोम ठिनी छैरो रिङरोड तथा मार्फा छैरो जोड्ने मोटरेबल पुलको निर्माण कार्यलाई सुचारू गर्नको लागि विशेष पहल गर्ने नीति लिइनेछ । स्याङ र ढुम्बा जोड्ने मोटरेवल पुलको लागि संघ तथा प्रदेश सरकारमा पहल गरिनेछ ।
  • गाउँपालिकाको मुख्य पेशा मध्ये कृषि पेशा पनि एक भएकालेसिचाईँलाई प्राथमिकतामा राखिएकोछ । स्याउ तथा अन्य वालीहरूका लागि सिँचाई अनिवार्य सर्त हो । त्यसैले गाउँपालिका क्षेत्रभित्र सिँचाई पूर्वाधार विकासमा विशेष जोड दिइनेछ । सबै परम्परागत कुलोहरूको मर्मत/संभार गरिनेछ । सबै खेतियोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने स्थानीय सरकारको नीति रहनेछ ।
  • गाउँपालिकाका परम्परागत घरहरूलाई संरक्षण गर्दै नयाँ घरहरूका लागि अनुमति दिने स्थानीय सरकारको नीति रहनेछ । नयाँ घरहरू निर्माण गर्दा भवन निर्माण सम्बन्धी नेपाल सरकारको मापदण्ड तथा यस गाउँपालिकाको नक्सापास सम्बन्धी मापदण्ड, २०७५ को अवलम्बन गर्ने नीति लिइनेछ । नयाँ बनाउने घरहरूको लागि घरधनीहरूले अनिवार्य रूपमा नक्सापास गर्नुपर्नेछ भने आगामी आर्थिक वर्षभरीमा यस गाउँपालिका भित्र रहेका पुराना घरहरूका लागि घर नंवर प्रदान गरी अभिलेखिकरण गर्ने कार्य पूरा गरिनेछ ।
  • हालका दिनहरूमा यस गाउँपालिकाले ऊर्जा संकट बेहोरिरहेको अवस्था छ । यो संकटबाट जनतालाई उम्काउन गाउँपालिकाले आगामी वर्षविभिन्न नीतिहरू अवलम्बन गर्नेछ ।केन्द्रीय प्रसारण लाईनबाट सहजरूपमा विद्यूत शक्ति प्राप्त गर्नका लागि सम्बन्धित निकायहरूमा पहल गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र निजी तथा अन्य सरकारी तथा गैरसरकारी क्षेत्रबाट लघू तथा साना जलविद्यूत उत्पादन गर्न खोजेमा सहयोग तथा समन्वय गरिनेछ ।
  • गाउँपालिका क्षेत्रका सबै दलित तथा विपन्न घरपरिवारहरूको लागि घर घरमा बैकल्पिक सौर्य ऊर्जा जडान गर्ने कार्यलाई यसै वर्ष पूरा गरिनेछ भने आगामी आर्थिक वर्षमा सडक वत्ती तथा अन्य प्रयोजनको लागि सौर्य तथा बैकल्पिक ऊर्जाको उत्पादन गर्नको लागि सम्बन्धित निकायहरुमा समन्वय गरिनेछ ।
  • ढुम्बातालमा सौर्य ऊर्जा प्रविधि जडान गरी नमूना पर्यटकीय क्षेत्र बनाउने सम्बन्धमा गाउँपालिकाले विगतका वर्षहरूबाट नै कार्यक्रमहरू लागू गरिरहेकोछ । ढुम्बा ताललाई मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूको लागि अनिवार्य गन्तव्य बनाई तिनीहरुको बसाई लम्ब्याउने गरी तालको समग्र व्यवस्थापन गर्ने नीति लिइनेछ । तालको व्यवस्थापनमा आवश्यकताको आधारमा खर्च गर्ने र उक्त तालको आम्दानी पनि गाउँपालिकामा ल्याउने गरी प्रकृया मिलाईनेछ ।
  • यस गाउँपालिकाका सबै वडाहरूमा सञ्चार सुविधा पुगेको विद्यमान अवस्था रहेकोछ । सबै वडा कार्यालयहरूमा विद्यूतीय माध्यमबाट सुचनाहरू आदानप्रदान भईरहेकोछ ।  आगामी आर्थिक वर्षबाट वडा कार्यालयहरूको राजस्व तथा कर संकलन प्रकृया समेत विद्यूतीय माध्यमबाट गरिनेछ ।
  • गाउँ कार्यपालिकाको कार्यालयले आफ्नै वेभसाइट तथा मोबाइल एप्लीकेशनसञ्चालनमा ल्याएकोछ । सबै जनसरोकारका सूचनाहरू वेभसाइटमा अपलोड गरी सर्वसाधारणको पहुँचमा पु-याइनेछ । जनप्रतिनिधिहरूलाई समेत सामाजिक सञ्जालको प्रयोग मार्फत् सूचनाहरू आदान प्रदान गर्न आवश्यक तालीमको व्यवस्था मिलाइनेछ । जिल्लामा रहेका सबै पत्रकारहरूसँग समन्वयात्मक रूपमा सूचनाहरूको पहुँच पु-याइनेछ र आगामी वर्षको शुरूवात सँगै गाउँपालिकाले आफ्नै समाचार प्रदायक न्यूज पोर्टल मुस्ताङखबर डट कमको प्रकाशन शुरू गर्नेछ ।

अध्यक्ष महोदय,

  • अब म आगामी आर्थिक वर्षका लागि वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा गाउँपालिकाले अंगिकार गर्ने नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु ।

वातावरण तथा विपद् व्यवस्थापन

  • यस गाउँपालिका क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणमा विशेष जोड दिइनेछ । नाङ्गा भूभागलाई वृक्षारोपण गर्ने तथा कालीगण्डकीको कटान न्यूनीकरणका लागि संघीय तथा प्रदेश सरकारको सहयोगमा कार्यक्रम अगाडी बढाइनेछ । जोमसोममा निर्माण शुरू भएको बृहत कालीगण्डकी तटबन्धनको कार्य तोकिएकै समयमा पूरा गरिनेछ ।
  • जलाधार तथा पानीढलोको संरक्षणका लागि योजनाहरू बनाइ लागू गरिनेछ ।अन्नपूर्ण संरक्षण आयोजनाको समेत समन्वयमा जिल्ला समन्वय समिति, मुस्ताङ तथा अन्य गाउँपालिकाहरूको संलग्नतामा कालीगण्डकी नदीमा रहेको नदीजन्य पदार्थहरूको उपयोग गर्नको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) का लागि पहल गरिनेछ ।
  • दीगो विकास लक्ष्यलाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरूको तर्जूमा गरी लागू गरिनेछ । घरबाट निस्कने फोहोरमैलालाई व्यवस्थापन गर्ने तथा घरयासी प्रयोजनको लागि प्रयोगमा आइरहेको प्लाष्टिकको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्दै प्लाष्टिकको विकल्पका लागि प्रारम्भिक कार्यहरू आगामी आर्थिक वर्षबाटै शुरू गरिनेछ । कालीगण्डकी नदीमा फोहर विसर्जन गर्ने कार्यलाई पूर्ण रूपमा बन्देज गरिनेछ ।
  • जलवायू परिवर्तनबाट श्रृजित समस्याहरूको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिका कार्यक्रमहरू तय गरी लागू गरिनेछ । फोहरमैला व्यवस्थापनको लागि दीगो र भरपर्दो व्यवस्था मिलाइनेछ ।
  • जल उत्पन्न प्रकोप नियन्त्रण कार्यका लागि विपद् व्यवस्थापन कोष तथा आकस्मिक कोषको व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । यस गाउँपालिका क्षेत्रमा विपद् व्यवस्थापनका लागि सामाग्रीहरुको व्यवस्था गरिनेछ । यस कार्यका लागि जिल्लाका सबै सुरक्षा निकायहरू तथा अन्य सरोकारवाला संस्थाहरूसँग सहकार्य गरिनेछ ।

अध्यक्ष महोदय,

  • अब म आगामी आर्थिक वर्षका लागि संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका  क्षेत्रमा गाउँपालिकाले अंगिकार गर्ने नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु ।

संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन

  • निर्वाचित जनप्रतिनिधीहरूलाई समय सापेक्ष सीप विकास तथा सूचना प्रविधिको प्रयोग सम्बन्धमा प्रशिक्षित हुने कार्यक्रमहरुको आयोजना गरिनेछ । विभिन्न सरकारी कामकाज सम्बन्धी विद्यमान नीतिगत तथा कार्यसम्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमहरूको आयोजना गरिनेछ ।
  • जनताका लागि सेवा प्रवाह गर्ने कर्मचारी संयन्त्रको क्षमता अभिवृद्धि गरी कार्यसम्पादनलाई चुस्त दुरुस्त पारिनेछ । कर्मचारीहरूका लागि सूचना प्रविधिको प्रयोग तथा सीप विकास सम्बन्धी तालीमहरूको आयोजना गरिनेछ ।क्षमता विकास सम्बन्धी पुनर्ताजगी तालीम तथा अध्ययन भ्रमणका कार्यक्रमहरू समेत आयोजना गरिनेछ ।
  • कर्मचारीहरूको उत्प्रेरणा अभिबृद्धि गराउने, मनोबल उच्च पार्ने र त्यसको प्रभाव सेवाप्रवाहमा देखाउनको लागि सूचकमा आधारित प्रोत्साहन प्रणाली अवलम्बन गरिनेछ । फ्लेग्जी टाइम (Flexi Time) को कार्यान्वन गर्ने तथा अतिरिक्त समयमा कार्यालयमा काम गरे बापत कार्यविधि बनाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ । कोरोना संक्रमणको न्यूनीकरण सम्बन्धमा प्रत्यक्ष संलग्न कर्मचारी तथा पदाधिकारीहरूको लागि सङ्‍घीय कानून बमोजिम जोखिम भत्ताको व्यवस्था मिलाइनेछ ।
  • सबै वडा कार्यालयहरूलाई थप व्यवस्थित गरिनेछ । आवश्यक फर्निचर तथा विद्यूतीय सामग्रीहरूको अपुग नहुने गरी प्रवन्ध गरिनेछ । अधिकांश वडा कार्यालयहरूको आफ्नै भवन बनिसकेको अवस्था छ ।
  • गाउँ कार्यपालिकाको कार्यालयको नयाँ भवन  तथा बहुउद्देश्यीय सभाहल निर्माण कार्यलाई तोकीएकै समयमा सम्पन्न गरिनेछ
  • सबै कर्मचारीहरूको न्यूनतम कार्यसम्पादन सूचक निर्धारण गरिनेछ । गुण र दोषको आधारमा पुरस्कार र दण्ड प्रणाली अवलम्बन गरिनेछ । सबै शाखाहरू तथा वडा कार्यालयहरू बीच ठाडो र तेस्रो सहसम्बन्ध कायम गरी प्रविधिमा आधारित कार्यसम्पादन प्रणालीको अवलम्बन गरिनेछ ।
  • कार्यालयहरूले आआफ्नो वार्षिक कार्ययोजना बनाई लागू गर्ने व्यवस्था मिलाईनेछ । आर्थिक वर्षको अन्त्यमा मात्र कामको चाप पर्ने, अन्य महिनाहरूमा न्यूनतम काम हुने प्रथाको अन्त्य गरिनेछ । सबै उपभोक्ता समितिहरूलाई योजना कार्यान्वयन तथा फछ्र्यौट सम्बन्धी तालीम दिइनेछ जसले गर्दा योजना भुक्तानीको समयमा नियमानुसार भुक्तानी सहज हुनेछ । गाउँ कार्यपालिकाको कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
  • आजको प्रविधिको युगमा सेवा प्रवाहलाई पनि प्रविधिमा आधारितबनाउनै पर्ने हुन्छ । वडा कार्यालयहरूमा इन्टरनेटको पहुँच पुगिसकेको अवस्थामा अवको सेवा प्रवाह प्रविधिमा आधारित हुनुपर्दछ । यस सम्बन्धमा चालू आर्थिक वर्षबाटै केही कार्यहरू सुचारू भएकोमा सूचना प्रविधिको प्रयोग गरी उत्पादकत्व अभिवृद्धि गर्नेतर्फ थप कार्यक्रमहरू लागू गर्दै लगिनेछ ।
  • सबै वडा कार्यालयहरूलाई गाउँ कार्यपालिकाको कार्यालयसँग विद्यूतीय सूचना प्रविधिबाट जोडिनेछ । आवश्यकता अनुसार गाउँ कार्यपालिकाको कार्यालयबाट सोझै वडा कार्यालयहरूलाई समन्वय गर्न सकिने व्यवस्था मिलाईनेछ । भिडियो कन्सफेरन्स वा यस्तै प्रविधिको सहयोगले सबै वडा कार्यालयहरूलाई तुरून्तै गाउँपालिकाका पदाधिकारी/ कर्मचारी तथा प्राविधिकबाट आयोजनाको विषयमा सल्लाह सुझाव दिन सकिने व्यवस्था मिलाइनेछ ।
  • कार्यालयको अभिलेख व्यवस्थापनलाई समयसापेक्ष वैज्ञानिक तथा विश्वसनीय बनाइनेछ । कार्यालयमा विद्यूतीय पुस्तकालय खोल्नका लागि सम्भाव्यता अध्ययन गरिनेछ । उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ ।
  • आन्तरिक आयलाई अधिकतम् प्रतिफलका क्षेत्रमा लगानी गरिनेछ । धेरै कर वुझाउने करदातालाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ । कर संकलनलाई सफ्टवेयर मार्फत् अभिलेखांकन गर्ने र कर प्रशासनलाई सरलीकृत र सजिलो पारिनेछ ।
  • यस गाउँपालिकाद्वारा विनियोजन गरिएको बजेटको अधिकतम् उपयोग हुने प्रवन्ध गरिनेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनमा मितव्ययीता कायम गरिनेछ । सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, आयोजना स्थलमा होडिङ बोर्ड राख्नेजस्ता सुशासन प्रवर्धनका सूचकहरूको प्रयोगमा अनिवार्य गरिनेछ । उपभोक्ता समितिले गर्ने कार्यमा नियमानुसार न्यूनतम् साझेदारीको सुनिश्चतता गरिनेछ । उपभोक्ता समितिहरूबाट गर्न नसकिने जटिल कार्यहरूलाई समयमानै अन्य विधिबाट योजना कार्यान्वयन गर्ने प्रकृया अघि बढाइनेछ ।
  • आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी तुल्याउने तथा कानून बमोजिम मात्र खर्च गर्ने परिपाटी मिलाइनेछ ।
  • माथि उल्लिखित नीतिहरूको कार्यान्वयन गर्नको लागि आवश्यकता अनुसार गाउँपालिकाले कानून बनाई लागू गर्नेछ ।
  • आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरू निर्धारण गर्नको लागि प्रत्यक्षरूपमा महत्वपूर्ण सल्लाहसुझाव दिनुहुने गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, विषयगत समितिका सदस्यज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू लगायत सबै शाखाका कर्मचारीहरूमा धन्यवाद व्यक्त गर्दछु । साथै,अप्रत्यक्ष रूपमा सल्लाह सुझाव दिनुहुने सबै गाउँसभाका सदस्यज्यूहरू, राजनीतिक दलका नेता साथीहरू समेत घरपझोङवासी दाजुभाइ दिदिबहिनिहरूमा समेत कृतज्ञता व्यक्त गर्दछु ।
  • आगामी आर्थिक वर्षका लागि यस सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सदैव मार्गदर्शन तथा उत्प्रेरणा प्रदान गर्नुहुने जिल्ला समन्वय समिति, मुस्ताङ र मुस्ताङ जिल्लाबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै माननीय सांसद्ज्यूहरूमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।
  • उल्लिखित बमोजिमका नीतिहरुको कार्यान्वयनका लागि गरिमामय गाउँसभाका सबै सदस्यज्यूहरू, कर्मचारी, आम जनता, वुद्धिजिवी तथा सबै सरोकारवाला घरपझोङवासीको साथ र सहयोगको अपेक्षा लिएकोछु । सरोकारवाला सबैको साथ र सहयोगले नै घरपझोङ गाउँपालिकाको”समावेशी, सामाजिक रूपान्तरण, प्रकृति संरक्षण र संस्कृति,: कृषि, पर्यटन, पर्यावरण, पूर्वाधार घरपझोङको समृद्धिभन्ने गाउँपालिकाको नारा तथा गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको समृद्ध प्रदेश, सुखी नागरिकको दीर्घकालिन सोंच र नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा हुनेछ भन्नेमा विश्वास लिएकोछु ।

     धन्यवाद ।

प्रस्तुतकर्ता

आसबहादुर थकाली

अध्यक्ष

घरपझोङ गाउँपालिका, मुस्ताङ

घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय

जोमसोम, मुस्ताङ

फोननं. ०६९४४००१६

Email: [email protected]

website: www.gharapjhongmun.gov.np

Facebook: www.facebook.com/GharapjhongRM

तपाईको प्रतिक्रिया