प्रहरीको निसानामा फरार प्रतिवादी

समाधान संवाददाता २०७७ असार १३ गते १९:२६

ईश्वर देवकोटा, पोखरा

लागुऔषध मुद्दामा २०७५ असोज २ गते कास्की जिल्ला अदालतले कास्कीले पोखरा १३ माटेपानीका ३७ वर्षीय हर्कजंग गुरुङलाई ३ महिना १५ दिन कैद सजायको फैसला सुनायो ।

उक्त मुद्दामा दोषी ठहर गुरुङले प्रहरीलाई छलिरहेका थिए । फैसला भएको लामोसमयसम्म पनि प्रहरीसँग लुकामारी गर्दै कानुन छल्न कोसिस गरेका उनको प्रयास विफल भएको छ ।

Advertisement

असार १० गते कास्की प्रहरीको टोलीले माटेपानीबाटै उनलाई पक्राउ गर्यो । गुरुङलाई पक्राउ गरी अदालतमा पेस गरिसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

गुरुङ यसअघि पनि सोही मुद्दामा २ वर्ष कैद र १ लाख जरिवाना भुक्तान गरिसकेको प्रहरीको अभिलेख छ ।

Advertisement

गुरुङसहित अन्य मुद्दामा दोषी ठहर भएका ४ जनालाई कास्की प्रहरीले २ दिनको बीचमा पक्राउ गर्यो । त्यसैक्रममा असार ११ गते नकबजनी चोरी मुद्दामा दोषी ठहर भएका गोरखा आरुघाट घर भई पोखरा २ विन्ध्यवासिनी बस्ने ३० वर्षीय विकास गुरुङ पक्राउ परे ।

२०७३ जेठ १४ गते जिल्ला अदालतले गुरुङलाई चोरी मुद्दामा ४५ दिन कैद र १ लाख ४८ हजार ८ सय ३४ जरिवाना फैसला सुनाएको थियो ।

अनुसन्धानको क्रममा उनको २७ दिन कैद र १ लाख रुपैयाँ धरौटीबाट भुक्तान भइसकेको थियो । अन्तिम फैसलाबाट तोकिएको सजाय पूरा नगरी गुरुङ फरार थिए । गुरुङलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

अदालतले गरेका फैसला कार्यान्वयनलाई तीव्रता दिँदै फरार प्रतिवादीहरुको खोजी जारी राखेको प्रवक्ता हमालले सुनाए ।

‘न्यूनतम कैद सजाय सुनाइएका तर विभिन्न मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याउँदै छौं,’ उनले भने, ‘फरार व्यक्तिहरु कास्कीमा मात्र नभई विभिन्न ठाउँमा थिए । अहिले लकडाउनमा कतिपय फर्केर पनि आए । थोरै कैद सजाय भएका प्राथमिकतामा थिएनन् होला । तर अहिले सबैलाई उत्तिकै प्राथमिकता दिएर कारवाहीको दायरामा ल्याउँछौं ।’

यसै महिना भित्रमा धेरै भन्दा धेरै फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनमा जोड दिन मातहतका कार्यालयलाई निर्देशन दिइसकेको प्रवक्ता हमालले बताए ।

कास्की प्रहरीले त्यस्तै प्रकृतिको सवारी ज्यान मुद्दामा ४ दिन कैद सजाय बाँकी रहेका १ जनालाई असार १२ गते पक्राउ गरेको छ ।

२०६५ असार २४ गते कास्की अदालतबाट दोषी ठहर गरेका म्याग्दी अन्नपूर्ण गाउँपालिका ४ घर भई पोखरा ११ फूलबारी बस्ने ५९ वर्षीय बोमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले फरार रहँदै आएका पुनलाई पक्राउ गरेको प्रवक्ता हमालले जानकारी दिए ।

सोही दिन लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका पोखरा ५ जिरो बस्ने ४२ वर्षीय दुर्गाबहादुर सेन्चुरीलाई प्रहरी पक्राउ गरेको थियो ।

अदालतले ०७६ साउन १३ गते पत्र आदेशानुसार लेनदेन मुद्दामा उनलाई १ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त मुद्दामा लेनदेन बिगो बापत कैद फैसला भएपछि उनी फरार थिए । वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको प्रवक्ता हमालले बताए ।

फैसला भएको वर्षौपछि मात्र फरार प्रतिवादी पक्राउ पर्नुले फैसला कार्यान्वयनमै सुस्तता देखिन्छ । अन्तर निकाय समन्वयको अभाव, पुष्टि विवरण उपलब्धततामा कमजोरी लगायत यसका कारणहरु बन्दै आएका छन् ।

यद्यपि प्रहरीले फैसला कार्यान्वयनमा उत्तिकै प्राथमिकताका साथ काम गर्ने गरेको कास्की प्रहरी प्रवक्ता हमाल बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय अवस्थामा अदालत र हाम्रो समन्वय नमिलेको हुनसक्छ । उताबाट पूरा डिटेल नआउने समस्या पनि छन् । यहाँ अपराध गरिसकेपछि अन्य जिल्लामा गएर (दोषी) बस्ने गर्दा फैसला कार्यान्वयनमा समस्या आएको हो ।’

तपाईको प्रतिक्रिया