शव गाड्न अवरोध गर्ने ३ विरुद्ध अभद्र मुद्दा

समाधान संवाददाता २०७७ असार २१ गते २०:५४

ईश्वर देवकोटा, पोखरा

पोखरा ३२ मझुवामा कोरोना संक्रमितको शव गाड्न अवरोध सिर्जना गर्ने ३ जनालाई कास्की प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारवाही बढाएको छ ।

असार ११ गते शव व्यवस्थापन गर्न प्रहरीसहित प्रशासनको टोली पुग्दा स्थानीयले कोत्रेस्थित अस्थायी चेक पोस्टमा आक्रमण गरी प्रहरीमाथि पनि ढुंगा बर्साएका थिए । ढुंगामुढा गर्ने ९ जनालाई नियन्त्रणमा लिई कास्की प्रहरीले अनुसन्धान गरेको थियो ।

Advertisement

नियन्त्रणमा लिइएकामध्ये पोखरा ३२ का ५० वर्षीय भीमराज गुरुङ, १७ वर्षीय रितबहादुर गुरुङ, र उदयपुर घर भई तनहुँ शुक्लागण्डकी २ बस्ने ४१ वर्षीय फत्तबहादुर राईविरुद्ध असार १२ गते अभद्र व्यवहारसम्बन्धी मुद्दाको प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘नियन्त्रणमा लिएका ९ मध्ये अनुसन्धानपछि ६ जनालाई रिहा गरी ३ जनालाई अभद्र व्यवहार गर्न नहुने मुद्दामा प्रक्रिया बढाएका छौं,’ प्रवक्ता हमालले भने, ‘मुलुकी अपराध संहिता बमोजिम १ वर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय हुन्छ । सवारी साधन लगायतका संरचनामा क्षति पु¥याएकाले क्षतिपूर्ति पनि दिनुपर्ने कानुनी व्यवस्था छ ।’ उक्त मुद्दामा कारवाही बढाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा केहीदिन भित्रमै सिफारिस प्रतिवेदन पठाइने प्रवक्ता हमालले जानकारी दिए ।

Advertisement

आक्रोसित स्थानीयले २ मोटरसाइकल, १ स्कुटर र १ सशस्त्र प्रहरीकोे ट्रकमा क्षति पुर्याएका थिए । अपराध संहिताको अभद्र व्यवहार गर्न नहुने मुद्दामा क्षतिपूर्ति भराउनु पर्ने सम्बन्धी व्यवस्था छ । संहिताको दफा १ सय २७ मा उल्लेख भएबमोजिम ‘कसूरबाट कसैलाई हानि, नोक्सानी वा कसैको सम्पत्तिमा क्षति भएमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी हुने व्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्नेछ ।’

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । उनको शव व्यवस्थापन गर्न भन्दै कास्की र तनहुँको सीमामा पर्ने मझुवाघाट छानिएको थियो ।

तर संक्रमितको शव गाड्न नदिन ठूलो संख्यामा अएका स्थानीय आक्रमणमै उत्रिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीको ट्रकमा स्थानीयले क्षति पुर्याएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको कास्की प्रहरीले प्रष्टोक्ति थियो ।

गोखरामा नियन्त्रणमा लिएर छाडियो

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्नेलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । अवरोध गर्ने १ जनालाई नियन्त्रणमा लिएर उनकै श्रीमतीको जिम्मा लगाई छाडिएको गोरखा प्रहरी प्रमुख तथा एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

कोरोनाबाट शनिबार बिहान मृत्यु भएका ४४ वर्षे पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि गोखरा प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको थियो ।

गोखरा नगरपालिका १२ र शहीद लखन गाउँपालिका १ को सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका थिए । सहिद लखन १ का राकेश कोइरालालाई केहीबेर नियन्त्रणमा लिएर छाड्नु परेको एसपी गुरुङले बताए । कोइरालाको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै थप कारवाही प्रक्रिया अघि नबढाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया