गण्डकी र मेगाको एकीकृत कारोबार सुरु
समाधान संवाददाता
गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंक नेपालले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकीकै थातथलो पोखराबाटै उसले एकीकृत कारोबार सुरुआत गरेको हो ।
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बैंकको एकीकृत कारोबार शुभारम्भ गरे । उनले मुलुककै कच्चा पदार्थ प्रयोग गर्ने उद्योग व्यवसायलाई प्रेरित गर्न बंैंकलाई आग्रह गरे । ‘जबसम्म देशभित्रकै कच्चा पदार्थबाट चल्ने उद्योग फस्टाउँदैन तबसम्म हामी परनिर्भर भइरहन्छांै’, उनले भने ।
मेगाले १ कित्ता सेयर बराबर १ स्वाप रेसियोमा गण्डकी विकास बैंक प्राप्ति गरेको हो । अब मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड थियो । २०७७ चैत मसान्तको एकीकृत तथ्यांकका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी छ । ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाख भन्दा बढी भएको छ भने शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटिएम १ सय ४२ वटा भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापाले आफू पनि बच्ने र व्यवसायलाई पनि बचाउने गरी बैंक अघि बढ्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले मेगा बैंक मेगा कार्यक्रमसहित अघि बढोस् भन्ने शुभकामना दिए ।
समारोहमा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई बैंकको श्रीवृद्धिका लागि पुर्याएको योगदानको कदर गर्दै गण्डकीका अध्यक्ष सुशील गौचन, पूर्वअध्यक्ष विन्दुकुमार थापा, जगनबहादुर गुरुङ, पद्मप्रसाद पौडेल, बिलबहादुर गुरुङ, रामभक्त रञ्जीत, माधवकृष्ण श्रेष्ठ, सिइओ रेशमबहादुर थापा लगायतलाई सम्मान गरिएको थियो । सञ्चालकहरु वासु त्रिपाठी, किशोर ओझा, कृष्णबहादुर थापालाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार शुभारम्भ गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको सुनाए ।
साविक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए । उनले दुवै संस्थालाई असल मित्र प्राप्त भएको विचार पनि राखे ।
मेगा बैंक सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजक मदनकुमार आचार्यले लकडाउनको कठिन परिस्थितिमा पनि गण्डकी विकास बैंक प्राप्ति प्रक्रियालाई सफल बनाउन सकेको जानकारी गराए ।
मेगाकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको बताइन् । ‘गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएका छन्,’ उनले भनिन्, ‘अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा छ ।’
उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको उनको भनाइ थियो । मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी उनले दिइन् ।
सिइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थानमा छन् । कर्जाका आधारमा १२ औं र नाफाका आधारमा ११औं स्थानमा रहेको पनि उनले सुनाइन् । मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।
साविक गण्डकीका पूर्वअध्यक्ष पद्मप्रसाद पौडेलले कुल घरान हेरेरै गण्डकी मेगाले प्राप्ति गर्ने गरी समझदारी गरेको बताए । उनले भने, ‘यो एउटा विवाहजस्तो भएको छ, हामीले कुल घरान हेरेरै गण्डकी अन्मायौं ।’
गण्डकी यसअघि पोखराकै विश्व विकास बैंकसँग मर्ज भएको थियो । विश्व विकाससँग त्यसअघि विश्वविकाससँथ पोखराकै फेवा फाइनान्ससँग मर्ज भएको थियो ।
….
तपाईको प्रतिक्रिया