होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखीकरण

समाधान संवाददाता २०७७ साउन २४ गते १८:५६

पोखरा

पश्चिमाञ्चल होटल संघ पोखराले संघ अन्तर्गत सञ्चालित होटलका कर्मचारी र सञ्चालकहरुका लागि २ दिने स्वास्थ्य सुरक्षा कार्यविधि अभिमुखीकरण तालिम पोखरामा आयोजना गरेको छ । विभिन्न चरणमा गरी अभिमुखीकरणमा १ सय जनाले भाग लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

कर्मचारी र सञ्चालकहरुलाई कोरोना भाइरससँग लड्दै होटलमा आउने पाहुनालाई कसरी पर्यटकीय सेवा प्रदान गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले स्पष्ट पारे । संघले आउँदो पर्यटकीय सिजनबाट पूर्ण रुपमा सेवा प्रदान गर्ने गरी संघ अन्तर्गतका सदस्य होटलहरुलाई पूर्व तयारी अगाडि बढाउन यस अघि नै आग्रह गरिसकेको पनि तुलाचनले स्मरण गराए । सेप्टेम्बर, अक्टोवर र नोभेम्बर महिनालाई पोखरामा मुख्य पर्यटकीय सिजन भनेर बुझ्ने गरिएको छ ।

Advertisement

कोरोना भाइरसका कारण चैत ११ गतेबाट सुरु भएको एक सय २० दिने देशव्यापी लकडाउन साउन ६ गते स्थगित गरिएसँगै साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्ट खोल्न सकिने भनी सरकारले घोषणा गरेको थियो । सोही अनुसार १० देखि १५ प्रतिशत होटल मात्र पोखरामा हाल सेवामा खटेका छन्् । सबै होटलको पूर्ण सञ्चालन भने भाइरसको प्रभावले कस्तो रुप लिन्छ भन्नेमा भर पर्ने व्यवसायीले बताएका छन् ।

सरकारले तय गरेको होटल संचालन कार्यविधि अनुरुप होटल तथा रेस्टुरेन्ट कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ख्याल गरी तालिम प्रदान गरिएको हो । यस विषम परिस्थितिमा सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यविधि अपनाएर होटल व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान भए अनुरुप संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखराको लेकसाइडमा निःशुल्क स्वास्थ्य सुरक्षा कार्यविधि सम्बन्धी अभिमुखीकरण तालिम संचालन गरेको हो ।

Advertisement

आयोजित कार्यक्रमको आरम्भमा विहीबार संघका अध्यक्ष तुलाचनले तालिमको औचित्यबारे प्रष्ट पारेका थिए भने संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली तथा अन्य सदस्यको समेत उपस्थिति थियो । इन्टरनेसनल मेडिकेयर एन्ड एसिस्टेन्ट सेन्टरका डाइरेक्टर डा. मुकेश मल्लिक र होलिस्टिक प्रपोज ग्रुप नेपाल प्रालिका फुड टेक्नोलोजिस्ट असीम सिग्देलले अभिमुखीकरणको सहजीकरण गरेका थिए । बर्दान अनलाइन स्टोरका तर्फबाट समेत सचेतना प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया