समाधानमा आकस्मिक रक्तदान, उत्साहजनक सहभागिता

समाधान संवाददाता २०७७ भदौ १० गते १०:३५

समाधान संवाददाता
पोखरा

पोखरा र आसपासमा रगतको अभाव देखिएपछि समाधान दैनिकले बुधबार बिहान आकस्मिक रक्तदान कार्यक्रम गरेको छ । पत्रिकाले बर्सेनि असोज १ गते वार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने गरेकोमा यसपालि रगतको अभाव पूर्ति गर्न अगावै कार्यक्रम राखेको हो ।

लायन्स क्लब अफ पोखरा भद्रकालीको सहकार्यमा भएको कार्यक्रममा १ घन्टाका बीचमा २४ युनिट रगत संकलन भएको छ । रक्तदान गर्नेको सूची लामै भए पनि अर्को ठाउँमा जानुपर्ने भएकाले १ घन्टामा कार्यक्रम सम्पन्न गरिएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । रक्तदान गर्न कोही इच्छुक भए २ वा २ जनाभन्दा बढीले बोलाएकै ठाउँमा आएर आफूहरुले रगत संकलन गर्ने उनले जनाए ।

Advertisement

क्लबले थालेको साताव्यापी रक्तदान कार्यक्रमको तेस्रो दिन समाधानसँग सहकार्य गरेको हो । लायन्स इन्टनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ चियरपर्सन बालकृष्ण शर्माले समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम थालिएको हो ।

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालले पत्रिकाको वार्षिकोत्सव असोज १ गते पर्ने भए पनि पोखरामा रगतको चरम भएकाले अग्रीम रुपमले कार्यक्रम गरिएको बताए ।

Advertisement

पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले मिडियाले सत्यतथ्य समाचार प्रवाहका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गरेको भनाइ राखे । मिडियाबाट प्रचार प्रसार भएपछि अहिले अभियानकै रुपमा रक्तदान हुन थालेकोमा उनले खुसी व्यक्त गरे ।

बुधबारको कार्यक्रममा समाधानकर्मी मात्र नभएर पोखरामा क्रियाशील पत्रकार, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तित्व, व्यवसायी, पेसाकर्मी लगायतले रगतदान गरेका छन् ।

लायन्स इन्टनेसनल डिस्ट्रिक्ट ३२५ बी१का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ चियरपर्सन बालकृष्ण शर्माले गण्डकी प्रदेशकै लोकप्रिय र स्थापित दैनिक पत्रिकासँग लायन्सले सहकार्य गरेर कार्यक्रम गर्न पाउनु सुखद क्षण रहेको बताए ।
लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष अभियान थालेको तेस्रो दिनसम्म रक्तदानमा उत्साहजनक सहभागिता रहेको बताए । पहिलो दिन भद्रकाली चोकमा गरेको कार्यक्रममा २५ युनिट र दोस्रो दिन सभागृहचोकमा गरेको कार्यक्रमममा १३ युनिट रगत संकलन भएको उनले जानकारी गराए ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख ज्ञवालीले अब विभिन्न संघसंस्थाले क्रियाशीलता देखाएका कारण रगतको अभाव विस्तार कम हुँदै गएको बताए । नियममित सूचीमा रहेका संस्थाहरुले कास्कीमा निषेधाज्ञा जारी भएका कारण कार्यक्रम स्थगित गरिकाले एक्कासी रगत अभाव देखिएको उनले बताए । पोखरामा मात्र नेपालमा मुख्य सहरहरुमा पनि उस्तै अभाव छ । चितवनदेखि रगत लिन पोखरा आएको बताउँदै उनले पोखरामा अझै पनि एबी पोजेटिभ समूहको रगत कमी भएको जानकारी दिए ।

अस्पतालहरुमा अहिले रगतको अभावले अपरेसन नै रोकिएको छ । डायलासिस गर्नुपर्ने बिरामीलाई महिनाको ४ युनिट रगत चाहिने र अहिले रगत नै नभएकाले मृगौलाका बिरामी नियमित डायलासिस समेत गर्न पाएका छैनन् । यो सर्पको बिगबिगी हुने बेला हो । सर्पले टोकेका बिरामी एउटैलाई २० युनिटसम्म रगत चाहिन्छ ।

बुधबारको कार्यक्रममा समाधानका सम्पादक रामकृष्ण ज्ञवाली, उहाँकी पत्नी भावना पोखरेल, रामहरि संग्रौला, रमाकान्त चौधरी, दीपक राजवंशी, बुद्धिराम बोटेले रक्तदान गरेको समाधानका कार्यकारी सम्पादक भरत कोइरालाले बताए । उनका अनुसार राज नेपाली, ओमबहादुर फौजा मगर, प्रेमबहादुर केसी, तारा चापागाईं, देवेन्द्र नकर्मी, अनुज पौडेल, सुरज तामाङ, रोश्मी गुरुङ, रुद्रराज पराजुली, जमुना वर्षा शर्मा, मायानाथ सुवेदी, गणेश लम्साल, माधव बराल, लक्ष्मी बस्नेत, रविना लोप्चन, युवराज श्रेष्ठ, मनिष भुजेल गरी २४ जनाले रक्तदान गरेका छन् । स्वास्थ्यलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरी कार्यक्रम गरिएको उनले जनाए ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी१का रिजन चियर पर्सन एवं लायन्स भद्रकालीका पूर्व अध्यक्ष वसन्तराज सिग्देलले क्लबले साताव्यापी रुपमा गर्ने कार्यक्रम अन्तर्गत चहलपहल अलि बढी हुने चोकहरुमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्ने बताए ।

तपाईको प्रतिक्रिया