पोखरामा पनि सम्भव हुन्छ प्लाज्मा थेरापी

समाधान संवाददाता २०७७ भदौ १० गते १८:५६

मन्त्रालयको निर्देशन कुर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान

ईश्वर देवकोटा, पोखरा

देशका विभिन्न सरकारी संस्थाहरुमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोग भइरहेको खबर आइरहँदा पोखरामा पनि त्यससम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक मार्गनिर्देशन माग गर्दै २ साताअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अनुसन्धान परिषद्मा पत्राचार गरिसकेको छ ।

कोरोना भाइरस समुदायमा विस्तार हुँदै जोखिम बढ्दै गइरहेकाले उपचारमा प्लाज्मा थेरापी आवश्यक महसुस गरिएको हो । निको भएकाको रगतको प्लाज्मामा कोरोना भाइरसविरुद्ध बनेका एन्टीबडीलाई अरु संक्रमितमा प्रयोग गर्ने विधि विश्वका थुप्रै देशमा प्रयोग गरिएको छ ।

Advertisement

नेपालमा काठमाडौंमा यो विधिबाट बिरामीको उपचार भइसकेको छ ।
कोरोना भाइरस रोग (कोभिड १९) संक्रमित भएका विराटनगरका ६० वर्षे पुरुषको टिचिङ अस्पताल काठमाडौंमा प्लाज्मा थेरापी विधिको उपचार गरिएको थियो ।

१० साउनमा भर्ना भएका उनी निको भएपछि २२ गते डिस्चार्ज भएका थिए । प्लाजा थेरापी विधि अपनाउँदा ती बिरामीको निमोनिया ७० प्रतिशत सुधार भएको थियो । पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा पछि २८ प्रतिशतमात्र चाहिने देखिएको थियो ।

प्रतिष्ठानले उपलब्ध जनशक्ति र पूर्वाधारको यकीन गरेर मन्त्रालयमा सिफारिस पठाएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

‘संक्रमितको उपचारमा संक्रमणमुक्त भएकाहरुबाट १ महिनाभित्र प्लाज्मा प्रयोग गर्न मिल्ने प्रक्रियाका लागि चिठी पठाएका छौं,’ उनले भने, ‘मन्त्रालयको निगरानीमा गर्न पाउने व्यवस्था भएकाले त्यसका लागि अघि बढेका हौं ।’ मन्त्रालयमा आवश्यक प्रक्रियाका लागि चिठी पठाइएको भएपनि प्रतिक्रिया नपाएको निर्देशक डा आचार्यले बताए ।

‘त्यस किसिमको उपचारका लागि फिजिसियनहरु चाहिने हो । हामीसँग उपलब्ध हुनुहुन्छ । सोहीअनुसार हामीले मन्त्रालयमा जानकारी गराएका छौं,’ उनले भने । मन्त्रालयको निर्देशन कुरेर बसेको निर्देशक डा आचार्यले बताए ।

प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको समन्वयमा प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गरिने जानकारी दिए । प्लाज्मा थेरापी र कोरोनाका गम्भीर बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिबारे मन्त्रालयमा बुधबार आफूले पनि पत्राचार गरेको उनले बताए ।

‘यि २ विधिको राष्ट्रिय निर्देशिका पठाइदिनुपर्‍यो भनेको छु,’ उनले भने, ‘निर्देशक (डा अर्जुन आचार्य)लाई टिम बनाउनुपर्‍यो भनेको छु ।’

सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना डेडिकेटेड अस्पताल तोकेको छ । अस्पतालमा निर्देशककै नेतृत्वमा टिमले काम गरिरहेको भएपनि मेडिसिन सहितको टिम बनाउन निर्देशन दिएको उनले बताए ।

‘मैले पत्रमा यहाँ काम गर्न सजिलो छ भनेर जानकारी पनि गराएको छु । यहीँ छेवैमा रक्त सञ्चार केन्द्र छ । रगत छुट्टाउन पनि सजिलो छ । अन्त जान नपर्ने भएकाले हामीलाई सजिलो छ,’ उनले भने ।

नेपाल सरकारले प्लाज्मा थेरापी उपचार विधिको निर्देशिका तयार गरिसकेको छ । एउटा सरकारी अस्पतालमा सकारात्मक नतिजा आएपछि देशभरका १२ वटा अस्पतालाई सरकारले प्लाज्मा थेरापी विधि प्रयोगको अनुमति दिइसकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यही अनुमति मागेर मन्त्रालयमा पत्राचार गरेको हो ।

तपाईको प्रतिक्रिया