सांसद दवाडीले मर्मत गराए ‘भाइरल बाटो’

समाधान संवाददाता २०७७ भदौ १० गते २२:२५

समाधान संवाददाता
पोखरा

वारपाक सुलिकोट गाउँपालिकाको कार्यालय नजिकै छ ताकुकोट स्वास्थ्य चौंकी । स्थानीय सरकारको रुपमा स्थापित पालिकालाई अहिले अधिकार मात्र होइन कामका लागि बजेट पनि नपुग्दो छैन । नागरिकको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य चौकीसम्म पुग्न खनिएको बाटो मर्मत सम्भार नपाएर अलपत्र अवस्थामा । खै किन हो पालिकाका पदाधिकारीको आँखामा त्यो बाटो परेन ।

स्थानीयले धेरै रोइकराइ गरे । अहँ, पालिकाका पदाधिकारीले टेरपुच्छर लगाएनन् । सामाजिकै सञ्जाल फेसबुकमा कसैले उक्त बाटोको दूरावस्थाको दृश्य खिचेर पोस्ट गरे । पूर्व सचिव भीम उपाध्यायले त्यसलाई सेयर गरे । अनि त बाटो भाइरल भइगयो ।

Advertisement

धेरैका लागि त्यो दृश्य गफ गरेर उडाउने विषय बने होला । तर त्यो बाटोमा स्थानीयको पीडा झल्किएको थियो, एम्बुलेन्स त के पैदल वारपार गर्न पनि उस्तै मुस्किल पर्ने बाटोमा साँच्चै किन चासो नपुगेको होला भनेर धेरैले प्रश्न तेस्र्याए । हो, प्रश्न गर्ने र जिज्ञाशा राख्ने थुप्रै हुन्छन् । तर फेकबुकका लाइक, कमेन्ट र डिस्लाइकले बाटो बन्नेवाला थिएन ।

यस्ताे थियाे स्वास्थ्यचाैकी जाने बाटाे

जुन बाटोले स्वास्थ्य चौकी व्यवस्थापन समिति मात्र होइन, गाउँ पालिकाका अधिकारी र सरोकारवाला पक्षलाई कुरीकुरी गरिरहेको थियो । प्राय गाउँ डुलिरहने सोही क्षेत्रकै प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीको नजरमा यो बाटो परेको रहेनछ । जसै बाटो भाइरल भयो, उसै उनको मन पोल्यो । उनी यतिबेला काठमाडौंमा छन् । प्रदेश सभाको बैठक पनि यतिबेला स्थगित छ ।

Advertisement

तन काठमाडौंमा भए पनि मन त्यही भाइरल बाटोले तान्यो । बुधबार बिहानै उनले स्थानीय युवाहरुलाई फोन गरे । डोजर बोलाएर तुरुन्त बाटो सफा गर्न आग्रह गरे र भने, ‘खर्च कति लाग्छ पीर नगर्नु, बिरामी र आफन्त सहजै स्वास्थ्यचौकी आवतजावत गर्न पाउनुप¥यो ।’ सांसद दवाडीकको यो अग्रसरताले स्थानीय निर्मल धिताल र अरु युवा हौसिए र तत्कालै डोजर बोलाएर बाटो सफा गर्न जुटे ।

सांसद दवाडीले फोनमार्फत भने, ‘मेरै निर्वाचन क्षेत्रको बाटो यस्तो बिजोग रहेछ, स्वास्थ्य संस्था जाने सडकको अवस्थाबारे मलाई जानकारी थिएन । सामाजिक सञ्जालबाट जानकारी पाएपछि मैले तुरुन्तै खबर गरेर सफा गर्न लगाएको हो ।’ आफू जनताको सेवाकै लागि निर्वाचित भएकाले बाटो मर्मत गर्नु आफ्नो दायित्व सम्झेको उनको भनाइ थियो ।

राज्यको सामान्य सुविधाबाट पनि वञ्चित भएका नागरिकको सेवा गर्न पाउँदा आफूलाई गर्व लाग्ने बताउँछन् सांसद दवाडी । उनले समाधानसँग भने, ‘मेरो क्षेत्रमा विकास निर्माणका काम परे मलाई खबर गर्नुस सकेको सहयोग म गर्छु ।’

स्थानीय निर्मल धिताल सांसद दवाडीले फेसबुकबाट थाहा पाएपछि देखाएको अग्रसरतालाई आफूहरुले मुर्तरुप दिएको बताउँछन् । उनले भने, ‘सफा नगरेकै कारण बाटो भत्किएको त धेरै नै भयो । बर्खा लागेपछि हिँड्नै नमिल्ने भएको थियो, माननीयज्यूले थाहा पाएपछि आज बिहानै बनाउन खबर गरेपछि हामीले काम थालेको हो ।’ अहिले उक्त बाटो एम्बुलेन्स ओहोरदोहोर गर्न मिल्ने भएको छ ।

तपाईको प्रतिक्रिया