आँखा अस्पतालमा लापरवाहीः हेलिकोप्टरमा ल्याएको बिरामीको २० घन्टापछि अपरेसन

समाधान संवाददाता २०७७ भदौ २५ गते ७:११

समाधान संवाददाता
पोखरा

म्याग्दीको मालिका गाउँ पालिका ५ की दलिमा फगामी छोरी पढाउने भनेर दरबाङ बजारमा बस्छिन् । छोरी साढे ६ वर्षकी भइन् । छोरा यही भदौ २८ मा ५ वर्ष पुग्छन् । उनै छोरा निदप फगामी भदौ ५ गते खेल्न घरबाहिर निस्केका थिए । बच्चा खेलिरहेको ठाउँमा हल्लीखल्ली भयो । खेल्ने क्रममा साथीले खेलाएको ढुंगा निदपको आँखामा आएर ठोकियो । ठूलै चोट लाग्यो । निदप निकै आत्तिए । तत्कालै आँखाको उपचारका नगरे दृष्टि गुम्ने डर भयो ।


खेल्दै गर्दा साथीले चलाएको ढुंगा लागेर आँखा फुटेपछि हेलिकोप्टरबाट म्याग्दीदेखि ल्याएका बालकको उपचारमा ड्युटीका डाक्टरले ढिला गरेपछि व्यवस्थापनले प्रष्टीकरण सोधेको छ

Advertisement

जुन बच्चाले ढुंगा चलाएका थिए उनैका अभिभावकले खर्च बेहोर्ने गरी तत्कालै पोखराबाट हेलिकोप्टर मगाइयो । १ लाख २० हजार रुपैयाँ भाडा तिर्नेगरी घाइते निदप, उनकी आमा र ढुंगा चलाउने बालकका अभिभावक हेलिकोप्टरमै पोखरा आए । हेलिकोप्टर पोखरा एअरपोर्टमा ल्यान्ड गरेर बिरामी बच्चालाई हिमालय आँखा अस्पताल पुर्‍याउँदा करिब ६ बजेको थियो ।


ढिलो गरी शल्यक्रिया त भयो, तर बच्चाको आँखाको दृष्टि पहिलाको जस्तो छैन

Advertisement

निकै हतारका साथ म्याग्दीबाट ल्याएको बिरामीको तत्कालै अप्रेसन गर्नुपर्ने थियो । आँखाको चोट निकै संवेदनशील हुने भएकाले आकस्मिक उपचार र अप्रेसनका लागि विशेषज्ञ चिकित्सकको पालो नै लगाइएको छ । सबै चिकित्सकलाई अस्पताल परिसरमै बस्ने सुविधा व्यवस्थापन पक्षले मिलाएको छ । ६ बज्दा नबज्दै अस्पताल पुर्‍याएको बिरामीको अप्रेसन त्यो दिन हुन सकेन ।

भदौ ६ गते शनिबार साँझका लागि डा. इलिया श्रेष्ठको पालो थियो । उनी अप्रेसनका लागि तयार नभएपछि इमर्जेन्सीका स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर आँखामा औषधी लगाइदिए ।

भोलिपल्ट बिहान पनि अप्रेसन भएन । डा. बबिता गुरुङ र एकजना फेलो डाक्टरको ड्युटी थियो । फेलो डक्टरबाट दिउँसो २ बजेपछि ती बालकको आँखाको अप्रेसन भयो । विशेषज्ञ चिकित्सकले अप्रेसन गर्नुपर्ने थियो । फेलोले नै गर्ने भए पनि विशेषज्ञको प्रत्यक्ष निगरानीमा हुनुपर्ने थियो । भदौ ७ गते दिउँसो डा. गुरुङको ड्युटी रहे पनि उनी अप्रेसनका बेला उपस्थित नभएको अस्पताल प्रशासनकै कर्मचारीहरु बताउँछन् ।

आँखा अस्पतालमा सामान्यतया बिरामी भर्ना गरिँदैन । गरिहाले पनि १÷२ रात राखिन्छ । निदपलाई भने ११ दिनसम्म अस्पतालमै राखियो । अहिले निदप म्याग्दीको दरबाङमै छन् । चिकित्सकले २ देखि ३ सातामा फेरि परीक्षणका आउनुस् भनेकाले असोज ६ गते पोखरा आउने तयारीमा निदपको परिवार छ ।

निदपको ढिलो गरी शल्यक्रिया त भयो, तर दृष्टि पहिलाको जस्तो छैन । आमा दलिमाले टेलिफोनमा भनिन्, ‘खाने खेल्नेमा त बाबु टाठै छ, चोट लागेको आँखाले नजिक राम्रोसँग देख्न सक्दैन ।’ दलिमाका पति वैदेशिक रोजगारीमा छन् । मालिकाकै वडा नम्बर ५ देवीस्थान घर भए पनि दलिमा दरबाङ बस्दै आएकी हुन् । दलिमाले भनिन्, ‘नानी पढाउन भनेर गाउँमा सासुससुरा छाडेर यहाँ बसेको यस्तो दशा पो आइलाग्यो ।’

२ चिकित्सकसँग स्पष्टीकरण

बिरामीको उपचारमा लापरबाही गरेको गुनासो अस्पताल व्यवस्थापन समितिमा पुगेपछि चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले डा. बविता गुरुङ र डा. इलिया श्रेष्ठसँग स्पष्टीकरण मागेका छन् । घटना भदौ ६ गतेको भए पनि अलि ढिलो गरी १० गते अस्पताल व्यवस्थापनले थाहा पाएको थियो । व्यवस्थापनले थाहा पाएलगत्तै आकस्मिक बैठक बसेर स्पष्टीकरण माग्न निर्देशन गरेपछि डा. महर्जनले १२ गते पत्र काटेका थिए । डा. महर्जनले भने, ‘मैले सोधेको स्पष्टीकरणमा दुवैजनाले जवाफ दिनुभएको छ । यहीबीचमा अर्को केस थपिएर अलमल भएको हो, अब फेरि प्रक्रिया अगाडि बढाउँछौं ।’

म्याग्दीबाट हेलिकोप्टरमा ल्याएको बिरामीलाई भदौ ६ गते नै अप्रेसन नगरेको र भोलिपल्ट गर्दा पनि यस्तो सिरियस केसमा विशेषज्ञ उपस्थित नभई फेलो डाक्टरबाट गराएकोमा प्रश्न उठाएको छ ।

डा. इलियाले बिरामीको अप्रेसन गर्दा खाली पेट गराउनुपर्ने भएकाले ल्याएलगत्तै अपरेसन गर्न सम्भव नभएको उत्तर दिएकी छन् । तत्कालै गर्नुपर्ने भए पनि अस्पतालमा बेहोस पार्ने (एनेस्थेसिया) डाक्टर उपलब्ध नभएकाले पहिलो दिन सम्भव नभएको भनिएको छ । आँखा अस्पतालमा बिरामी बेहोस् पार्न डा. माया लामालाई डाक्ने गरिएको छ । आवश्यक परेका बेला डा. लामा राति ११ बजे पनि आँखा अस्पताल पुगेर बेहोस गराएका प्रशस्तै उदाहरण छन् ।

फेलो डाक्टरले पहिला पनि प्रशस्तै अप्रेसन गरेको र कानुनी मान्यता पाएकाले उनलाई जिम्मा दिएको भन्ने बेहोराको उत्तर डा. बबिताले दिएकी छन् ।

चिफ मेडिकल डाइरेक्टरले स्पष्टीकरण सोधेपछि भदौ १६ गते २ डाक्टरसहित स्वास्थ्यकर्मीहरु हडतालमा उत्रेका थिए । दिनभरको काम नै रोकेर उनीहरु चिफ मेडिकल डाइरेक्टरकाेमा धर्नामा बसेका थिए । व्यवस्थापन समितिका अधिकारी अस्पताल पुगेर यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएका उनीहरुलाई काममा फर्कन निर्देशन गरेका थिए । त्यसपछि उनीहरु काममा फर्केका हुन् ।

अबको प्रक्रिया के हुन्छ त ? चिफ मेडिकल डाइरेक्टर डा. महर्जनले भने, ‘आँखा उपचारमा प्रदेशमै अग्रणी संस्था र यसको साख जोगाउने जिम्मा पनि हाम्रै हो, दुवैजना डाक्टरले लिखित नभए मौखिक रुपमै भए पनि गल्ती महसुस गर्नुपर्छ भन्ने लाग्छ ।’ व्यवस्थापन पक्षले पनि आउने दिनमा यस्तो हुन नदिने गरी अस्पताललाई अझै उचाइमा पु¥याउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

डा. महर्जनले ठूलै चोट लागेर आँखा नै फुटेको उक्त बच्चाको अप्रेसनपछि ५० प्रतिशत दृष्टि आएको बताए । केस हेरेर बिरामीलाई कति दिन भर्ना गरेर राख्ने भन्ने निक्र्याेल गरिने भन्दै यो केसमा ११ दिन नभई ६ दिन अस्पतालमा राखिएको उनको भनाइ थियो । उनले भने, ‘पछि म आफैले बच्चाको निगरानी गरें, त्यति पनि हुँदैन कि भन्ने थियो, ५० प्रतिशत दृष्टि फर्केको छ । फलोअपका लागि बोलाएका छौं ।’ डा. बबिता गुरुङले अस्पतालभित्र सुधार हुनुपर्ने धेरै विषय भएकाले भेटेरै कुरा गर्ने बताइन् ।

विषयलाई मोड्न खोजियो : अध्यक्ष गुरुङ
अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर गुरुङले चिकित्सकको लापरबाही हो कि होइन भन्नेबारे चिफ मेडिकल डाइरेक्टरले स्पष्टीकरण सोधिसकेको बताए । उनले भने, ‘शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेर अगाडि बढेको संस्थालाई कमजोर पार्ने काम कतैबाट हुनुहुँदैन, एउटा केसलाई मत्थर पार्न अर्को केस पनि कसैले थप्न हुँदैन ।’

अस्पतालका लेखा प्रमुख वामदेव सुवेदीसँग जोडिएको यौन दुव्र्यवहारको विषय फौजदारी भएकाले त्यही अनुसार प्रहरी अगाडि बढाएको उनको भनाइ थियो । अस्पतालभित्र भएका कमीकमजोरी ढाकछोप गर्ने र ड्युटी पूरा नगर्ने कर्मचारी जुनसुकै दर्जाको भए पनि कारबाहीको भागिदार हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया