कोरोनाका बेला मेला गर्नेलाई कारवाही

समाधान संवाददाता २०७७ असोज १ गते ९:४७

राकेश शर्मा, म्याग्दी

कोरोनाको जोखिमकाबीच म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा मेला सञ्चालन गर्ने आयोजकलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । सरकारले जारी गरेको जनस्वास्थ्य निर्देशिकाको उल्लंघन गरी भीडभाडमा मेला सञ्चालन गरेको भन्दै ताकमको सफल टोल सुधार क्लबका ३ जना अगुवालाई जरिवाना तिराइएको डिएसपी किरणजँग कुँवरले जानकारी दिए ।

उनीहरुलाई जनही १ सय रुपैयाँ जरिवाना र ३ दिन कैद सजाय तोकिएको छ । कैदवापत प्रतिदिन ३ सय रुपैयाँसहित एकमुष्ट जनही १ हजार रुपैयाँका दरले कारबाही गरेर छाडिएको प्रशासनले जनाएको छ ।

Advertisement

मेला सञ्चालन गरेको तस्बिर, भिडियोसँगै समाचार सार्वजनिक भएपछि प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि प्रशासनमा बुझाएको थियो । उनीहरुले गल्ती स्वीकार गर्दै आगामी दिनमा भीडभाड हुन नदिने र कोरोनाविरुद्ध सचेतना फैलाउन स्वयंसेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘खेलकुद प्रतियोगिताका बारेमा कुनै जानकारी भए तत्काल खबर गर्न अनुरोध गछौं,‘यस्ता गतिविधि अनुकुल समयमा गर्न सकिने भएकाले अहिले पूर्णरुपमा कोरोनाको मापदण्ड पालना गराउन प्रतिबद्ध छौं,’ डीएसपी कुँवरले भने । संक्रामक रोग ऐन २०२० विपरीत काम गरेको देखिएकाले मेला सञ्चालनका अगुवालाई नै कारवाही गरिएकको उनले बताए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमाकान्त अधिकारीले सरकारको निर्देशनलाई उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए । ‘ग्रामीण क्षेत्रमा लुकिछिपी खेलकुद गतिविधि सञ्चालन भइरहेको गुनासो आइरहेको छ । सबै सरोकारवाला निकायको साथ चाहिन्छ,’ प्रजिअ अधिकारीले भने । सरकारी नियम विपरीत कुनै किसिमका क्रियाकलाप गर्ने सामाजिक संघ संस्थालाई निलम्बन र खारेजी समेत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँपालिकाको केन्द्रमा ब्याडमिन्टिन, ग्रामीण क्षेत्रमा फुटबल र भलिबल प्रतियोगिता समेत हुने गरेको गुनासोसँगै प्रहरीले इलाका प्रहरी कार्यालय, चौकीमार्फत युवा क्लब, आमा समूहलाई समेत गतिविधि रोक्ने अभियानमा सघाउने र स्थानीय जनप्रतिनिधिलाई समेत निर्देशिकाको कडाइका साथ पालना गराउन अपिल समेत गरेको छ ।

कोरोना फैलिन नदिन सरकारले भेला सम्मेलन, मेला, जात्रा, भोज, भतेर गर्न र मन्दिर लगायत धार्मिक स्थलमा पूजाआजा समेत बन्द गरेको छ । अन्तरजिल्ला आवत जावतमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले पटक पटक सूचना जारी गरिरहेको छ । यस अगाडि प्रहरीले बेनी नगरपालिकाको १ गाउँमा हुन लागेको फुटबल प्रतियोगिताको पूर्वसूचना प्राप्त गरेपछि स्थगित गर्न आयोजकलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया