कठिन परिस्थितिमा संवेगात्मक स्वास्थ्यको हेरचाह

समाधान संवाददाता २०७७ असोज १ गते १४:५१

परिस्थितिलाई सहजरुपमा लिएर सामना गर्दछौं भने त्यो सकारात्मक शक्तिमा वा व्यक्तिको असल क्षमतामा बदलिन्छ ।

रामचन्द्र पौडेल

सामान्यतया शारीरिक स्वास्थ्यमा समस्या आउँदा हामी डाक्टर कहाँ कुदिहाल्छौं । डर, रिस, आत्मग्लानी, शोक, एक्लोपना, तिरस्कृत महसुस गर्नु जस्ता संवेगात्मक वा मानसिक समस्या आइपर्दा मनोसामाजिक कार्यकर्ता वा मनोचिकित्सककहाँ जादैनौं ।

Advertisement

हाम्रो संवेग, मन र दिमाखको राम्रो हेरचाह गरेनौं भने दिनप्रतिदिन हाम्रो संवेगात्मक स्वास्थ्य झ्न झन् विकराल हुँदै जान्छ जसले गर्दा हाम्रो जीवनमा नराम्रो तवरले प्रभाव पार्न थाल्दछ ।

हाम्रो दिनचर्यामा आफूले भनेजस्तो कुरा पूरा नहुने, समय सीमाभित्र काम सक्नु पर्ने, अरुको माग समयमा पूरा गर्न नसक्ने, सामान्य रुघाखोकी वा पेट दुख्ने, कसैसँग द्वन्द्व हुने, मौसम परिवर्तन हुनेजस्ता कुराले हामीमा स्वभाविक दबाब, खिचाव र मानसिक थकान जस्ता तनाव सिर्जना हुन्छन् ।

Advertisement

यस्ता तनाव दिनदिनै धेरै पटक देखा पर्न सक्दछन् । ‘ए मलाईं तनाव भएको छ भनेर महसुस गर्ने र केले तनाव बनायो खोजी गरी मुड परिवर्तन गर्दा’ मात्र पनि यस्ता सामान्य तनावहरु त्यसै हराउँछन् ।

कोभिड १९ को महामारीको डर, निको नहुने रोग, दुर्घटना, भूकम्प, बाढी पैरोजस्ता प्राकृतिक विपत्ती, काम गुम्ने स्थिति, अति माया गर्ने व्यक्तिको मृत्युजस्ता परिस्थितिले मानसिक उथलपुथल ल्याउन सक्छ । यस्ता असाधारण तनावले मानसिक आघात पार्न सक्छ ।

मानसिक आघातमा परेको व्यक्तिमा सम्झना शक्ति गुम्दै जान्छ, संवेदना घट्दै जान्छ, सधै थकित महसुस गर्छ, समूहबाट एक्लिन सक्छ, बढी झर्किने÷रिसाउने, बेचैन भइराख्ने हुन्छ ।

यसको कारणले व्यक्ति कुलतमा फस्ने वा आत्महत्या सम्मको अवस्थामा पुग्न सक्छ । मानसिक आघातको बीज त्यसबेला रोपिन्छ, जब हामी मानसिक उथलपुथलमा पर्दछौ । जब स्रोत साधन भन्दा आवश्यकता एकदम बढी भएको महसुस गर्दछौं वा अकस्मात् कल्पना नै नगरेको नराम्रो घट्ना घट्छ र केही गर्न नसक्ने गरी जम्दछौं ।

वास्तवमा कुनै पनि परिस्थिति मानवको निम्ति मानसिक आघातजन्य हुँदैन । हामीले परिस्थितिलाई कसरी लिन्छौं वा परिस्थितिको प्रतिक्रिया कसरी व्यक्त गर्दछौं त्यसमा भर पर्दछ ।

परिस्थितिलाई सहजरुपमा लिएर सामना गर्दछौं भने त्यो सकारात्मक शक्तिमा वा व्यक्तिको असल क्षमतामा बदलिन्छ । त्यस परिस्थितिलाई अत्यान्त कठिन रुपमा लिन्छौं र त्यसै अनुसारको प्रतिक्रिया गर्न थाल्छौं भने त्यसले मानसिक आघातको स्थिति पैदा गर्छ ।

मानसिक आघातको स्थिति आउन नदिन मुख्यतया निम्न ३ तरिका अपनाउन सकिन्छ :

क) आफ्नो ‘वास्तविक म’ को सम्पर्कमा रहने ताकि परिस्थिति अवलोकन गर्न सकियोस्

एकछिन शान्त भएर सोच्नु होस् त, तपाई कस्तो व्यक्ति हुनुहुन्छ ? तपाईंको भित्री मनले तपाईं को हो भन्छ ? कर्मशील, मायालु, दानी, उपकारी, क्षमादान गर्ने, सहृदयी, हेरचाह गर्ने, कसैलाई शत्रु नठान्ने, आफ्नो असल कुरामा रम्ने, अरुको असल कुराको खोजी गर्ने, नम्र, शीतल आनन्दी, सहयोगी जस्ता स्वाभाविक उद्गारमध्ये तपाइँकाे वास्तविक स्वभावसँग मिल्ने कुन कुन हुन् खुट्याउनु होस् ।

यसरी खुट्याइएका महत्वपूर्ण तपाईंका आन्तरिक स्वभावमा कठिन अवस्थामा पनि आफूलाई राखिराख्न सक्दा स्वतन्त्र भएर अप्ठारो परिस्थितिको अवलोकन गर्न सकिन्छ । यसरी परिस्थितिको अवलोकन गर्दा रचनात्मक भएर त्यसलाई सामना गर्ने विकल्पहरु देखा पर्दछन् ।

ख) चलायमान वा गतिशील भइरहने ताकि नअड्कियोस् वा नजमियोस्

अप्ठारो परिस्थिति आइपर्दा त्यसैमा घोरिएर, सोचेर वा अड्केर नबस्नु होस् । शारीरिक रुपले क्रियाशील भई राख्नु होस् । मानसिक रुपले ‘रातपछि दिन आउने’ कुरामा आशावादी भइरहनु होस् । शारीरिक रुपले क्रियाशिल र मानसिक रुपले उत्तम अपेक्षा राखिरहँदा मानसिक आघातको स्थिति टरेर जान्छ ।

ग) सहृदयीसँग रहने ताकि विपत्तीको सामाना एक्लै गर्नु नपरोस्

असल मित्र वा सहृदयीसँग आफ्ना पीडा र संवेगहरु व्यक्त गर्नुहोस् । संवेगहरुको सुरक्षित रुपले व्यक्त गर्दा मन हल्का हुन्छ । चित्त शान्त हुन्छ । असल मित्र वा सहृदयी वा मनोविर्मशकर्ता त्यो हो जसले मित्रको कुरा सुन्छ । संवेग व्यक्त गर्ने अवसर प्रदान गर्छ तर त्यसपीडालाई आफूभित्र सार्दैन ।

संवेगहरु व्यक्त भएपछि उसलाई वर्तमानमा फर्काउन मद्दत गर्दछ । अर्थात संवेग व्यक्त गर्दा गर्दै उ नजमोस् भनेर उसलाई ‘कस्तो लागेको छ अहिले ? बसेको स्थानको वरपर के के भौतिक वस्तु छन् ? वरपरबाट कस्तो आवाज आएको छ ?’ जस्ता प्रश्न गरी सामान्य अवस्थामा आउन सहयोग गर्छ ।

अन्त्यमा, हाम्रो देशमा संवेगात्मक स्वास्थ्यको विषय त्यति वास्ता गरेको विषय होइन । मानसिक आघातले पार्ने असरको विषयमा पनि यहाँ खोजी भएको पाइँदैन । मानिसहरु घरपरिवार, विद्यालय वा कार्यस्थलमा दैनिक रुपमा मानसिक आघातमा परेका हुन्छन् । त्यो कुरा स्वयं पीडितलाई पत्तै हुँदैन जसले गर्दा उनीहरु नराम्रो परिस्थितिबाट गुज्रन्छन् ।

आफूमा देखा पर्ने एक्लोपना, दिक्दारी, तनाव, रिस, आत्मग्लानी, हिनता, लोभ जस्ता संवेगहरुलाई पहिचान गर्ने र ‘वास्तविक म’ले विस्तापित गर्ने अभ्यास गर्दा मानसिक आधातको अवस्थाबाट जोगिन सकिन्छ । विगतका पीडादायी अनुभवहरुले पनि मानसिक आघातको अवस्था पैदा गरेका हुन सक्दछन् जसले गर्दा व्यक्तिमा मानसिक आघातका लक्षणहरु देखा परिरहेका हुन्छन् ।

विगतका त्यस्ता पीडादायी अनुभवहरुको निकास गरेर र वर्तमानका पिडादायी घट्नाको प्रभाव मानसिक रुपमा पर्न नदिन कुशल मनोविमर्शकर्ताको सहायता लिनु पर्छ । कुशल मनोविमर्शकर्ताले संवेगात्मक दिमाखमा भण्डार भएर बसेका पीडादायी आघातहरुलाई बाहिर निकालेर व्यक्तिलाई स्वास्थ्य बनाउन सक्दछ ।

व्यक्तिको ‘वास्तविक म’ मा रहने अभ्यास गराएर र उसलाई क्रियाशील बनाएर मानसिक आघातबाट जोगाउन सक्छ । व्यक्तिलाई आन्तरिक रुपले शान्तिको संस्कृतिको अभ्यास गर्ने सीप विकास गराएर उसलाई समृद्ध असल व्यक्ति बनाउन सकिन्छ । यसैले आफूले पनि दैनिक रुपमा जीवन जिउने कलाको अभ्यास गराैँ कठिन परिस्थिति परि आउँदा मनोविमर्शकर्ताको सहायता लिऔं ।

पौडेल मनोसामाजिक विमर्श र शान्तिको संस्कृति निर्माणका अन्तराष्ट्रिय सहजकर्ता हुन्

तपाईको प्रतिक्रिया