हिमालपारिका कर्म, जसको श्रम सरकारले देख्यो

समाधान संवाददाता २०७७ असोज ५ गते ११:४९

एसके थकाली
जोमसोम, ५ असोज

मुस्ताङका स्याउ किसान कर्म गुरुङ अहिले निकै हर्षित छन् । आफूले गरेको श्रम र मेहनतलाई राज्यले मूल्यांकन गरेपछि उनको खुसीको सीमा छैन अहिले । जिल्लामै रहि कृषिक्षेत्रमा महत्वपूर्ण योगदान पु-याए वापत घरपझोङ —५ ढुम्बाका गुरुङलाई सरकारले संविधान दिवसको दिन जनसेवा श्री (पञ्चम) पदक घोषणा गरेको छ ।

जिल्लाको कृषि क्षेत्रको विकास र यसमा आफूले गरेको श्रम र मेहनतलाई राज्यले मूल्यांकन गरेको स्याउ किसान कर्मले उल्लेख गरे ।

Advertisement

नेपालको कृषि क्षेत्रको विकासमा सम्मानमात्र पर्याप्त नभएको भन्दै उनले कृषकलाई राज्यले धेरैभन्दा धेरै सेवा सुविधा प्रदान गर्नुपर्ने र किसानहरुको जिवनस्तर उकास्न राज्यपक्षले ठोस कार्ययोजना र नीति ल्याउनुपर्ने स्याउ किसान कर्मको भनाइ छ ।

मुस्ताङ जिल्ला स्याउ उत्पादनले प्रसिद्ध ब्रान्ड बनेको जिल्ला भएकाले यहाँ उत्पादित स्याउमा उपभोक्ताको बर्र्सेनि माग बढेको बताए । उनले मुस्ताङको स्याउले भारतीय र चिनिया स्याउसँग अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्दा किसान र व्यापारी मर्कामा परेको उनको ठम्याइ छ ।

Advertisement

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आइरहेका मुस्ताङका किसान कर्म गुरुङ अहिले स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधिमैत्री खेतीको रुपमा रुपान्तरण गर्ने अभियानमा जुटेका छन् ।

झन्डै ४ दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भई आएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो ४ वर्षयता उनी छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिनसक्ने इटालेली जातका स्याउको खेती गर्न कस्सिएका छन् ।

हिमाली जिल्ला मुस्ताङबाट करोडौं रुपैयाँको स्याउ फलाएर पोखरा—काठमाडौंमा बिक्री गर्नेमध्येका किसान हुन् कर्म गुरुङ । उनले मुस्ताङमा झन्डै १ सय ५० रोपनी जग्गामा स्याउ खेती गरेका छन् ।

यसै वर्ष उनले प्रदेश सरकारबाट ७५ प्रतिशत र स्याउ जोनको ५० प्रतिशत अनुदानमा उपलब्ध छिटोछरितो गुणस्तरीय फल दिनसक्ने १० हजार उच्चघनत्वका स्याउ बिरुवा लगाएका छन् ।

हिमाली जिल्लाको मनाङको मनाङ एग्रो फार्ममा उच्चघनत्व विदेशी स्याउको परीक्षण सुरु भएपछि उनले पनि मुस्ताङमा त्यसको नमुना परीक्षण गरेको उनी बताउँछन् ।

अहिले उनले विदेशी स्याउ बिरुवाको नमूना परीक्षणले मूर्त रुप पाएको छ । खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुन फलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ कृषि पेसामा समर्पित भएको उनले बताए ।

स्याउ खेतीमा उनले आफन्तको जग्गासमेत उपयोग गरेका छन् । उनको घरपझोङ—५ मा चिम्ले ओरचार्ड स्याउ फार्म छ । घरपझोङको वडा—३ जोमसोम स्थित फाईपस्टार भिलेज, ढुम्बा र चिम्ले लगायत ३ ठाउँमा उनले स्याउ खेती गरेका छन् ।

गुरुङले अहिले रैथाने स्थानीय जातका स्याउ र उच्चघनत्वको स्याउ गरी बर्सेनि १ सय ५० टन स्याउ उत्पादन गर्ने गरेको जानकारी दिए । उनले लगाएको १० हजार उच्च घनत्वको स्याउ बिरुवाले केही वर्षमा उत्पादन दिन थालेमा करिब ५ करोड बराबरको स्याउ एक्लैले फलाउनसक्ने बताए ।

‘स्याउको आम्दानी स्याउमै लगानी गर्दै आईरहेको छु ,खर्च पनि उस्तै बढी छ,’ किसान कर्मले भने, ‘अहिले गरेको लगानी र मेहनतको फल केही वर्षभित्र मिल्नेमा आशावादी छु ।’

स्याउ किसान कर्मले रैथाने स्याउमा रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ उत्पादन गर्दै आइरहेका छन् । ४० रोपनी सिँचाइविहीन बाँझो जग्गामा सिन्चित गरी उच्चघनत्वको गाला, फुजी, किङरोड र गोल्डेन लगायतका बिरुवा लगाएका छन् ।

उच्चघनत्वको स्याउ बिरुवा लगाएपछि स्याउ किसान कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर तालिम लिए भने जिल्लाका १ सय बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाए ।

उनको स्याउ फार्ममा २५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । अल्पकालीन रुपमा सय भन्द बढीलाई काम दिन्छन् । आफूले उत्पादन गरेको स्याउ बिचौलिया र व्यापारीलाई बिक्री नगरी सिधै बजारसम्म पु-याउने काम पनि आफूले गर्दै आइरहेको उनले बताए ।

स्याउ सम्बन्धी विभिन्न तालिम, अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट दक्षता हासिल गरेर सफलतातर्फ लम्किन प्रेरणा मिलेको उनको भनाइ छ ।

‘मुस्ताङमा रैथाने स्याउ खेतीमा किसानले बगैचामा व्यवस्थापनमा त्रुटि गरेको पाइयो । नयाँ र पुरानो खेतीलाई उत्पादनशील तुल्याउन अरु किसानलाई पनि जानकारी दिने गरेको छु,’उनले भने, ‘अनुकुल भूगोल र यहाँको हावापानीले मनाङभन्दा मुस्ताङ स्याउ खेतीका लागि उपयुक्त छ ।’

तपाईको प्रतिक्रिया