फेवा जोगाउन जुर्मुराएका युवा

समाधान संवाददाता २०७७ असोज ६ गते ६:२५

पोखरा

युवाको सक्रियतामा सुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पार गरेको छ । प्रोजेक्ट नेचर नेपालद्वारा सुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवातालको संरक्षण र आगामी योजनाको बारेमा जानकारी गराएको छ ।

लेकसाइड र आसपासका १८ जना युवाहरुको सक्रियतामा फेवाताल सफाइ अभियान सुरु गरिएको थियो । फेवातालको खपौदीदेखि बाराहीघाट, गौरीघाटसम्म सफाइ गरेर करिब २७ सय बोरा फोहोर संकलन गरिएको अभियानका सदस्य विशालजंग थापाले जानकारी दिए । ‘हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला। वीरगञ्जको साइकल यात्रा गरेका थियौं, त्यस लगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौं, अहिले हाम्रो १८ जना युवाको सक्रियता छ,’ उनले भने ।

Advertisement

थापाले अभियानको उद्देश्य प्रकृति संरक्षण, युवा सक्रियता र जनचेतना रहेको बतए । आगामी दिनमा फोहोर व्यवस्थापन गरेर आर्थिक गतिविधिमा जोड्ने कार्यक्रमसहित वृहत रुपमा जाने र पब्जी खेलमा बन्द कोठाभित्र रहने युवालाई सामाजिक क्षेत्र प्रति उत्तरदायी बनाउने उद्देश्य पनि अभियानको रहेको उनकोे भनाइ थियो ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले वातावरण फोहोर भए मानसिकतानै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राखे ।

Advertisement

नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताए । उनले डस्टबिनमा मात्र फोहोर फाल्न सिकाउने नभइ डस्टबिन नभएको ठाउँमा पनि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि विद्यालय तहदेखिनै शिक्षा दिनुपर्नेमा जोड दिए । रेवान पोखरका अध्यक्ष एवं कार्यपालिका सदस्य भीमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्नसक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिए ।

पोखरा महानगरमा वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिए । सो सफाइ अभियानमा सक्रिय रहेका स्पेनका नागरिका एरिकले पनि पोखराको सुन्दरता जोगाउन फोहोरको व्यवस्थापन आवश्यक रहेको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया