अनलाइन कक्षाः कतै हर्ष, कतै विस्मात

समाधान संवाददाता २०७७ असोज ११ गते १०:२८

कतिपय विद्यार्थीको अनलाइन कक्षा अनुभवमा नेटको पहुँच नभएकालाई पढाइमा असजिलो भएको छ । नेटमा पहुँच भएका विद्यार्थी पनि लोडसेडिङका कारण समस्यामा पर्ने गरेका छन् ।

अनिष भट्टराई,पोखरा

तनहुँ शुक्लागण्डकी नगरपालिका–५ का समीर ढकालको अनलाइन कक्षा सुरु भएको १० दिन भयो ।

Advertisement

नगरपालिकाको पञ्चमुनिदेव माध्यमिक विद्यालयको व्यवस्थापन संकाय कक्षा १२ काविद्यार्थी उनी अनलाइन कक्षा पढ्न उत्सुक छन् । घरमै बसेर पढ्न र नबुझेका कुरा शिक्षकलाई सोध्न सकिने भएपछि भौतिक कक्षाभन्दा उनलाई अनलाइन कक्षा नै रमाइलो लागेको छ ।

कोरोना कहरका कारण शैक्षिक सत्र खेर नजाने र सिकाइ उपलब्धि बढी हुने भएकाले आफू अनलाइन कक्षाबाट निकै लाभान्वित भएको उनले सुनाए । ‘यो वर्ष खेर जाला जस्तै भएको थियो तर अनलाइन कक्षा सुरु भएपछि उपलब्धि पक्कै भएको छ । घरमै बसेर पढ्न पाउँदा मज्जालागेकोछ,’उनले भने ।

Advertisement

अझै कक्षाको शुल्क विद्यालयलाई बुझाउन नपर्ने गरी विद्यालयले सूचना निकालेपछि उनी र पञ्चमुनिदेव माविका अरु विद्यार्थी ढुक्कसँग अनलाइन कक्षामा हाजिर हुने गरेका छन् ।

पोखरा १६ लामाचौर बस्ने थमन केसी पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्नातकको अटो इन्जिनियरिङको पहिलो सेमेस्टर पढ्दै थिए ।

कोरोना महामारीका कारण ६ महिना क्याम्पस बन्द भएपछि उनलाई १ वर्ष घाटा लागेको अनुभूति भयो ।

उनीमा पढाइ र आफ्नो करिअरबारे उदासीनता छाएका बेला क्याम्पसले सूचना निकाल्यो–भदौ १ बाट दोस्रो सेमेस्टरको अनलाइन कक्षा सुरु ।
सूचना देखेपछि भने उनी फुरुक्क भए ।

६ महिनादेखि बिनाउपलब्धि बितेको समय पढाइमा खर्च हुने भयो । उनी पहिलो दिननै अनलाइन कक्षामा हाजिर भए । केसीलाई अनलाइन कक्षा निकै रोचक लागेको छ ।

इन्जिनियरिङका विषयवस्तु ल्यापटपको स्क्रिनमा पढ्दा सुरुमा त उनलाई बुझ्न गाह्रो भयो । तर समयसँगै केसीलाई बानी परेको छ ।

अहिले उनी दिनमा ५ घन्टा अनलाइन कक्षा पढ्छन् । अनलाइन कक्षामा पढ्दा एउटा समस्या भोगेको केसी बताउँछन् । त्यो हो घरीघरी गइरहने बिजुली । ‘अनलाइन कक्षा एकदमै इफेक्टिभ छ, तर बीचबीचमा बिजुली जानालेकेही समस्या भने निम्त्याउँछ,’ केसीले सुनाए ।

मुस्ताङकी निमा गुरुङ पोखरा ४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा पढिछन् । गुरुङ पत्रकारिता पढ्न मुस्ताङबाट पोखरा झरेकी हुन् ।

कक्षा ११ को अन्तिम परीक्षाका लागि जुट्दै थिइन् गुरुङ । कोरोना भाइरस नेपालमा पनि बढ्दै गएपछि उनको प्रि–बोर्ड परीक्षा स्थगित भयो । कलेजसमेत बन्द भएपछि उनी अन्योलमा परिन् ।

पोखरामा डेरामा बसेकी गुरुङले चैत पहिलो साता घर फर्कने निर्णय गरिन् । पश्चिमाञ्चल माविले भदौ १ बाट अनलाइन कक्षा सुरु ग¥यो ।

गुरुङलाई आपतै आइलाग्यो । मुस्ताङमा नेट नभएपछि उनले मोबाइलमा डाटा लिएर कक्षामा उपस्थिति जनाइन् । तर महँगो र ढिलो चल्ने नेटका कारण कक्षामा उपस्थिति पातलिँदै गएको गुरुङ बताउँछिन् ।

‘नेट लिएर पढ्दा महँगो हुन्छ अनि ढिला पनि चल्छ । यसले गर्दा कक्षामा मेरो उपस्थिति घट्दो छ,’ गुरुङले सुनाइन् ।

अहिलेसम्म कक्षा ११ को वार्षिक परीक्षाबारेठोस निर्णय भइसकेको छैन । सरकारले वैशाख २१ बाट लिने भनेको परीक्षा स्थगित गरेको ६ महिना भइसक्दा कुनै निर्णय भएको छैन ।

यसले गर्दा गुरुङको मन अमिलिएको छ । ‘कक्षा ११ कै परीक्षाको टुंगो छैन, १२ को पढाइमा मन कसरी जान्छ र ?’ गुरुङ अनिश्चयता देखाउँछिन् ।

पोखरा१० रामबजार बस्ने मुना शर्माको पनि समस्या उस्तै छ । सामुदायिक विद्यालयमा पढ्ने उनको पनि घरमा नेट छैन ।

नेट नभएपछि १५ दिनका लागि ५०० रुपैयाँको प्याक लिएर कक्षामा उपस्थित हुन्छिन् । तर कक्षामा नचाहिने हल्लाले उनलाई पिरोल्छ ।

शिक्षकहरुले पनि विषय वस्तु बुझाउन भन्दा लेखाएर छाडिदिने र धेरै अनुपस्थित भइदिनाले उनले पढाइका लागि गरेको खर्च व्यर्थ जाने गरेको छ ।

कतिपय विद्यार्थीको अनलाइन कक्षा अनुभवमा नेटको पहुँच नभएकालाई पढाइमा असजिलोभएको छ । नेटमा पहुँच भएका विद्यार्थी पनि लोडसेडिङका कारण समस्यामा पर्ने गरेका छन् ।

कोरोना महामारीका कारण भौतिक कक्षा सम्भव नभएपछि सरकारले अनलाइन कक्षालाई वैधानिकता दिएको छ ।

शैक्षिक सत्र खेर जान नदिने भन्दै अनलाइन कक्षामार्फत नै विद्यार्थीलाई पढाइराख्ने योजना सरकारको छ ।

सरकारले अनलाइन कक्षा चलाएर विद्यालयले स्थानीय सरकारको अनुमतिमा शुल्क उठाउन सक्ने प्रावधान पनि राखेको छ । यसले विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिएपनि शुल्क तिर्न र नेटका समस्या भएकालाई भने केही असहजता ल्याएको छ ।

निशुल्क अनलाइन कक्षा र टोलटोलमा कक्षा दिँदै पञ्चमुनिदेव

तनहुँको शुक्लागण्डकी नगरपालिका ४ स्थित सामुदायिक विद्यालय पञ्चमुनिदेव माविले नेटका समस्या भएका विद्यार्थीलाई निशुल्क होम स्कुलिङ दिएको छ ।

असोज १ देखि अनलाइन कक्षा सुरु गरेको विद्यालयले केही विद्यार्थी नेटकै समस्याका कारण अनुपस्थित भएपछि होम स्कुलिङ सुरु गरेको हो ।

विद्यालयको प्लस टु संयोजक तथा सूचना अधिकारी लक्ष्मण पुरीका अनुसार होम स्कुलिङमा जाँदा विभिन्न समूह बनाएर शिक्षकहरु पालैपालो टोलटोलमा जाने गरेका छन् ।


तनहुँ दुलेगौंडाको पञ्चमुनिदेव माविका शिक्षक टोलटोलमा पुगेर पढाउँदै । शिक्षकसँगै नर्स टोलमा खटिएर विद्यार्थी र अभिभावकलाई स्वास्थ्य सजकताका बारेमा सिकाउने गरेका छन् ।

‘अनलाइन कक्षामा आउन नसक्ने विद्यार्थीका लागि होम स्कुलिङ चलाउँदै छौँ । शिक्षकहरुसँग नर्स पनि जानुहुनेछ र पढाइसँगै स्वास्थ्य सम्बन्धी चेतना पनि फैलाउँछौं,’ पुरीले भने ।

अनलाइन कक्षामा विद्यार्थीको संख्या उत्साहजनक भएपनि नेटको समस्याका कारण कतिपय अनुपस्थित हुनाले होम स्कुलिङ अगाडि बढाइएको हो ।

विद्यालयले अनलाइन कक्षाको कुनै शुल्क नलिने भएको छ । ‘सबै आर्थिक संकटमा छौँ । यस्तो बेला शुल्क तिर्न गाह्रो पर्छ, हामीले फीभन्दा पनि विद्यार्थीलाई उपलब्धि होस् भनेर कक्षा सुरु गरेका हौँ,’ पुरीले भने ।

विद्यालयले छात्रा तथा दलित विद्यार्थीलाई दिने सरकारी छात्रवृत्ति पनि बाँडेको छ ।

के भन्छन् विज्ञ ?

पोखरा महानगर १ बगरको पृथ्वीनारायण क्याम्पसमा स्नातकमा मानवशास्त्र पढाउने अमृतकुमार भण्डारी अनलाइन कक्षाको प्रभावकारिता विद्यार्थीमा भर पर्ने ठान्छन् ।

ठूला कक्षाका विद्यार्थी बढी जिम्मेवार हुने भएकाले उनीहरुमा बढी प्रभावकारी रहेको उनको भनाइ छ । विद्यार्थीबाट भण्डारीले प्रतिक्रिया पनि राम्रै पाएका छन् ।

अहिले विश्वभर असामान्य परिस्थिति रहेपनि ६०÷७० प्रतिशत विद्यार्थी कक्षामा उपस्थित हुने र विषयवस्तुलाई सम्मानजनक तरिकाले लिने गरेको अनुभव छ ।

‘अनलाइन कक्षा ठूला कक्षामा प्रभावकारी देखिएको छ, मेरो अनुभवमा विद्यार्थीले राम्रो प्रतिक्रिया जनाएका छन्,’ भण्डारी भन्छन्,‘भौतिक कक्षामा जस्तो दोहोरो अन्तरक्रिया नपाएपनि विद्यार्थीले असाइन्मेन्ट र रिडिङ मटेरियललाई गम्भीर भएर हेरेका छन् ।’

विद्यार्थीलाई नेटको समस्या रहेकाले पछि केही विद्यार्थीले भने समस्या भोग्न सक्ने उनको जिकिर छ । यसका लागि सरकारले नेटका समस्या भोग्ने विद्यार्थीलाई दुरशिक्षा अपनाउनुपर्ने उनको सुझाव छ ।

मनोचिकित्सक निर्मल लामिछाने अनलाइन कक्षा सुरु भएपछि आर्थिक अवस्थाले कमजोर अभिभावक मारमा परेको बताउँछन् ।

अनलाइन कक्षाबापत्को शुल्क उठाएउनीहरुमा थप मानसिक समस्या देखा पर्न सक्ने लामिछाने बताउँछन् ।

अधिकांश विद्यार्थीले अनलाइन कक्षा सुरु भएपछि घरमा नेट जोड्ने, स्मार्ट फोन खरिद गर्ने माग राखेपछि आर्थिक रुपमा अभिभावकमा समस्या देखिएको बताए ।

‘रुखबाट पात टिपेर खर्च गर्ने होइन, लकडाउनले गर्दा सबैलाई आर्थिक मार छ,’ उनले भने,‘झनै स्मार्टफोन, नेट र अनलाइन कक्षा बापतको खर्चले अभिभावकमा मानसिक समस्या देखिएको हुन सक्छ ।’

तर विद्यार्थीमा आफ्नो पढाइ र करिअरबारे रहेको उदासीलाई अनलाइन कक्षाले हटाउन सकेको लामिछाने बताउँछन् ।

‘विद्यार्थीमा रहेको उदासीनता भने हटेको छ । अब अनलाइन कक्षाले गर्दा उनीहरुमा रहेको उदासी हटेर आफ्नो पढाइबारे स्पष्ट बन्न सक्छन्,’ उनले थपे ।

तपाईको प्रतिक्रिया