गण्डकी विश्वविद्यालयको उपकुलपतिमा गोरखाका देवकोटा

समाधान संवाददाता २०७७ असोज १५ गते १३:२७

समाधान संवाददाता
पोखरा

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति पाएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए ।

Advertisement

देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन् ।उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । उपकुलपति प्राडा देवकोटालाई आजै विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबहाली गराउने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो । विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।

Advertisement

गण्डकी प्रदेश पर्यटनको उत्कृष्ट गन्तव्य भएकाले विश्वविद्यालयले विज्ञान प्रविधिका साथसाथै पर्यटन समाजशास्त्र, अतिथि सत्कार, हाइड्रोपावर जस्ता विषयलाई प्राथमिकतामा राखेको कुलपति गुरुङले बताए ।

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त राख्नकै निम्ति बोर्ड अफ ट्रस्टिजको व्यवस्था भएको उनको दाबी छ । विश्वविद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी युनियन केही नहुँने उनले बताए ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा २३ सदस्यीय न्यासिक परिषद् रहन्छ । परिषद् सदस्यमा कुलपति, प्रदेश सचिव, प्राज्ञिक, समाजसेवी, दाता, उद्योगी, व्यवसायी, बढीमा पाँच जना गैरआवासीय नेपालीसमेत रहनेछन् ।

कुलपतिले अध्यक्षता गर्ने परिषद्को बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्नेछ । पदाधिकारीमा अध्यक्ष, कुलपति, उपकुलपति, रजिस्ट्रार र डिन रहने व्यवस्था छ । विश्वविद्यालयको कार्यकारी परिषद्को संयोजकमा कुलपति रहने ऐनमा छ ।

तपाईको प्रतिक्रिया