तनहुँमा ३ सय २९ धारा जडान

समाधान संवाददाता २०७७ असोज १६ गते १५:२८

तनहुँ, रासस

‘एक घर एक धारा’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–७ मा ३ सय २९ धारा जडान गरिएको छ ।

नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो ।

Advertisement

वडा भित्रका खोल्साखाल्सीको मुहान २०७२ सालको भूकम्पपछि दबिएर एक ठाउँको पानी अर्को ठाउँमा पुगेपछि झनै कठिनाइ भोग्नुपरेको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए ।

पानी नहुँदा यहाँका उत्पादनशील खेत र फाँट सिँचाइ अभावले बाँझो छन् । एक हजार २०० घरको यस वडामा हालसम्म उक्त घरसङ्ख्यामा पानी पु¥याएको बताए।

Advertisement

करिब रु २५ लाखको लागतमा बस्तीदेखि करिब २०० मिटर तलको धारखोला चामपानी लिफ्टिङ गरी छापथोकका ४२ घरमा पानी वितरण गरी सकिएको छ ।

शेरा टोल विकास संस्थाअन्तर्गत रु ३७ लाखको लागतमा पानीको ट्याङ्की निर्माण गरी ७० घरमा पानी वितरण गरेको सो वडा कार्यालयले जनाएको छ ।

कलेस्ती बजार क्षेत्रका करिब १०० घरका लागि मादी नदी किनार नजिक रहेको सुनखोल्सीबाट पानी लिफ्टिङ गरी खानेपानी वितरण गर्न लागिएको छ ।

तोरीखर्क–कलेस्ती खानेपानी योजनाअन्तर्गत रु १८ लाख ५० हजारको लागतमा करिब डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम अघि बढाइएको छ ।

त्यसैगरी सिमलटार, नराङ्गा र माथिल्लो नराङगाका १५० घरमा खानेपानी व्यवस्था गर्न रु २० लाखमा निर्माण कार्य शुरु गरिएको छ ।

पाथ्रा टोल विकास क्षेत्रका ६७ घर परिवारको लागि रु ३७ लाखमा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्न योजना अनुरुप कार्य भैरहेको वडाध्यक्ष न्यौपानेले बताए।

कूल १३ वटा टोल विकास संस्था रहेको यस वडामा सडक, बत्ति, पानी, स्वास्थ्य र शिक्षा क्षेत्रका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो वडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया