लोमान्थाङका विद्यार्थीलाई होम स्कुलिङ

समाधान संवाददाता २०७७ असोज १७ गते ८:४८

एसके थकाली, जोमसोम

मुस्ताङको लोमान्थाङ गाउँपालिकाले घरलाई नै शिक्षालयको रुपमा मानेर विद्यार्थीलाई स्वःअध्ययन गर्ने व्यवस्था गरेको छ ।

कोरोना कहरको कारण सामुदायिक विद्यालय बन्द भएको अवस्थामा पालिकाले छापाजन्य सामाग्रीको सिकाईमा आधारित त्यस्तो पठन पाठनको व्यवस्था गरेको हो ।

Advertisement

पालिकाका १० वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई त्यस्तो शिक्षा दिन थालेको शिक्षा अधिकृत मीरादेवी शर्माले जानकारी दिइन् ।

यसका लागि पालिकाले विद्यार्थीहरुको घरघरमा स्वःअध्ययन सामग्री उपलब्ध गराई सकेको छ । पालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकासँग मिलेर ३ महिने पाठ्यक्रमको व्यवस्था गरेको छ ।

Advertisement

‘अभिभावकहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यालय खोल्न सहमत भएनन्,’ उनले भनिन्, ‘वैकल्पिक प्रणालीको शिक्षण सिकाइका लागि सूचना र प्रविधिको पहुँच नभएकोले त्यस्तो व्यवस्था गरेका हौ ।’

कोरोना कहरकै कारण चैत्र ११ गते सरकारले लकडाउन गरेपछि वैशाखमा फर्किन पर्ने शिक्षक अझै कार्यक्षेत्र फर्केका छैनन् ।

उनका अनुसार पालिकाको निर्देशनमा लोमान्थाङका १० विद्यालयका प्रध्यानाध्यापकहरु जोमसोमको क्वारेन्टिनमा छन् ।

उनीहरु कार्यक्षेत्र पुगेपछि विद्यालयहरुको आगामी शैक्षिक कार्ययोजना तथा घुम्ती कक्षाका बारेमा निर्णय गरिने अधिकृत शर्माले स्पष्ट पारिन् ।

लोमान्थाङमा वैकिल्पिक शिक्षा सिकाइका लागि विद्यार्थीको पहँुचमा रेडियो र टिभी र अनलाइन प्रविधि नभएको उनले जनाईन् ।

कोरालासँग सीमा जोडिएको पालिकामा कात्तिकदेखि फागुनसम्म बाक्लो हिउँ पर्छ । उपल्लो मुस्ताङका जनता जाडो छल्न बेसी झर्छन् । त्यहाँका सामुदायिक विद्यालयका घुम्ती कक्षा पोखरामा सञ्चालन हुँदै आएको थियो ।

बर्खायामको ६ महिना लोमान्थाङमा र ४ महिना पोखराका घुम्तीका विद्यालयमा पठन पाठन हुन्छ । पालिकाले आर्थिक गरेर बेसीका घुम्ती विद्यालयमा बालबालिकालाई व्यवस्थान गर्छ ।

अभिभावकले वैकल्पिक घुम्ती व्यापार प्रचलन थियो । लोमान्थाङका जनता कोरोनाको कारण यो वर्ष बेसी नझर्ने र घुम्ती विद्यालयमा समेत बालबालिका नपठाउने सम्भावना छ ।

जसको कारण शिक्षकहरु कार्यक्षेत्रमा फर्किनुपर्ने हुन्छ । लोमान्थाङमा २ निजी सहित १० सामुदायिक विद्यालय, ४ गुम्बा छन् ।

सामुदायिक बाहेक गुम्बा र निजी विद्यालयमा नियमित रुपमा कक्षा सञ्चालन भएको छ । गुम्बा र निजी विद्यालयमा आवासीय कक्षाको व्यवस्था छ । विद्यार्थी र शिक्षक स्थानीय भएकै कारण पठन पाठन सम्भव भएको हो ।

मन्त्रालयको सिकाइ निर्देशिका अनुसार मुस्ताङको घरपझोङका ५ वडामा नियमित रुपमा कक्षा सञ्चालन भईरहेको छ ।

यहाँका कतिपय विद्यालयले जोरबिजोर र कक्षागत दैनिक कार्यतालिकाका आधारमा पठनपाठनको व्यवस्था गरेका छन् । थासाङ र बारागुङ मुक्तिक्षेत्रमा टेलिभिजन श्रव्यदृष्यको माध्यमबाट विद्यार्थी सिकाइ कक्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया