चुनावी घोषणापत्र अनुसार ७० प्रतिशत काम

समाधान संवाददाता २०७७ असोज २४ गते १०:५७

समाधान संवाददाता, पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा प्रदेशसभा सदस्यको निर्वाचन भएको साढे २ वर्षको अवधीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी घोषणापत्र अनुसार ७० प्रतिशतभन्दा बढी विकास निर्माणको काम भएको छ ।

गण्डकी प्रदेश सभाका सदस्य तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको घोषणापत्रमा लेखेको ७० देखि ७२ प्रतिशतकाम पुरा गरेको जानकारी दिए ।

Advertisement

उनले बाँकी अवधीमा घोषणापत्रमा प्रतिबद्धता गरिए अनुसारको शत प्रतिशत काम गर्ने दावी गरे ।

निर्वाचित भएको साढे २ वर्षको प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार आयोजना कार्यक्रममा थापाले स्थलगत रुपमा जाँदा घोषणापत्रमा उल्लेख गरिएका भन्दा पनि जनताका फरक मागलाई समेत सम्बोधन गरेको जनाए ।

Advertisement

‘निर्वाचन क्षेत्रमा खसेको मत संख्याको ५९ दशमलव ३५ प्रतिशत मत जनताले दिएको र आगामी दिनमा शत प्रतिशत मत माग्ने हिसाबले काम गर्छौ,’ प्रदेश सभा सदस्य थापाले भने, ‘बाँकी अवधी गण्डकी प्रदेश भरीका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा फराकिलो मतान्तर (७ हजार ४) लाई अझै बढाउने गरी योजनाबद्ध ढंगले विकास निर्माणका गतिविधिलाई अगाडी बढाउने छौं ।’

उनले समग्र विकासको लागि घोषणापत्रमा उल्लेख भए अनुसार नमुना निर्माण क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

भौतिक रुपमा सडक, खानेपानी, सिचाई, विद्यालय, प्राथमिक स्वास्थ्य चौकीमा उल्लेखनीय लगानी गरेको उल्लेख गर्दै उनले संघ तथा स्थानीय सरकारको नभएर सबै प्रदेशका योजना मात्र प्रस्तुत गरेको जनाए ।

प्रदेश सभा सदस्य थापाले ३२ करोड ९० लाखको लागतमा कृस्ती बक्रेक पौवेगौंडे साढे १२ किमी सडक, ४ करोडको लागतमा रत्नचोक ड्यामसाइड फुटपाथ निर्माण र १ करोडको लागतमा बिरौटा हिमालय आँखा अस्पताल दोबिल्ला पुंडिटार रणनीति सडक निर्माण भइ रहेको जानकारी दिए ।

उनले निर्मलपोखरी, कृस्ती र भरतपोखरीमा आगामी १ वर्ष भित्रमा १ घर १ धारा नीति अवलम्बन गरिने जानकारी दिए ।

भरतपोखरीको पूंडीटारमा प्रदेश औद्योगिक क्षेत्र पूर्वाधार निर्माणको लागि डिपीआर तयार गरेको जानकारी दिदै उनले पोखरा महानगरको समन्वयमा शहरलाई सौन्दर्यीकरण र सुव्यवस्थित गर्नको लागि विद्युत खानेपानी, टेलीफोनका तारलाई भूमीगत गर्ने काम बाँकी रहेको बताए ।

उनले राम्रा कामलाई प्रोत्साहन दिन र विकास निर्माणको स्थलगत अनुगमन गर्न सबैमा अपिल गरे ।

जल जमिन र जंगल लगायतका प्राकृतिक साधन श्रोत र सम्पदाको सदुपयोग गरेर ग्रीन सेटलाइट सिटीको रुपमा विकास विकास गर्ने अभियानमा जुटेको उल्लेख गर्दै उनले स्थानीय पूर्वाधार विकास कार्यक्रम लगायतका विकास निर्माणको काममा समन्वय र सम्पर्कलाई व्यवस्थित गर्न गण्डकी प्रदेशमा पहिलो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय स्थापना र संचालन गरेको बताए ।

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले यातायात र पूर्वाधार जनताको पहिलो प्राथमिकता र आवश्यकता भएको बताइन् ।

प्रदेश सभा सदस्य थापाले प्रगति विवरण सार्वजनिक गरेर नयाँ कामको थालनी गरेको उल्लेख गर्दै उनले दुबैले सरसल्लाह र समन्वय गरेर विकास निर्माणको काम गरेको जानकारी दिइन् ।

नेकपाका केन्द्रीय सदस्य तथा कास्कीका इञ्चार्ज राजकाजी गुरुङले जनताको त्रिब्र विकासको चाहनालाई टेकेर काम गर्नु पर्ने बताए ।

‘जनताका चाहना र हाम्रा कामको तालमेल हुन सकेको छैन,’उनले भने, ‘विगतमा भन्दा राम्रो काम गरेता पनि जनताको अपेक्षालाई सम्बोधन गर्न सकेका छैनौं ।’

उनले साढे २ वर्षको अवधीमा सबै कामलाई लिपीबद्ध गरेर जनता समक्ष प्रस्तुत गर्नु पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको राम्रो काम भएको बताए ।

नेकपा पोखरा महानगरका इञ्चार्ज तथा पोखरा महागरपालिकाका मेयर मानबहादुर जिसीले प्रगति विवरण पार्टी र जनप्रतिनिधिलाई जानकारी गराउनु राम्रो काम भएको प्रतिक्रिया दिए । उनले साना टुक्रे योजना भन्दा देखिने ठुला योजनालाई प्राथमिकता दिन सुझाव दिए ।

कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दिपक पौडेल, जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी विश्वकर्मा, नेकपाका कार्यकर्ता झपट रानाभाट लगायतले बोलेका थिए । कास्की क्षेत्र नम्बर २ (१) मा पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ सम्मका वडा पर्छन ।

तपाईको प्रतिक्रिया