उपल्लो मुस्ताङमा पहिलोपटक ट्राफिक साक्षरता कार्यक्रम

समाधान संवाददाता २०७७ असोज २४ गते १३:४०

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङमा पहिलोपटक ट्राफिक जनचेतनामूलक साक्षरता कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्रफिक कार्यालय मुस्ताङको संयुक्त आयोजनामा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा सप्ताहव्यापी ट्राफिक साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

Advertisement

सीमा प्रहरी चौकी लोमान्थाङको सहयोगमा त्यहाँ पहिलोपटक ट्राफिक साक्षरता कार्यक्रम भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इञ्चार्ज बिष्णुबहादुर नेपालीले जानकारी दिए । भौगोलिक रुपले विकट उपल्लो मुस्ताङमा अहिलेसम्म ट्राफिक प्रहरीले कुनै कार्यक्रम गर्न सकेको थिएन ।

उपल्लो मुस्ताङका स्थानीय जनप्रतिनिधि, स्थानीय बजार व्यवसायी, विभिन्न छिमेकी संघसंस्था, स्थानीय युवा क्लब, चालक, सहचालक र पैदलयात्री लगायतको समन्वय र उपस्थितीमा उपल्लो मुस्ताङमा सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम गरिएको ट्राफिक इञ्चार्ज नेपालीले बताए ।

Advertisement

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा साक्षरतामूलक कार्यक्रम उपल्लो मुस्ताङमा भएको हो ।

जिल्ला ट्राफिक प्रहरी तथा सीमा प्रहरीको संयुक्त टोली लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको छोसेर, छोनुप, न्यानोल, नयाँ समजुङ, अर्का, किम्लिङ, लोमान्थाङ र चराङमा ट्राफिक जनचेतनामूलक सप्ताह भएको ट्राफिक इञ्चार्ज नेपालीले जानकारी दिए ।

सोही कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी तथा सीमा प्रहरी चौकीको टोलीले लोमान्थाङस्थित लो कुन्फेन मेडिकल स्कुल र महाकरुणा शाक्यापा बोडिङ स्कुलका शिक्षक र विद्यार्थीलाई ट्राफिक साक्षरता प्रशिक्षण दिएको छ ।

पहिलोपटक उपल्लो मुस्ताङमा ट्राफिक साक्षरता कार्यक्रम आयोजना हुँदा स्थानीय खुसी रहे । पछिल्लो समय सडक सञ्जालले जोडिएको उपल्लो मुस्ताङको उत्तरी कोरला नाकासम्म सवारी साधनको आउजाउ हुन्छ ।

साक्षरता कार्यक्रम अन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम अनुसार ट्राफिक प्रहरीले यात्रा शुभकामना तथा ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ । त्यसमा सम्भावित दुर्घटनाबाट कसरी बच्ने भनेर ट्राफिक प्रहरीले सवारी चालक तथा सहचालकलाई जानकारी गराएको थियो ।

ट्राफिक साक्षरता सप्ताह अभियान अन्तर्गत हाल विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन ट्राफिक प्रहरीले स्थानीयलाई सुझाएको छ । यसक्रममा प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी उपल्लो मुस्ताङमा २ सय थान माक्स समेत वितरण गरेको छ ।

उपल्लो मुस्ताङमा २ सयभन्दा बढी दर्ता विहीन चीनियाँ मोटरसाइकल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चीनको स्वशासित क्षेत्रबाट कोरलानाका हुँदै भित्रिएका दर्ता नभएका मोटरसाइकल चलाउँदा कुनै दुर्घटना भए कानुनी झमेला आइपर्ने भएकाले ट्राफिक प्रहरीले स्थानीय युवाहरुलाई त्यो विषयमासमेत जानकारी दिएको छ ।

अवैध रुपमा भित्रिएका त्यस्ता मोटरसाइकल १ वर्ष भित्र विस्थापित गर्नसमेत आफूहरुले अल्टिमेटम दिएको ट्राफिक इञ्चार्ज नेपालीले बताए ।

उपल्लो मुस्ताङमा बर्सेनी असार र भदौमा हुने अन्तरदेशीय व्यापार मेलामा चाइनिज मोटरसाइकल भित्रिने गर्थ्याे । गएको २ वर्षदेखि लोमान्थाङ गाउँपालिकाले सीमापारीबाट चिनियाँ मोटरसाइकल भित्र्याउन रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया