‘बलात्कारको कारक मदिरा, नियन्त्रण गर्न कानुन चाहियो’

समाधान संवाददाता २०७७ असोज २७ गते ०:३०

समाधान संवाददाता, पोखरा

प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ४ वटै दलका नेताले सम्बोधन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादीका हरिशरण आचार्यले संम्बोभन गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री गुरुङले मदिरा नियन्त्रण र रोकथामसम्बन्धी कानुन बनाउन आवश्यक रहेको बताए । बलात्कार र हत्याका घटनामा संलग्नहरुको सूची हेर्दा मदिरा सेवन नै प्रमुख कारक रहेको उनको भनाइ थियो ।

उनले बलात्कारपछि हत्या गर्नेलाई काराबासको सजाय हुने भए पनि समाजका ठूला भनाउँदाहरु, नेता भनाउँदाहरु नै पीडकको सजाय कम गर्न प्रहरीलाई दबाब दिने गरेको भनाइ राखे ।

Advertisement

उनले भने, ‘बलात्कार र हत्याजस्ता जघन्य अपराध हुन्छन्, तर हामी यहीँ खेल्छौं । यही समाज हो, जहाँ प्रहरीलाई दबाब दिन्छौं । तपाईं हामीजस्ता नेताहरुले प्रहरीलाई दबाब दिन्छौं र आजीवन होइन, जन्मकैदमात्र राख्न दबाब दिन्छौं । हामीमा नैतिकता सचेतना छैन ।’

नेपालमा मदिरा सेवनको कुनै सीमा, उमेर, पाबन्दी नभएको र यसको नियन्त्रण व्यवस्थापन गर्न पनि कानुन आवश्यक रहेको उनले बताए ।

भाषणको विरोध गर्नुभन्दा पनि जीवनमा प्रयोग हुनेखालका कानुन बनाउनेतर्फ ध्यान दिन उनले सांसदहरुलाई आग्रह गरे । यस्तै, भ्रष्टाचारको विषयमा छानबिन चल्दा यो सरकार र त्यो सरकार भन्ने विषय आउनु दुखद रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया