अपराधको मुख्य कारण मदिरा

समाधान संवाददाता २०७७ असोज २८ गते १२:३०

राकेश शर्मा, म्याग्दी

म्याग्दीमा पछिल्लो समय मदिरा सेवनका कारण अपराधका घटना बढेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांक हेर्ने हो भने अपराधका अधिकांश घटनाहरुको मुख्य कारण मादक पदार्थ सेवन गरी भएको पाइएको छ ।

Advertisement

अपराधको अनुसन्धान गर्दा त्यसको मुख्य कारण मदिराको प्रयोगबाट भएको पाइएको प्रहरी नायव उपरीक्षक हिमालजंग कुँवर बताउँछन् ।

उनका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा प्रहरीमा दर्ता भएका १ सय ५७ वटा विभिन्न प्रकृतिका मुद्दाहरुमध्ये ४२ वटा मदिराका कारण भएको अनुसन्धानमा खुलेको हो ।

Advertisement

‘प्रहरीमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा सेवनका कारण भएको पाइएको छ, बाँकी अन्य कारणबाट भएको अनुसन्धानबाट खुल्न आएको छ,’ उनले भने, ‘४४ प्रतिशत पुरुषले मदिरा सेवन गरी अपराध गरेको पाइएको छ ।’

विभिन्न अपराधका घटनाबाट पीडित हुनेमा पुरुष २७ प्रतिशत र महिला १५ प्रतिशतरहेको छ । प्रहरीमा दर्ता भएकामध्ये अभद्र व्यवहारका मुद्दा २१ वटा छन् ।

जबरजस्ती करणीका ५, भवितव्य ज्यान ४, जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान ३/३, लागुऔषध र ज्यान मार्ने उद्योगका २÷२, बालयौन दुराचार र चोरीका १/१ वटा घटना भएका छन् ।

सबै घटना हुनुको मुख्य कारण मदिराको सेवनबाट भएको अनुसन्धानमा खुलेको हो ।

प्रहरीमा गतवर्ष र चालु आर्थिक वर्षमा ५/५ बालविवाहका मुद्दा परेका छन । गत वर्षको चैत ११ गतेदेखि साउन ६ गतेसम्म म्याग्दीामा ५५ जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तीमध्ये पुरुष २३, महिला १५, बालिका १० र बालक ७ जना रहेको कुँवरले बताए ।

उनका अनुसार बाढीपहिरोमा परी २९, विषसेवन १, झुण्डिएर आत्महत्या ५, खोलामा हाम फालेर २, भीरबाट लडेर ४, सवारी दुर्घटनामा ४, फुटकर ज्यान ३, खोलाले बगाएर ३, कर्तव्य ज्यान २ र करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

कोभिड १९ को संक्रमणको उच्च जोखिम रहेकाले चाडपर्व नजिकिँदा सुरक्षा चुनौती बढेको उल्लेख गर्दै उनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको जानकारी दिए ।

उनले योजना अन्तर्गत कालीपुल बसपार्क, तातोपानी वा बाबियाचौर, भुरुङ–तातोपानी र रत्नेचौरमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने तयारी गरिएको बताए ।

प्राकृतिक प्रकोपका साथै कोभिड–१९ संक्रमण, प्रतिबन्धित विप्लव समूहका गतिविधि र आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका विषय बनेका छन् ।

अनिलको मृत्यु भवितब्य

बेनीको डल्लेपिललमा गत वैशाख ११ गते मृत भेटिएका शिक्षा मार्गका अनिल कटुवालको मृत्युको सम्बन्धमा अहिलेसम्म भएका अनुसन्धानको बारेमा प्रहरीले प्रष्ट पारेको छ ।

आफन्तहरुले अनिललाई कर्तव्य गरी मारिएको दाबी गर्दै आएका छन् ।

प्रहरी नायव उपरीक्षक हिमालजंग कुँवरले उनको मृत्युको बारेमा साथीहरुको बयान, पोलिग्राफ टेस्ट, घटनास्थलको प्रकृति, पोष्टमार्टम रिपोर्ट, सिसिटिभी फुटेजको अध्ययन, साक्षी प्रमाण, पारिवारिक, सामाजिक र इतिहास विश्लेषण, फरेन्सिक ल्यावका विज्ञको राय लगायत विधिबाट अनुसन्धान गरिएको जानकारी दिए ।

पछिल्लो समय बढ्दो क्रममा रहेको विकार उत्पन्न भएर गिदीमा रगत जम्ने समस्याका कारण अनिलको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट र फरेन्सीक ल्यावको अनुसन्धानले देखाएको छ ।

कटुवाल बेनी–गलेश्वर सडकको डल्लेपीपल स्थित सडक छेउमा मृत भेटिएका थिए । उनको टाउकोमा सानो चोट लागेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा हिड्ने क्रममा डिलबाट लडेको जस्तो देखिए पनि रेस्टुरेन्टमा अनिलसँगै मदिरा सेवन गरेकाहरुको पोलिग्राफ विधिबाट अनुसन्धान समेत गरिएको थियो ।

अनिल अरु भन्दा अगाडिनै रेस्टुरेन्टबाट निस्किएका थिए । पोलिग्राफ विधिबाट गरिएको अनुसन्धानबाट ८३ प्रतिशत वास्तविकता पहिचान हुने दाबी गरिन्छ ।

आफन्तले अनिलको मृत शरीरमा आएको परिवर्तनलाई कुटपिटबाट भएको शंका गरेका थिए । तर चिकित्सक र अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले भने अन्य शव जस्तै उनको शरीरमा पनि प्राकृतिक हिसाबले परिवर्तन आएको बताएका छन् ।

तपाईको प्रतिक्रिया