गैंडा मृत्युको कारण खोज्न समिति

समाधान संवाददाता २०७७ कार्तिक २ गते १३:२५

चितवन, रासस

प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ ।

निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहींका भेटेरिनरी डाक्टर अमिर सडौला सदस्य रहेको समिति बनाएको छ ।

Advertisement

संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ ।

गैंडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत छलफल र विगतका तथ्यांक अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले बताए ।

Advertisement

चालु आर्थिक वर्षमा हालसम्म एउटा गैंडा चोरी सिकारका कारण तथा ८ गैंडा प्राकृतिक कारणले मरेका छन् । अधिकांश गैंडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए ।

रानाभाटका अनुसार गैंडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैंडाको मृत्युका कारण खोजी, बासस्थान अवस्थालगायत बारेमा अध्ययन गरिने छ ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैंडा मर्नुको कारण अध्ययन गरेको थियो ।

निकुञ्जमा प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीय स्तरमा समिति गठन गरी मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो ।

बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्काेसँग जुधेर गैंडा मर्छन् । बाढीले बगाएका गैंडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ ।

नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन् ।

नदीले बगाएका गैंडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैंडा बाहिर आउन कठिन हुने गरेको छ ।

गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैंडा मरेका थिए । त्यसअघिको आर्थिक वर्षमा यो संख्या ४३ थियो ।

सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६ सय ५ गैँडा छन् ।

त्यसयता गैंडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ । हरेक ४/४ वर्षमा गैंडा गणना गरिन्छ ।

गत आर्थिक वर्षमा गैंडा गणना कोरोनाका कारण रोकिएको थियो । यस वर्ष गैंडा गणना गरिने निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया