मुस्ताङको ठिनी कोतघरमा यो वर्ष मुखियाले लगाइदिने छैनन् टीका

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ६:३०

एसके थकाली, जोमसोम

मुस्ताङको ऐतिहासिक गाउँ घरपझोङ गाउँपालिका—५ ठिनीस्थित कोतघरमा बर्सेनि लगाइने सामूहिक बडादसैं टीका कार्यक्रम यसपटक नहुने भएको छ ।

कोरोना त्रासका कारण ठिनी कोतघरको टीका ग्रहण रद्द गरिएको ठिनीका गाउँ मुखिया राजेन्द्रकुमार थकालीले जानकारी दिए ।

Advertisement

ठिनी कोतघरमा सदियौंदेखि बडादसैंका दिनमा ज्येष्ठ नागरिक तथा गाउँका मुखियाबाट कोतघरमा आउने स्थानीय सर्वसाधारण व्यक्तिलाई आशीर्वाद दिने र टीका लगाइदिने परम्परा छ ।

गाउँपालिकाको थाकपाँच अन्तर्गतको ठिनी, स्याङ, मार्फा, छैरो/चिमाङ र जोमसोममा बसोबास गर्ने थकाली समुदायका स्थानीय तथा अन्य गैर थकालीहरुले ऐतिहासिक ठिनी कोतघरमा टीका र आर्शीवाद थाप्न जान्थे । तर झन्डै ७ महिना अघिबाट मानव संकटको रुपमा सिर्जित कोरोना माहामारीका कारण यसपल्टको दसैं टीका कार्यक्रम स्थगित गर्नुपरेको मुखिया थकालीले स्पष्ट पारे ।

Advertisement

‘दसैंमा टीका लगाउने कार्यक्रम राख्दा भीडभाड हुन्छ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन गाउँबाटै सर्तकता अपनाइएको हो । यसपटक अष्टमीको दिनमा बली दिने कार्यक्रम पनि गर्दैनौं,’ मुखिया थकाली भने ।

सरकारले आन्तरिक उडान तथा लामो दुरीको यातायात सञ्चालनको अनुमति दिएकाले जिल्लामा कोरोना भाइरस जोखिम रहेकाले कोतघरको टीका स्थगित गर्नु परेको ठिनीका स्थानीय नरेन्द्र थकालीले बताए ।

मुस्ताङ जिल्ला ग्रिनजोन रहेकाले यसलाई कायमै राख्न हेलचक््रयाइँ नगरी सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

विजया दशमीको दिन ठिनी कोतघरमाजस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पनि टीका ग्रहण गर्नेको भीडनै लाग्थ्यो ।

जिल्लाका स्थानीय तथा घर जान नपाएका कर्मचारी पनि मुक्तिनाथमा पुगेर पुजारीबाट टीका र आर्शीवाद लिन्थे । तर सरकारले कोरोना कहरकै कारण धार्मिक मठमन्दिरहरु औपचारिक रुपमा खोल्न अनुमति नदिएकाले यसपटक मुक्तिनाथ मन्दिरमा समेत दसैंको टीका थाप्ने कार्यक्रम प्रभावित हुने निश्चित देखिएको छ ।

मुस्ताङमा दसैं नजिकिदै गर्दा जिल्ला सुनसानै छ । जिल्लामा कार्यरत कर्मचारी पनि दसैंको मेलोमा घर फर्किसकेकाले जिल्ला सुनसान बनेको हो ।

यहाँका आदिवासी जनजाति तथा दलित समुदायले यो पर्व आशिंक रुपमा मात्र मनाउने गरेका छन् । अघिकांश बौद्ध धर्ममा आस्थावान यहाँका स्थानीयमा दसैं पर्वको उस्तो वास्ता हुँदैन । तल्लो क्षेत्रका मुस्ताङीले पनि
दसैं पर्व आशिंकरुपमा मनाउने गर्छन् ।

जिल्लाका करिव १२ प्रतिशत दलित र ८ प्रतिशत अन्य समूदायले परम्परागत रुपमा दसैं पर्व मनाउने गरेको पाइएको छ ।

उनीहरु आफन्तकहाँ जाने, घरमै भए पनि चौपायाको बलि दिने र मान्यजनकोमा पुगेर टीका ग्रहण गर्ने चलन छ । तर, यसपटक कोरोना कहरकै कारण मुस्ताङका सीमित समुदायले मनाउँदै आइरहेको बडा दसैंको टीका थाप्ने कार्यक्रम प्रभावित बन्ने निश्चित देखिएको छ ।

तपाईको प्रतिक्रिया