फेवा संरक्षणः उपल्लो क्षेत्रको आयआर्जन र जीवनस्तर सुधार्न माग

समाधान संवाददाता २०७७ कार्तिक ४ गते २१:३८

समाधान संवाददाता, पोखरा

फेवा जलाधारका उपल्लो तटीयक्षेत्रका बासिन्दाले जीविकोपार्जनमा टेवा, आर्थिक, सामाजिक अवस्थामा सुधारका कार्यक्रम ल्याउन माग गरेका छन ।

उनीहरुले फेवाताल संरक्षण र विकासका कार्यक्रम ल्याउँदा उपल्लो क्षेत्रका जनताको आय आर्जन र जीवनस्तर सुधारका कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका वडा सदस्य सोमनाथ भट्टराईले संरक्षित फेवाताल घोषणा गर्दा उपल्लो क्षेत्रमा पर्यापर्यटनको विकास, रोजगारी सिर्जना र आर्य आर्जन बढाउनमा ध्यान केन्द्रीत गर्न सुझाव दिए ।

‘परम्परागत खेती प्रणालीबाट किसानले लाभ लिन सकेका छैनन, केही हदसम्म तालमा माटो समेत झरेको छ,’ उनले भने, ‘परम्परागतको विकल्पमा, चिया, कफी कुरिलो, फलफूल लगायतका आधुनिक खेतीलाई प्रोत्साहित गर्नु पर्छ ।’

Advertisement

उनले भूउपयोग योजना अन्तर्गत जग्गाको व्यवस्थापन गरी दीर्घलालीन फाइदा हुने खेती प्रणाली लगाउन प्रेरित गर्न आवश्यक भएको उल्लेख गरे ।

कश्यप ताल संरक्षण समितिका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले फेवातालको आम्दानी समानुपातिक वितरण भएको सिरानमा बस्नेले महसुस गर्नु पर्ने बताए ।

ताल संरक्षणको लागि वनजंगल जोगाउँदा किसानहरु बाँदर आंतकको मारमा परेको उल्लेख गर्दै उनले तल्लो तटीय क्षेत्रले उपल्लोलाई दिने वातावरणीय सेवा भुक्तानीमा नीतिगत व्यवस्था गर्न माग गरे ।

नेपाली कांग्रेस पोखरा २४ का इकाई सभापति प्रतापबहादुर कार्कीले परम्परागतको सट्टामा आधुनिक र दीर्घकालीन रुपमा फाइदा हुने खेती प्रणालीको विकास गर्न सुझाव दिए ।

लौरुकखोला संरक्षण समितिका अध्यक्ष रेशम सुवेदीले कच्ची मोटरबाटोलाई पिच गरेर जलाधार क्षेत्रलाई डोजरमुक्त बनाउनु पर्ने बताए । उनले भूक्षय रोक्न अम्रिसो खेती गर्नेदेखि गरा सुधार डालेघाँस लगाएर पशुपालन गर्न प्रोत्साहित गर्नु पर्ने उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा २४ का अध्यक्ष मनहरि त्रिपाठीले घरघरमा मोटरबाटो लैजाने र फेवाताललाई जोगाउने काम एकैचोटी लैजान नसकिने बताए ।

उनले वातावरणमैत्री विकासको नारा लगाए पनि दसै तिहार लगायतका चाडमा डोजर लगाएरै गाउँको बाटो स्तरोन्नति गरिएको टिप्पणी गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले फेवा जलाधार क्षेत्रमा ३ सय ५० किलो मिटर कच्ची बाटो मध्ये कास्कीकोटमा मात्र ९३ किमी रहेको जानकारी दिए ।

उनले सातौ नगरपरिषदले संरक्षित क्षेत्र अन्तर्गत बाटो बनाउदा नाली काट्नेदेखि वाइपास बाटोको परिकल्पना गरेको जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जलाधार क्षेत्रमा बाटो बनाउदा ढल व्यवस्थापन, पाखो संरक्षण लगायतका कार्यलाई एकीकृत ढंगले लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले संरक्षित फेवा जलाधार क्षेत्रको समग्र व्यवस्थापकीय योजना निर्माण गर्दा पर्यापर्यटनको दीर्घकालिन विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि लगायतका सवाललाई समेट्ने बताए ।

वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले संरक्षित क्षेत्र घोषणा पछि खेतबारी तथा कुलो संरक्षण, गरा सुधार, माटो उर्बरा शक्ति अभिवृद्धि, खाद्य सुरक्षाका कार्यक्रम हुने दाबी गरे ।

‘बाली फलफूल खेती प्रोत्साहनदेखि वृक्षरोपण, भिराला जग्गा पाखाकाको वनजंगल संरक्षण, प्राकृतिक वनस्पतिको स्याहार संहार र प्रवद्र्धन गर्ने योजना बनाइने छ,’ उनले भने, ‘वन कृषि तथा वातावरणको स्थितिमा सुधार गर्दै जनताको जीविकोे पार्जनमा टेवा पुर्‍याइने छ ।’

जिल्ला समन्वय अधिकारी नवराज बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) बिना सडक ट्रयाक नखोल्न र त्यस्ता सडकका बजेट विनियोजन नगर्न स्थानीय सरकारलाई परिपत्र गरेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकाका सदस्य सन्तुदेवी सुवेदी, पोखरा २४ का सरसफाई समितिका संयोजक धर्म गिरी, फेवा क्लबका अध्यक्ष लक्ष्मण तिमिल्सिना लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया